बोर्डको प्राथमिकतामा ७ कामः नयाँ ब्रोकरलाई भित्र्याउनेदेखि एसएमईको लागि छुट्टै प्लेटफर्म स्थापना गर्नेसम्म

  २०७८ जेठ २५ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाली पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड २९औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको २८औं वर्ष पार गर्दै बोर्ड आज(जेठ २५गते) देखि नयाँ वर्षमा प्रवेश गरेको हो ।

हालको कारोनाको महामारीको परिस्थितिलाई ध्यानमा राख्दै बोर्डले आफ्नो २९औं वार्षिकोत्सव अनलाइन (भर्च्युअल माध्यम) मार्फत मनाएको हाे । यो अवसरमा बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले हालको बजारको अवस्थाको बारेमा प्रकाश पार्दै आगामी बाेर्डकाे प्राथमिकतामा रहेका कार्यक्रमहरु प्रस्तुत गरेका छन् । उनका अनुसार बोर्डले हाल ७ वटा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

यस्ता छन् प्राथमिकतामा रहेका ७ कार्यक्रम

बोर्डले आगामी दिनमा कारोबार व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने, ऋणपत्र बजारलाई गतिशिल बनाउने, नयाँ संस्थागत र प्रदेशगत धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने, संस्थागत व्यवसायलाई प्रवर्द्धन गरी सेवालाई प्रतिस्पर्धी एवम् सर्वसुलभ बनाउने कार्यलाई प्राथमिकता दिनेछ ।

पछिल्लो समय कारोबार प्रणालीमा प्राविधिक जोखिम उच्च हुँदै जानुका साथै बजारमा नयाँ लगानीकर्ताहरूको ठूलो संख्यामा प्रवेश तथा कारोवार परिमाणमा उच्च वृद्धि र प्राथमिक बजारमार्फत् पुँजी परिचालन परिमाणमा समेत उच्च वृद्धि हुँदै गएको सन्दर्भमा बजारको बढ्दो माग तथा आपूर्तिलाई प्रभावकारी रूपमा व्यवस्थापन गरी बजारको विश्वसनीयता अभिवृद्धि तथा बढ्दो जोखिम व्यवस्थापन गर्न स्टक एक्सचेञ्जलाई प्रतिष्पर्धी बनाउन आवश्यक पहल गर्नुपर्ने देखिएको छ ।

त्यस्तै, हालको दोस्रो बजार सञ्चालक नेप्से र केन्द्रीय निक्षेप सेवा तथा कारोवारको राफसाफ तथा फर्छयौट सेवा प्रदायक सिडिएससिको संरचनात्मक सुधार गरी क्षमता अभिवृद्धि गर्दै राफसाफ कोष समेत शिघ्र सञ्चालनमा ल्याउने व्यवस्था गरिनेछ ।

धितोपत्र बजारलाई प्रतिष्पर्धी एवं विश्वसनीय बनाउने, स्टक एक्सचेञ्जमा कारोबारका लागि एसएमईको लागि छुट्टै प्लेटफर्मको स्थापना गर्ने, नेप्से परिसूचक तथा बजार परिसूचकहरूको गणना विधिमा सुधार गरी यर्थाथपरक बनाउने, वस्तु विनिमय बजार सञ्चालन गर्ने, इक्विटी डेरिभेटिभ्स लगायतका लगानीका उपकरणहरू थप्ने र समग्रमा पुँजी बजारसम्बन्धी सेवाहरूलाई प्रविधिसँग जोड्ने रणनीतिक योजनाकासाथ अघि बढेका छ । यी लक्ष्यहरू उपलब्धीमा परिवर्तन हुँदै गर्दा केही वर्षहरूमा नै नेपालको पुँजी बजार नयाँ युगमा प्रवेश गर्नेमा बोर्ड दृढसंकल्पित रहेको छ ।

बजारको स्वरूपमा व्यापक परिवर्तन हुँदै गएकोले सर्वसाधारणको पुँजी बजारसम्बन्धी साक्षरता बोर्डको लागि अर्को चुनौति थपिएको छ । साक्षर एवं विवेकशिल लगानीकर्ता तयार पार्नका लागि बोर्डले हालको प्रशिक्षणसम्बन्धी कार्यक्रमको मोडललाई पनि परिवर्तन गर्दै व्यापक र प्रभावकारी बनाउने योजनाका साथ बोर्ड अघि बढेको छ ।

नेपाल सरकारद्वारा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट वक्तव्यमार्फत सामूहिक लगानी कोषको आयमा कर नलाग्ने व्यवस्था गर्ने र लगानीकर्ताहरूले सेयर धारण गरेको अवधिका आधारमा पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने विगत ६/७ वर्ष अघिदेखी बजारबाट निरन्तर रूपमा राखिँदै आएको माग समेत सम्बोधन भएको छ ।

प्रस्तुत बजेटले पुँजी बजारको विकास र स्थायित्वमा जोड दिइने तथा आगामी वर्षदेखि वस्तु विनिमय बजार कारोबार संचालन गरिने कार्यक्रम समावेश भएकोमा उक्त कार्यक्रम बोर्डले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने/गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.