अन्य बैंकसँगको मर्जरको हल्लाले एक सातामै ८२ रुपैयाँले घट्यो नबिलको सेयर मूल्य

  २०७८ वैशाख १२ गते १४:१०     विकासन्युज

काठमाडौं । पछिल्लो एक सातामै नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ८२ रुपैयाँले घटेको छ । २०७७ चैत ३१ गते १३८० बिन्दुमा पुगेको कम्पनीको सेयर मूल्य २०७८ बैशाख ९ गतेसम्म घटेर १२९८ रुपैयाँमा झरेको छ ।

नयाँ वर्षदेखि यता (बैशाख ९ गतेसम्म) ६ कार्यदिन सेयर कारोबार भएको छ । यो अवधिमा बैंकको सेयर मूल्यमा निरन्तर जसो गिरावट आएको छ । यो अवधिमा बैंकको सेयर न्युनतम १२९५ रुपैयाँ र अधिकतम १३८० रुपैयाँमा कारोबार भएको थियो ।

२०७७ को अन्तिम कारोबार अर्थात चैत ३१ गते कम्पनीको सेयर मूल्य एक महिना यताकै उच्च अर्थात १३८० रुपैयाँ पुगेको थियो । तर, त्यसपछिको कारोबारमा भने उक्त उचाई कायम रहन सकेन । बैंकको भाउ घट्यो ।

नयाँ वर्षपछि खुलेको पहिलो कारोबारमा बैंकको सेयर मूल्य १० रुपैयाँले घटेको थियो । अघिल्लो दिन प्रतिकित्ता १३८० रुपैयाँमा भएको बैंकको अन्तिम कारोबार सो दिन अर्थात बैशाख २ गते बिहीबार प्रतिकित्ता १३७० रुपैयाँमा सेयर किनबेच भएको छ ।

त्यस्तै, बैशाख ५ गते आइतबार पनि बैंकको सेयर मूल्य घट्यो र प्रतिकित्ता १३३५ रुपैयाँमा सेयर कारोबार भएको थियो । त्यसपछि सोमबारको बजारमा प्रतिकित्ता १३१८ रुपैयाँ, मंगलबार १३१५ रुपैयाँ र बुधबार झनै घटेर प्रतिकित्ता १२९५ रुपैयाँमा सेयर किनबेच भएको थियो ।

बुधबारको तुलनामा गत बिहीबार (बैशाख ९ गते) कम्पनीको सेयर मूल्यमा भने सामान्य सुधार देखिएको छ । सो दिन कम्पनीको सेयर प्रतिकित्ता १२९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । जुन अघिल्लो दिनको तुलनामा ३ रुपैयाँले बढी हो ।

आज (बैशाख १२ गते) पनि बैंकको सेयर मूल्य निरन्तर रुपमा घटिरहेको छ । यो समाचार तयार पार्दासम्म बैंकको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ४० रुपैयाँले घटिसकेको छ । दिउँसो साढे १ बजेसम्मको कारोबारमा बैंकको सेयर प्रतिकित्ता १२५८ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३.०८ प्रतिशतले घटी हो ।

किन निरन्तर घट्यो बैंकको सेयर मूल्य ?
पछिल्लो समय बजारमा नबिल बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरु मर्ज गर्ने भन्ने हल्लाहरु सुनिँदै आएको छ । नबिलले जुन बैंक मर्ज गर्ने भन्ने हल्ला आएको हुन्छ सो दिन उक्त बैंकको सेयर मूल्य उकालो लागेको हुन्छ ।

नबिल बैंकसँग कहिले एनसीसी बैंक, कहिले सिभिल बैंक त कहिले कुनै वित्तीय संस्था मर्ज हुन लागेको हल्ला बजारमा व्यापक रुपमा बढ्न थालेको छ । पछिल्लो समय कुनै कम्पनीको मूल्यमा चलखेल गर्नको लागि नबिल बैंक हतियार भएको बजारमा जानकारहरु बताउँछन् ।

उदाहारणको लागि हालै गत बैशाख ९ गतेको बजारमा मात्रै एनसीसी बैंकको सेयर मूल्यमा एकाएक सकारात्मक सर्किट लागेको थियो । र, बैंकको कारोबार पनि उच्च भएको थियो । जुन, नबिल बैंकसँग मर्ज हुने हल्लाले नै त्यसको प्रभाव एनसीसी बैंकको सेयरमा परेको एक लगानीकर्ताले बताएका थिए ।

बैंकको सेयर मूल्य बढाउने हतियार बन्यो ‘नबिलसँग मर्जर हुँदै’को हल्ला, आज उछालियो एनसीसी

तर, बजारमा नबिलले कुनै कम्पनी मर्ज गर्ने भन्ने हल्ला फैलिएसँगै नबिल आँफैको सेयर मूल्य भने निरन्तर रुपमा घटिरहेको माथिको तथ्यांकले पुष्टि गरेको छ । यद्यपि, नबिल बैंकले भने हालसम्म यो बैंकसँग मर्जर गर्न वा नगर्ने भन्ने बारेमा कुनै औपचारिक रुपमा निर्णय गरेको छ ।

यससँगै बजारमा बैंककाे सेयर मूल्य निरन्तर किन घट्याे भन्ने कारण त छैन । तर पनि पछिल्लाे समय सेयर बजारकाे समग्र नेप्से परिसूचकमा गिरावट आएसँगै बैंककाे सेयर मूल्य पनि घटेकाे हाे की भन्ने अनुमान भने गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.