फण्डबाट उठेको रकम ३० कम्पनीमा लगानी गर्छौं, लगानीकर्तालाई ३ गुणाबढी प्रतिफल दिन्छौं- गिरी

  २०७८ जेठ ४ गते ११:११     विकासन्युज

कृष्ण गिरी, चिफ अपरेटिङ्ग अफिसर- प्रभु क्यापिटल

प्रभु बैंकको सहायक कम्पनी प्रभु क्यापिटलले ‘प्रभु सेलेक्ट फण्ड’ निष्काशन तथा बिक्रीमा ल्याउँदै छ । नेपालमै सबैभन्दा ठूलो पुँजी भएको मर्चेन्ट बैंकिङ्ग संस्था प्रभु क्यापिटलले पहिलो स्किमको रुपमा उक्त योजना निष्काशन गर्न लागेको हो । यससँगै, नयाँ योजना कस्तो हो ? योजनाको उद्देश्य के हो ? लगानीकर्ताले यसमा किन लगानी गर्ने भन्ने विषयमा सम्बन्धि रहेका क्यापिटलका चिफ अपरेटिङ्ग अफिसर कृष्ण गिरीसँग गरिएको कुराकानीको सम्पादित अंशः

प्रभु क्यापिटलले निष्काशन गर्न लागेको नयाँ म्युचुअल फण्ड कस्तो हो ?

प्रभु क्यापिटलले पहिलो स्किमको रुपमा ‘प्रभु सेलेक्ट फण्ड’ नामक एउटा नयाँ म्युचुअल फण्ड ल्याउन लागेको हो । जुन ७ वर्षे अवधिको बन्दमुखी योजना हो । यसको मतलब यो योजनाको इकाई बाँडफाँड भएको मितिले ७ वर्षमा योजना परिपक्व हुने छ ।

हामीले प्रतिइकाई १० रुपैयाँको दरले १० करोड इकाई बराबरको १ अर्ब रुपैयाँ बराबरको स्किम अघि सारेका छौं । त्यसमध्ये करिब १५ करोड रुपैयाँ बराबरको एक करोड ५० लाख इकाई प्रभु बैंक र प्रभु क्यापिटलले मिलेर लिनेछन् । त्यसमा पनि म्युचुअल फण्डको कोष प्रवद्र्धक रहेको प्रभु बैंकको एक करोड ४० लाख इकाई अर्थात १४ करोड रुपैयाँ बराबरको लागानी हुने छ भने योजना व्यवस्थापक प्रभु क्यापिटलको १० लाख युनिट अर्थात एक करोड रुपैयाँ बराबरको लगानी हुने छ । बाँकी ८ करोड ५० लाख इकाई अर्थात ८५ करोड रुपैयाँ बराबरको इकाई सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरिने छ । जसमा लगानीकर्ताले आगामी जेठ ५ गतेदेखि आवेदन दिन सक्ने छन् ।

यो योजना जारी गर्नुको उद्देश्य के हो ?

प्रभु सेलेक्ट फण्ड जारी गर्नको उद्देश्य भनेको इकाई बिक्रीबाट उठेको रकम सामूहिक लगानी कोष नियमावलीले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गर्नु हो । जसको व्यवस्थापन योजना व्यवस्थापक प्रभु क्यापिटले दक्षतापूर्वक गर्ने छ ।

साथै, लगानीकर्ताहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने उद्देश्यले यस योजनाको इकाईहरु निष्काशन गरिएको हो ।

फण्ड’बाट उठेको रकम कहाँ कहाँ लगानी हुन्छ ?

संक्षेपमा भन्नु पर्दा यस योजनाले सामुहिक लगानी कोष र धितोपत्रसँग सम्बन्धित ऐन, नियमावली तथा निर्देशिकाहरुको अधिनमा रहि विभिन्न सूचिकृत कम्पनीहरुमा लगानी गर्ने गर्छ । हामीले इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकम सेयर बजारमा गर्ने छौं । कूल रकममध्ये २० देखि ३० प्रतिशतसम्म मुद्दति निक्षेप, केही प्रतिशत बैंक मौज्दातमा, केही ऋणपत्रमा र बाँकी सेयर बजारमा लगानी गर्ने छौं ।

हामीले सकेसम्म कम्पनीको भ्यालु र ग्रोथ दुईवटा मेजर्सहरुलाई फोकस गर्छौं । ग्रोथ स्टेज भनेको आक्रामक रुपमा व्यवसाय गरिरहेका, व्यवसाय वृद्धि गरिरहेका, उचित मूल्याङ्कन भएका र भोलिका दिनमा बढेर मूल्याङ्कन राम्रो हुन सक्ने कम्पनीहरुमा लगानी गर्नेछौं । त्यस्तै, आन्तरिक संस्थागत सुसाशन बलियो भएका र लगानीकर्तालाई उच्च प्रतिफल वितरण गर्न सक्ने किसिमका कम्पनीहरु छनोट गरेर लगानी गर्ने छौं ।

अधिकतम हामीले ३० वटा कम्पनीलाई आफ्नो पोर्टफोलियोमा राख्ने छौं । त्यसैले पनि यो फण्डको नाम नै सेलेक्टिभ राखेका हौं । यी बाहेक फण्डले नेपाल धितोपत्र बोर्डले तोकेको अन्य क्षेत्रहरुमा लगानी गर्ने छ ।

यहाँले मात्र ३० कम्पनीलाई छनोट गरेर लगानी गर्छौं भन्नु भयो । ती कुन कुन हुन् ? र, कस्ता कस्ता हुन् ?

हामीले अहिले नै यहि कम्पनीमा लगानी गर्छौं भनेर भनिहाल्न मिल्दैन । फण्ड आईसकेपछि हामीसँग उपलब्ध जति पनि कम्पनीहरु छन् ती कम्पनीहरुमध्ये भ्यालु र ग्रोथका आधारमा जसले भोलिका दिनमा राम्रो प्रतिफल दिन सक्छन् त्यस्ता ३० वटा कम्पनीहरु छनोट गरेर अगाडि बढ्ने छौं ।

भन्नुको अर्थ यो फण्डले बजारमा रहेका जुनसुकै कम्पनीको सेयर किन्ने बेच्ने गर्दैन । एउटा निश्चित कम्पनीहरु, त्यो पनि अधिकतम ३० वटा कम्पनी मात्र यसले नियमित रुपमा खरिद बिक्री गर्ने छ । त्यस्तै, भोलिका दिनमा नेप्से इन्डेक्स ३० भन्यो भने त्यो इन्डेक्सको बेन्चमार्क के हुन्छ भन्ने हिसाबले पनि हामीले सोचिराखेका छौं ।

अन्य फण्डहरुले कतिमा लगानी गरिरहेका हुन्छन् ?

तपाईंले हेर्नुभयो भने कुनै १०० वटा कम्पनीमा पनि लगानी गरिरहेका हामीले पाउँछौं । यसको मतलब धेरै भन्दा धेरै कम्पनीहरु आफ्नो पोर्टफोलियोमा राख्ने गरेका धेरै वटा म्युचुअल फण्डहरु छन् । जुन, एक हिसावले जोखिम न्युनिकरणको लागि त राम्रो हो । तर प्रतिफलको हिसाबले यसले लगानीकर्ताहरुलाई राम्रो प्रतिफल प्रदान गर्न सक्दैन ।

हामीले जोखिमलाई मध्यनजर गर्दै प्रतिफल लक्षित भएर भोलिका दिनमा राम्रो रिटर्न गर्न प्रदान गर्न सक्ने कम्पनीहरु हामीले हेरिराखेका हुन्छौं । प्रभु क्यापिटलले अहिले पनि करिब करिब २ अर्ब रुपैयाँ बराबरको फण्ड म्यानेज्ड गरिराखेको छ । हामीले हाम्रो रणनीति अनुसार नै त्यसलाई कार्यान्वयन गरेर, एक्स्पेरिमेन्ट गरेर त्यसमा सफल पनि भइसकेका छौं । हामीले गएको ९ महिनामा राम्रो प्रतिफल आर्जन गर्न सफल भएका छौं ।

लगानीकर्ताले ‘प्रभु सेलेक्ट फण्ड’ मा नै किन लगानी गर्ने ?

सबैभन्दा पहिला त लगानीकर्ताले प्रतिफलको लागि नै यसमा लगानी गर्न सक्नुहुने छ । बजारमा सिधै झिर्नको लागि उच्च जोखिम हुन्छ र जोखिम बहन गर्न सक्ने क्षमता सबै लगानीकर्तामा हुँदैन । त्यसैले जोखिम लिन नसक्ने, जोखिमलाई मूल्याङ्कन गर्न नसक्ने, बजारको विश्लेषण गर्न नसक्ने अथवा बजारलाई प्रयाप्त समय दिएर बजारको उतारचढावलाई हेर्न नसक्ने, प्रयाप्त ज्ञान नभएको जति नि लगानीकर्ता हुनुहुन्छ । उहाँहरुले बजारमा प्राप्त हुने उचित प्रतिफल लिनको लागि यो प्रभु सेलेक्ट फण्डमा लगानी गर्नुभयो भने उपयुक्त हुने छ । उहाँहरुले बजारमा प्रतिफल लिन सक्नु भएन भने पनि यताबाट प्रतिफल लिन सक्नु हुन्छ ।

लगानीकर्तालाई कति प्रतिफल दिने प्रक्षेपण गर्नुभएकाे छ ?

हामीले मिल्यो भने यहि तीन महिनामा पनि प्रतिफल दिन सक्छौं कि भन्ने कोशिष गरिराखेका छौं । ताकि अहिले लगानी गर्नेहरुलाई केहि न केहि दिन सक्छौं की भन्ने छ । जुन अहिले इन्टरनल प्रोसेसमा छ ।

यदि यो साल दिन सकेनौं भने पनि आगामी सालबाट औषतमा २० प्रतिशतको दरले लगानीकर्तालाई प्रतिफल वितरण गर्न सक्छौं भन्ने प्रक्षेपण गरेका छौं । र अहिले लगानी गरेर ७ वर्षसम्म लगातार होल्ड गर्नुहुन्छ भने उहाँहरुले लगानीको करिब करिब ३ गुणासम्मको प्रतिफल पाउनु हुने छ ।

२० प्रतिशतसम्म प्रतिफल वितरण गर्न सक्छौं भन्नुभयो । सो मात्राको प्रतिफल वितरण गर्न सक्ने आधार के के छन् ?

प्रतिफल वितरण गर्नेको आधार भनेको त पहिलो हामीले बजारमै लगानी गर्ने हो । बजारबाटै नाफा कमाउने हो । त्यसमा पहिलो आधार भनेको लगानी व्यवस्थापन नै हो । लगानी व्यवस्थापन प्रतिको हाम्रो अनुभव, हाम्रो टिमको क्षमता हो । हामीले ९ महिनामा करिब करिब लगभग ८१ करोड रुपैयाँ लगानीलाई व्यवस्थापन गर्न सफल भएका छौं ।

हामीसँग लगभग २ करोड आसपासको फण्ड उपलब्ध थियो होला । त्यसबाट हामीले यो नौ महिना मै करिब ६० करोड रुपैयाँ बराबरको नाफा कमाईसकेका छौं ।  मैले भन्न खोजेको के हो भने, हामीसँग यो किसिमको अनुभवी टीम हुनुहुन्छ । त्यसैले पनि लगानीकर्तालाई सो मात्राको प्रतिफल खुवाउन सक्छौं भन्ने आधार हो ।

त्यस्तै, अर्को भनेको अबको ५/७ वर्षको दौरानमा यो पुँजीबजार विकास अझ झन् बढी भएको देख्न पाउनुहुनेछ । मलाई लाग्छ करिब करिब हामीले दुई वटा बुल मार्केट भेट्छौं । त्यसमध्ये अहिले शुरु हुँदै गरेको एउटा बुल तुरुन्तै भेट्छौं । सँगसँगै हामीले अर्को दोश्रो बुल पनि भेट्छौं । यी दुईवटा बुल भेट्दै गर्दा लगानीकर्तालाई हामीले भनेकोभन्दा बढी प्रतिफल दिन सक्छौं कि भन्ने लाग्छ । किन त्यस्तो लाग्छ भने, अहिले इन्ट्राडेको कुरा आइरहेको छ । बजारमा विभिन्न लगानीका औजारहरु थप्ने कुराहरु जस्तै, बजारमा इक्विटीको डेरिभेटिभ, कमोडिटीको डेरिभेटिभ, सरकारी धितोपत्र कारोबार गर्ने, ओटीसी मार्केटबाट कारोबार गर्ने, बुकबिल्डिङ्गबाट सहभागी हुन पाउने जस्ता विभिन्न वित्तीय औजारले म्युचुअल फण्डको दायरा पनि केहि न केहि फराकिलो बनाउँदै लैजान्छ र आम्दानी पनि विस्तार हुन्छ ।

त्यसैले अबको ५ ७ वर्षको लागि नेपाली पुँजीबजारको भविष्य एकदम उज्जवल छ । त्यसैले पनि हामीले अहिले जति प्रतिफल भनेका छौं त्यो न्युनतम हो । लगानीकर्ताले त्योभन्दा पनि बढी पाउने सम्भावना प्रवल छ । साथै, योजनाले कमाएको खुद नाफाको अनुपातमा इकाईको अंकित मूल्यको आधारमा मुनाफा वितरण गरिनेछ । खुद नाफामध्ये आवश्यकतानुसार सञ्चित नाफा (रिटेन अर्निङ्ग) पुनः लगानी गरिनेछ ।

अन्य म्युचुअल फण्डभन्दा यसमा के भिन्नता छ ?

पहिले त हाम्रो म्युचुअल फण्डको प्रकृति नै फरक छ । हामी अरु जसरी सबै कम्पनीमा लगानी गर्दै जाने भन्दा पनि सेलेक्टिभ भएर जाने छौं । नाफा कमाउने उद्देश्य पनि फरक छ ।

अर्को, हाम्रो इन्टरनल टीमको स्ट्रक्चर पनि फरक छ । अरुले भन्दा भिन्न तरिकाले काम गरि राखेका छौं । त्यसैले पनि पछिल्लो ९ महिनाको डाटा हेर्ने हो भने पनि पुँजी बजारमा अन्य क्यापिटलभन्दा हामी अगाडि रहेका छौं ।

योसँगै उच्च प्रतिफल, उज्जवल भविष्य देख्ने लगानीकर्ताको लागि पनि हामीले यसबाट राम्रो प्रतिफल दिएर उहाँहरुको जुन आशा छ त्यसलाई सम्बोधन गर्न सक्छौं । र, त्यसमा हामीले सानो भन्दा पनि टेवा प्रदान गर्न सक्छौं भन्ने हिसावले हामी अलिकति पृथक छौं जस्तो लाग्छ ।

फण्ड सुपरिवेक्षक र फण्ड व्यवस्थापक टीममा कति जना हुनुहुन्छ ?

फण्ड सुपरिवेक्षक टीममा कूल ५ जना (योगेन्द्र गौचन, सविन विक्रम पन्त, अर्जुनलाल राजवंशी, मदन कुमार निरौला र नारायण देशार) हुनुहुन्छ । त्यस्तै, फण्ड व्यवस्थापक टीममा ४ जना (दिनेश थकाली, दुर्गानाथ झा, भुवन कर्मचार्य र अविरण नेपाल) हुनुहुन्छ ।

उहाँहरु सबै इनर्जेटिक सहित अनुभवि र दक्ष हुनुहुन्छ । जसमध्ये कोहि नेपाली पुँजी बजार र लगानीको क्षेत्रमा विगत १० वर्षदेखि कार्यानुभव रहेका साथीहरु हुनुहुन्छ । कोही भारतीय र अमेरिकन पुँजीबजारमा केही वर्ष काम गरेर आउनुभएका हुनुहुन्छ ।

अपरेसनलसँगसँगै लगानी कमिटी, फण्ड सुपरमाइजर, फण्ड म्यानेजमेन्ट सबै टीम एकदमै बलियो छ । यसले गर्दा हामी स्ट्रक्चरवाइज अरुभन्दा भिन्न छौं । त्यसैले हामी सवल र सक्षम लगानी व्यवस्थापन गर्ने टीमसहितको अगाडि बढेका छौं ।

जोखिमहरु के कस्ता छन् ? यसको व्यवस्थापन गर्न के कस्तो रणनीति बनाउनु भएको छ ?

यसमा सेयर बजार बाहेक अन्यमा खासै जोखिम हुँदैन । म्युचुअल फण्डले अधिकांश लगानी सेयर बजारमा नै गर्ने भएकाले सेयरमा आउने उतारचढावले गर्दा आउने जोखिम नै मूख्य जोखिम हो । जसले गर्दा भोलि न्याभ घट्ने वा बढ्ने जस्ता हुन्छन् ।

तर उच्च स्तरिय व्यवस्थापन टोलि भएकाले यसमा आउने जोखिमलाई पहिले नै रिक्स म्यानेजमेन्टका विभिन्न उपकरणहरुको प्रयोग गरेर सम्भावित जोखिमहरुलाई व्यवस्थापन गर्ने छौं । जसलाई व्यवस्थापन गर्नको लागि हामीले छुट्टै लगानी रणनीति बनाएका छौं । त्यो नीति अन्तर्गत रहेर कम्पनीलाई ग्रेडिङ्ग गर्ने प्यारामिटरहरु छन् । त्यहि अन्तर्गत हामीले सकेसम्म कम्पनीको सेयर भ्यालु र ग्रोथ दुईवटा मेजर्सहरुलाई फोकस गर्छौं ।

लगानीकर्तालाई के भन्न चाहानुहुन्छ ?
लगानीकर्तालाई के भन्न चाहान्छु भने, दीर्घकालिन लगानीका लागि एकदमै राम्रो औजार खोजिराख्नु भएको छ भने प्रभु सेलेक्ट फण्ड तपाईंहरुको लागि एउटा राम्रो औजार हो । त्यसैले तपाईंहरु ढुक्क भएर यसमा लगानी गर्न सक्नुहुन्छ । हामीले तपाईंहरुको विश्वास कायम राख्ने गरी नै काम गर्छौं ।

इच्छुक लगानीकर्ताले यसमा जेठ ५ गतेदेखि छिटोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नु हुनेछ । अंकित मूल्य १० रुपैयाँ रहेको यस फण्डमा न्यूनतम १०० र अधिकतम ८ करोड ५० लाख इकाइका लागि आवेदन दिन सकिने व्यवस्था रहेकाे छ ।

अन्त्यमा,
प्रभु क्यापिटल नेपालमै सबैभन्दा ठूलो पुँजी भएको मर्चेन्ट बैंकिङ्ग संस्था हो । हामी अहिले ८१ करोड ८१ लाख रुपैयाँ बराबरको पुँजीमा छौं । क्यापिटलले पुँजीबजारमा नेतृत्वदायी भूमिका खेल्दै अगाडि आइरहेको छ । व्यवसायको आधारमा पनि हामी एकदमै एग्रेसिभ भएर लागि रहेको छ । कोभिडको महामारी, लकडाउन लगायतका विभिन्न खालका समस्याले गाँजे पनि हामी आफ्नो फिल्डमा एकदमै एग्रेसिभ भएर लागि रहेका छौं । ग्राहकहरुलाई ग्राहकमैत्री सेवाहरुको लागि प्रविधिको अधिकतम उपयोगमा हामी अगाडि बढीरहेका छौं । अहिलेको निषेधाज्ञाको समयमा पनि हामीसँगको सेवा लिन पर्यो भने अनलाइनबाटै सबै खालका सेवा दिने व्यवस्था मिलाएका छौं । साथै, यसलाई थप अपग्रेड गरेर ल्याउने प्रयासमा छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.