‘एनआईसी एशिया सेलेक्ट-३०’ फण्डले नेप्सेको ग्रोथ भन्दा बढी रिटर्न दिन्छः मनिष घिमिरे

  २०७८ असार ५ गते १३:४३     विकासन्युज

मनिष घिमिरे- चिफ अपरेटिङ्ग अफिसर तथा चिफ इन्भेष्टमेन्ट अफिसर, एनआईसी एशिया क्यापिटल

एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटलले बजारमा ‘एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)’ नामक म्युचुअल फण्ड बिक्रीमा ल्याउँदै छ । बजारमा योङ्ग भनेर चिनिने क्यापिटलले सञ्चालनमा आएको साढे ४ वर्षको अवधिमा नै ३ वटा म्युचुअल फण्ड सञ्चालन ल्याइसकेको छ भने अर्को ल्याउने प्रकृयामा रहेको छ । यससँगै, नयाँ योजना कस्तो हो ? योजनाको उद्देश्य के हो ? लगानीकर्ताले यसमा किन लगानी गर्ने भन्ने विषयमा केन्द्रीत रहेर क्यापिटलका चिफ अपरेटिङ्ग अफिसर तथा चिफ इन्भेष्टमेन्ट अफिसर मनिष घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंशः

एनआईसी एशिया क्यापिटलले जारी गर्न लागेको म्युचुअल फण्ड कस्तो हो ?

एनआईसी एशिया क्यापिटलले ‘एनआईसी एशिया सेलेक्ट ३०(इन्डेक्स फण्ड)’ नामको म्युचुअल फण्ड जारी गर्न लागेको हो । जुन ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो । यसको मतलब यो योजनाको इकाई बाँडफाँड भएको मितिले ७ वर्षमा योजना परिपक्व हुने छ । यस योजनाको आकार एक अर्ब रुपैयाँ रहेको छ । हामीले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेका हौं । जसमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्ने छौं ।

फण्ड जारी गर्नुको उद्देश्य के हो ? र, उठेको रकम कहाँ कहाँ लगानी गर्नु हुन्छ ?

‘एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)’ जारी गर्नुको उद्देश्य भनेको इकाई बिक्रीबाट उठेको रकम सामूहिक लगानी कोष नियमावलीले तोकेको विभिन्न क्षेत्रमा लगानी गर्नु हो । हामीले इकाई बिक्रीबाट उठेको वा संकलन भएको अधिकांश रकम शेयर बजारमा नै लगानी गर्ने छौं । कूल रकममध्ये १५ प्रतिशतसम्म मुद्दति निक्षेप र ५ देखि १० प्रतिशतसम्म कल अकाउन्टमा र बाँकी ७५ देखि ८५ प्रतिशतसम्म शेयर बजारमा लगानी गर्ने छौं । यस योजनाको अधिकांश रकम दोश्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये उत्कृष्ट ३० वटा कम्पनीमा मात्र लगानी गरिने हुँदा समग्र नेप्सेको ग्रोथ भन्दा यस योजनाको न्याभको ग्रोथ बढी हुने हुँदा योजनाको इकाईधनीहरुलाई नेप्सेको ग्रोथ भन्दा बढी रिटर्न दिन्छ ।

अन्य म्युचुअल फण्डभन्दा यो भिन्न हो ?

हो । यो फण्ड अन्य म्युचुअल फण्ड मध्ये विल्कुलै फरक छ । हामीले अहिलेसम्म जारी गरेका जति पनि म्युचुअल फण्ड थिए ती सबै इक्विटी बेस र ब्यालेन्सड् फण्ड थियो । सामान्यतः म्युचुअल फण्डहरुले इक्विटी र मुद्रा बजार उपकरणमा लगानी गर्ने गरि सञ्चालनमा आएका छन् । तर यो ‘एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)’ ले सूचिकृत कम्पनीमध्ये जम्मा ३० वटा उत्कृष्ट कम्पनीहरु मात्र छनौट गरि लगानी गर्ने हुँदा अन्य फण्डहरु भन्दा फरक रहेको छ ।

यहाँले मात्र ३० कम्पनीलाई छनोट गरेर लगानी गर्छौं भन्नु भयो । छनोट गर्ने आधार के छ ? र, कस्ता कस्ता कम्पनी पर्छन् ?

हामीले दोश्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये ३० वटा कम्पनी सेलेक्ट गरेर लगानी गर्छौं । तर कहिले काँही छानिएका ३० वटा कम्पनी भन्दा माथि जान सक्छ । त्यो कस्तो बेलामा हुन्छ भने कहिले काँही आईपीओमा लगानी गर्नुपर्ने हुन्छ, त्यस्तो बेलामा कम्पनीको संख्या बढ्छ । र, पनि केही समय पछि (अर्थात त्रैमासिक या अर्धवार्षिक रुपमा) घटाएर मात्र ३० कम्पनीमा नै झार्छौं ।

अर्को, बजारमा कसरी लगानी गर्छौं भन्दा हाल नेप्सेमा जति वटा सबइन्डेक्स (उप सूचक) हरु छन्, त्यसमध्ये सबैभन्दा राम्रो तथा बलियो ३० वटा कम्पनी छान्छौं । छानिएकामा सबै क्षेत्रका कम्पनी पर्छन् भन्ने हुँदैन । त्यसमा जुन बढी प्रभावकारी छ, सबैभन्दा राम्रो जुन छ, त्यहि त्यहि क्षेत्रको कम्पनीलाई सेलेक्ट गरेर लगानी गर्दर्छौं । समग्रमा भन्नुपर्दा हामीले खास नेप्सेको इन्डेक्सलाई नै रेप्लिकेट गर्न खोजेका छौं । त्यसैले पनि म्युचुअल फण्डको नाम इन्डेक्स फण्ड राखिएको हो ।

लगानीकर्ताले ‘एनआईसी एशिया सेलेक्ट फण्ड’ मा नै किन लगानी गर्ने ?

सबैभन्दा पहिला त लगानीकर्ताले प्रतिफलको लागि नै यसमा लगानी गर्न सक्नुहुने छ । साना तथा नयाँ लगानीकर्ता जो धेरै लगानी गर्न सक्नुहुन्न र जो दीर्घकालिन रुपमा लगानी गर्न चाहानुहुन्छ उहाँहरुलाई पनि यो उपयुक्त हुन्छ ।

अहिलेको अवस्थामा दोश्रो बजारमा सिधै छिर्नको लागि उच्च जोखिम हुन्छ र जोखिम बहन गर्न सक्ने क्षमता सबै लगानीकर्तामा नहुन सक्छ । त्यसैले जोखिम लिन नसक्ने, जोखिमलाई मूल्याङ्कन गर्न नसक्ने, बजारको विश्लेषण गर्न नसक्ने अथवा बजारलाई प्रयाप्त समय दिएर बजारको उतारचढावलाई हेर्न नसक्ने, प्रयाप्त ज्ञान नभएका लगानीकर्ता हुनुहुन्छ । उहाँहरुले बजारमा प्राप्त हुने उचित प्रतिफल लिनको लागि यो फण्डमा लगानी गर्नुभयो भने उपयुक्त हुने देखिन्छ । सामान्य रुपमा भन्नुपर्दा लगानीकर्ताले यो फण्ड मार्फत एक हजार रुपैयाँमै बेष्ट ३० वटा कम्पनीमा लगानी गर्न पाउनु हुनेछ ।

त्यस्तै, हामीले यसअघिका फण्डमा जस्तै यो फण्डमा लगानी गर्ने लगानीकर्तालाई हामीले पहिलो वर्षदेखि नै प्रतिफल वितरण गर्ने प्रक्षेपण गरेका छौं । पहिलो वर्षमा केही कम होला तर औषतमा वार्षिक २०.४३ प्रतिशतको दरले प्रतिफल वितरण गर्न सक्छौं भन्ने हामीले प्रक्षेपण गरेका छौं ।

लगानीकर्तालाई प्रतिफल वितरण गर्न सक्ने आधार के के छन् ?

हामीले मार्केट ट्रेण्डसँगसँगै कम्पनीको फण्डामेन्टललाई पनि हेरेर लगानी गर्छौं । मार्केट ट्रेण्ड भन्नाले केही कम्पनी जसको आम्दनी केही छैन, आभारभूत पक्ष कमजोर छन्, तर मार्केटमा भने दैनिक सर्किट लागि रहेको छ भनेर त्यस्ता कम्पनीमा लगानी गर्दैनौं । किनकी त्यसबाट रिटर्न एक्स्पेक्ट पनि गर्दैनौं । तर कुनै यस्ता कम्पनी जो भर्खरै बजारमा भित्रिएका छन्, विगतमा केही दिएका छैनन् तर भविष्यमा भने केही दिने योजना बनाएका छन् भने हामीले त्यस्ता कम्पनी छानेर नै लगानी गर्छौं ।

अर्को, फण्डामेन्टल एनालाईसिस्मा हामीले कम्पनीको पीई, ईपीएसलाई मात्रै हेरेर लगानी गर्दैनौं । फ्युचर क्यासफ्लोको आधारमा गरेर त्यसको इन्क्रिमेन्ट भ्याल्यु निकालेर लगानी गर्नेछौं । यसलाई नै हाम्रो बेन्चमार्क मानेका छौं । यसको मतलब आगामी दिनमा कम्पनी कता जान्छ भन्नेसम्म पनि हाम्रो टीमले विश्लेषण गर्छ र त्यसपछि मात्रै लगानी गर्ने सम्बन्धी निर्णय गर्छ ।

एउटा मार्केटको दैनिक कारोबारको तथ्यांक त भैहाल्यो । त्यो बाहेक कम्पनीले प्रकाशित गरेका विवरणहरुमा आगामी योजनाहरु समावेश गरिएका हुन्छन्, त्यसको आधारमा पनि हामीले विश्लेषण गरेर एउटा भ्याल्यू निकालेका हुन्छौं । त्यो भ्याल्यूबाट हामीले अतिरिक्त प्रतिफल लिन सक्छौं भने मात्रै लगानी गर्छौं ।

फण्ड सुपरिवेक्षक र फण्ड व्यवस्थापक टीममा कस्तो रहेको छ ?

हामी सवल र सक्षम लगानी व्यवस्थापन गर्ने टीमसहित अगाडि बढेका छौं । हाम्रो फण्ड सुपरिवेक्षक लगायत व्यवस्थापक टीममा जो जति हुनुहुन्छ, उहाँहरु सबै अनुभवी र दक्ष हुनुहुन्छ । कोही पुँजीबजारमा, कोही रिसर्च तथा लगानीको क्षेत्रमा सबै, आआफ्ना क्षेत्रमा अब्बल हुनुहुन्छ ।

लगानीकर्तालाई के भन्न चाहानुहुन्छ ?

लगानीकर्तालाई के भन्न चाहान्छु भने हाम्रो टीम बजार सम्बन्धमा राम्रो ज्ञान र एक्स्पेरियन्स भएको टीम छ । विगतमा संचालन गरिरहेको योजनाहरुको ट्रयक रेकर्ड हेर्दा राम्रो प्रदर्शन गरेको व्यहोरा यहाँहरुलाई जानकारी नै छ । हामीले अध्ययन तथा विश्लेषण गरेर मात्रै बेष्ट ३० कम्पनीमा लगानी गर्छौं । र, हामीले स्टेबल तथा टार्गेटेड रिटर्न दिन्छौं । जुन जसरी पनि पुरा गर्छौं । त्यसैले ढुक्क भएर लगानी गर्न अनुरोध गर्दछु ।

अन्त्यमा,
एनआईसी एशिया क्यापिटल सञ्चालनमा आएको साढे ४ वर्ष पुग्दै छ । यो अवधिमा २ वटा बन्दमुखी र १ वटा खुलामुखी प्रकृतिको योजना सहित ३ वटा फण्ड सञ्चालनमा ल्याइसकेको छ । बन्दमुखी प्रकृतिको योजना अन्तर्गतका एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड हुन् भने एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड खुलामुखी प्रकृतिको योजना हो । यो नयाँ सेलेक्ट फण्डसँगै बन्दमूखी प्रकृतिको योजनाको संख्या तीन पुग्ने छ ।

बजारमा योङ्ग नै भएपनि क्यापिटलले आफ्नो टार्गेटलाई फोकस गरेर अगाडि बढीरहेको छ । डिम्याटमा नम्बर वान भएको छ । समग्र क्यापिटल मार्केटमा पनि राम्रै छौं । हामीसँग जो जोडिनु भएको छ, उहाँहरुलाई राम्रै रिटर्न दिन सफल भएका छौं । साथै क्यापिटलले चौथो बन्दमुखी योजना ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ सञ्चालन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि पेश गरिसकेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.