काठमाडौं । प्रभु क्यापिटलले निष्काशन गरेको प्रभु सेलेक्ट फण्डको बाँडफाँड आज(जेठ १४ गते) सम्पन्न भएको छ । क्यापिटलले आज भर्च्युअल माध्यमबाट उक्त फण्डको बाँडफाँड सम्पन्न गरेको हो ।
क्यापिटलका अनुसार आवेदकमध्ये रितपूर्वक आवेदन लिने सबै अर्थात ८२ हजार १ सय ५२ जना आवेदकले प्रभु सेलेक्ट फण्डको इकाई पाएका छन् । उक्त फण्डमा ८५ हजार ५ सय ५५ आवेदकले आवेदन दिएका थिए । जसमध्ये दोहोरो आवेदन तथा अन्य कारणबाट आवेदन रद्ध भएका बाहेक ८२ हजार १ सय ५२ जना आवेदकहरु सबैलाई फण्डको इकाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
न्यूनतम १०० इकाईदेखि १० लाख इकाईसम्म आवेदन गर्ने सबैलाई आवेदन अनुसार कै इकाईहरु बाँडफाँड गरिएको छ भने १० लाख इकाई माथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रुपमा इकाईहरु बाँडफाँड गरिएको छ ।
जेठ ५ गतेदेखि ९ गतेसम्म सार्वजनिक निष्काशन गरिएको प्रभु सेलेक्ट फण्डमा १० करोड इकाईको निष्काशन गरिएकोमा निष्काशनको करिब २ गुणासम्म आवेदन परेको थियो । प्रभु सेलेक्ट फण्डको आकार १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५ करोड रुपैयाँको भएको छ । सोमध्ये सर्वसाधारण लगानीकर्ताहरुलाई १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको छ । फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ प्रतिशत अर्थात १७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७५ लाख इकाई र योजना व्यवस्थापक प्रभु क्यापिटललाई १ करोड २५ लाख रुपैयाँ वापत १२ लाख ५० हजार इकाई सुरक्षित गरी बाँडफाँड गरिएको हो ।
आवेदकले उक्त फण्ड बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट तथा सीडीएससीको वेवसाइटबाट केही समय पश्चात हेर्न सक्ने छन् ।