पर्यटन गुरुयोजना तयार गर्नको लागि १० लाख रुपैयाँ बजेट छुट्याएका छौं – अध्यक्ष तामाङ

  २०७७ चैत २२ गते १८:२८     विकासन्युज

नेपालको उत्तरमा हिमालयदेखि दक्षिणमा महाभारत पर्वतसम्म फैलिएकोे बागमती प्रदेश अन्तर्गतको धादिङ जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाँउपालिका हो खनियाबास गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिकरुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा पनि निक्कै चर्चित छ ।

गाउँपालिकाको पूर्वतर्फ नुवाकोट जिल्ला, पश्चिममा गंगाजमुना गाउँपालिका, उत्तरमा रुवीभ्याली गाउँपालिका र त्यसैगरी दक्षिणमा नेत्रावती गाउँपालिका रहेका छन् । सदरमुकाम धादिङबेसीदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने गरी कच्ची सडकको निर्माण भइसकेको छ । धादिङबेसी सदरमुकामबाट २ देखि ३ घण्टामा गाउँपालिका कार्यालय पुग्न सकिन्छ ।

१ सय २० दशमलब ८ वर्ग किलोमिटरसम्म फैलिएको यस गाउँपालिकाले धादिङ जिल्लाको कुल क्षेत्रफलको जम्मा ५ दशमलब ५२ प्रतिशत भूभाग ओगटेको छ । २०७५ सालको तथ्याङ्क अनुसार यस गाउँपालिकाको जनसंख्या १३ हजार ९ सय २२ जना रहेको छ ।

गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश ।

गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् ?

ठुला योजनाको रूपमा गाउँपालिकामा सडक निर्माणको काम नै रहेको छ । गाउँपालिकामा सडक निर्माणको स्तरोन्नतीको काम पनि भइरहेको छ । खानेपानीको योजना पनि गाउँपालिकामा रहेको छ । गाउँपालिकामा ‘एक घर एक धारा’ अभियान सञ्चालन गरिएको छ । यस अभियान अनुसार मिटर जडान गरेर नागरिकको घरमा खानेपानी पुर्याउने काम भइरहेको छ ।

वडा नं.२ मा सडक पुर्याउन बाँकी रहेको छ भने अरु वडामा सडक पुगिसकेको छ । २ नं वडामा पनि सडक निर्माणको लागि टेन्डर प्रक्रियाबाट काम अगाडि बढिरहेको छ । यस सडक निर्माणको लागि पालिकाबाट ५० लाख र प्रदेशबाट २५ लाख रुपैयाँ बजेट बिनियोजना भई जम्मा ७५ लाख रुपैयाँमा सडक निर्माणको काम अगाडि बढिरहेको छ । हाम्रो गाउँपालिकामा कुनैपनि सडक पिच हुन सकेको छैन । यो वर्ष सडक पिच गर्ने हाम्रो लक्ष्य रहेको छ । गाउँपालिकाको सबै वडामा बिजुली बाल्न पनि सफल भएका छौं ।

गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

कृषि विकासको लागि हामीले गाउँपालिकामा धेरै काम गर्दै आएका छौं । अधिकांश नागरिकहरू कृषि पेशामा नै आधारित छन् । आधुनिक कृषि प्रणालीलाई विशेष जोड दिइरहेका छौं । भेटेरीनरी र कृषि शाखामा २ जना कर्मचारीहरू रहेका छन् । तरकारी तथा फलफूल किनेर खान नपरोस् भन्ने अभियानमा हामी लागिपरेका छौं ।

व्यवसायिक रूपमा कृषि खेतीको पनि सुरुवात भएको छ । सानातिना तरकारीको बिउ निःशुल्क र धेरैजसो ५० प्रतिशत अनुदानमा बिउ वितरण गर्दै आएका छौं । कृषिलाई निर्वाहमुखी मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरूलाई आग्रह गरेका छौं ।

कृषि सम्बन्धी १५ वर्षे गुरुयोजना पनि हामीले तयार पारेका छौं । कृषकलाई कृषि तालिम पनि दिँदै आएका छौं । फलफूल तथा तरकारी नर्सरीको तालिम पनि कृषकहरुलाई दिँदै आएका छौं । वडा नं २ र ३ लाई आलु ब्लक क्षेत्रको रूपमा छुट्याएका छौं । बाख्रा पकेट क्षेत्रको रूपमा वडा नं ४ र ५ लाई छुट्याएका छौं ।

गाउँपालिकाका कति नागरिकहरू कृषि पेशामा आवद्ध रहेका छन् ?

यहाँका धेरैजसो नागरिकहरू कृषि पेशामा नै आवद्ध छन् । यहाँको नागरिकहरू वैदेशिक रोजगारीको लागि पनि गएका छन् । प्रतिशतमै भन्नुपर्दा करिब ९५ प्रतिशत मानिसहरू कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । हामीले गोरु जोत्ने मानिसलाई पनि नगद ५ हजार रुपैयाँसम्म पुरस्कार दिने व्यवस्था मिलाएका छौं । अनुदानको रूपमा कृषकलाई नगद पुरस्कार दिने व्यवस्था पनि मिलाएका छौं ।

आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?

हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । सिचेत पोखरी तथा बिजुली युङ्वा पनि पर्यटकीयस्थलको रूपमा निक्कै चर्चित छन् । पर्यटन गुरुयोजना तयार गर्नको लागि हामीले १० लाख रुपैयाँ बजेट छुट्याएका छौं । वडा नं ५ मा घले दरबारको अवशेष रहेको छ । हाम्रो गाउँपालिका धार्मिक हिसाबले पनि एकदमै महत्वपुर्ण रहेको छ । होमस्टे पनि गाउँपालिकामा सञ्चालन भएको छ । हामीले पर्यटन पूर्वाधारमा पनि विशेष जोड दिएका छौं ।

शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ त ?

हाम्रो गाउँपालिकामा जम्मा २७ ओटा विद्यालयहरु तथा ६ ओटा माध्यमिक विद्यालयहरू रहेका छन् । गाउँपालिकाका धेरै विद्यार्थीहरु नेपालकै अन्य शहर तिर पढ्न जाने भएकाले बाहिर जानु नपरोस् भनेर सबै वडाका विद्यालयमा बोर्डिङस्तरको कक्षा पनि सञ्चालन गरेका छौं । यो वर्ष बाट प्रत्येक वडामा नयाँ ईसीजी कक्षा सञ्चालन गरी बजेट विनियोजन गरेर पढाउने कामको पनि सुरुवात भएको छ ।

विद्यालयका भवनहरू निर्माण भएका छन् । गुणस्तरीय शिक्षामा हामीले विशेष जोड दिएका छौं । पहिलो प्राथमिकताको रुपमा गाउँपालिकामा शैक्षिक क्षेत्रलाई नै राखेका छौं । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयका प्रधानाध्यापक तथा समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । प्राविधिक शिक्षाको लागि पनि विशेष जोड दिएका छौं ।

गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

धेरै युवाहरूले रोजगारी पाउन् भनेर रोजगार सम्बन्धी कार्यक्रम र तालिम पनि सञ्चालन गरेका छौं । उद्यम विकासको लागि तालिम तथा गोस्ठीजस्ता कार्यक्रमहरु गर्नका लागि २५ लाख रुपैयाँ बजेट पनि छुट्याएका छौं ।

उद्यम बन्ने युवाहरुका लागि निःशुल्क व्याज अनुदानमा दिने भनेर ५० लाख रुपैयाँ बजेट छुट्याएका छौं । युवाले विना धितो ऋण लिएर काम गर्छन् भने २ वर्षसम्मको व्याज गाउँपालिकाले मिनाहा पनि गरिदिन्छ ।

गाउँपालिकामा युवाहरूले साना तथा घरेलु उद्योगहरु पनि सञ्चालन गरेका छन् । युवालाई ३ महिने इलेक्ट्रिशियन तालिम पनि दिएका थियौं । जसमा ५० जना युवाहरूको सहभागिता रहेको थियो । हाल ५० जनामध्ये २० जनाले व्यवसायिक काम पनि गरिरहनुभएको छ ।

गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं ।

हाल कस्ता किसिमको योजनालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ?

हामीले सडकलाई नै प्राथमिकता दिएका छांै । शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकतामा नै राखेका छौं । गाँउपालिकामा रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सकिन्छ कि भन्ने बारेमा पनि ध्यान दिएका छौं । विशेष गरी शिक्षाको विकास विना कुनैपनि प्रकारको चेतनाको विकास हुँदैन भनेर शिक्षालाई विशेष जोड दिएका छौं । खानेपानी र विद्युतलाई पनि प्राथमिकतामा राखेका छौं ।

गाउँपालिकाको स्रोत साधनको परिचालन गरी कसरी विकास निर्माणको काम अगाडि बढाउने भनेर पनि ध्यान दिएका छौं । हाम्रो पालिकामा ६४ प्रतिशत भुभाग वनजङ्गलले ओगटेको छ । पालिकामा ६४ प्रतिशत वनजङ्गललाई बढाएर ८० प्रतिशत बनाउने हाम्रो लक्ष रहेको छ । वन नर्सरी तालिम पनि पालिकामा सञ्चालन हँुदै आएको छ । १ सय ३४ थरीको जडीबुटी पनि हाम्रो पालिकामा पाइन्छन् ।

स्वास्थ्य क्षेत्रको विकासको लागि कसरी काम गर्दै आइरहनुभएको छ ?

गाउँपालिकाको सबै वडामा स्वास्थ्यचौकीहरू छन् । गाउँपालिकामा आवश्यकतानुसार स्वास्थ्य भवनहरू रहेका छन् । स्वास्थ्यसम्बन्धी जानकारी पनि स्वास्थ्यकर्मीहरुले दिइरहनुभएको छ । गाउँपालिकामा ईसीजी र ल्याबको पनि स्थापना भएको छ । स्वास्थ्यकर्मीहरूसँग बेलाबेलमा छलफल गर्ने र तालिम दिने काम पनि हामीले गरिरहेका छौं ।

स्वास्थ्य सेवालाई राम्रो बनाउनको लागि केही बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् । राज्यले दिने औषधी हामीले नागरिकलाई निःशुल्क दिने गरेका छौं । हाम्रो पालिकामा स्वास्थ्यचौकीका भवनहरू कतै बनिसकेका छन् भने कतै बन्ने क्रममा छन् । गाउँपालिकामा रहेका सबै नागरिकहरूको पहुँच प्राथमिक स्वास्थ्य सेवासम्म पुगेको छ । स्वास्थ्य युनिटबाट बेलाबेलामा आँखाको उपचार पनि हुने गरेको छ ।

गाउँपालिकामा विकास निर्माणका कामहरू कत्तिको प्रभावकारी भएका छन् ?

विकास निर्माणको कामहरू प्रभावकारी नै भइरहेको छ । जनप्रतिनिधिको रूपमा गाउँपालिकामा आइसकेपछि हामीले गरेका विकास निर्माणका कामहरु प्रभावकारी नै भएका छन् । विकास राम्रो भएकाले जनताहरू मसँग खुसी छन् । विकास निर्माणको काम प्रभावकारी भएर जनताको आवश्यकता पुरा भयो भने त्यो नै मेरो लागि सन्तुष्टि हो ।

तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ?

ठुलो उद्योग त हाम्रो पालिकामा छैन । यहाँ गरिने प्रमुख पेसा भनेको खेतीकिसानी नै हो । केही कृषकहरूले भने कुखुरापालन, बाख्रापालनजस्ता कामहरू पनि गरिरहेका छन् । पालिकामा केही हाइड्रोपावरहरु पनि सञ्चालनमा आएका छन् । पालिकामा होटल व्यवसाय पनि सञ्चालनमा आएका छन् । क्रसर उद्योग पनि गाउँपालिकामा रहेको छ ।

सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ?

सामान्य ढुङ्गा, गिट्टी, बालुवाजस्ता व्यवसायहरूबाट कर सङ्कलन हुने गरेको छ ।

तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?

अबको ५ वर्ष भित्रमा गाउँपालिकाको ८० प्रतिशत भूभाग जङ्गलले घेरेको तथा हरियाली भएको बनाउने योजना रहेको छ । सकेसम्म गाउँपालिकामा सबै सडकलाई ग्राबेल गर्ने हो । स्वास्थ्य तथा शिक्षालाई राम्रो बनाउने हो । कृषिलाई आधुनिकीकरण गर्ने पनि मेरो योजना छ । यसका साथै पूर्वाधार विकासमा पनि हामीले जोड दिएका छौं । जनताको इच्छा र चाहना पुरा गर्ने योजना पनि मैले बनाएको छु ।

गाउँपालिकामा नागरिकहरू प्रायः कस्ता समस्या लिएर आउने गरेका छन् ?

व्यक्ति अनुसारको समस्या आउने गरेको छ । धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । कोही शिक्षा क्षेत्रका समस्या लिएर आउँछन् भने कोही चाहीँ विकास निर्माणको समस्या लिएर आउँछन् । तरपनि त्यस्ता समस्याहरूलाई समाधान गरेर मात्र हामी अगाडि बढ्ने गरेका छौं ।

प्रदेश तथा केन्द्र सरकारसँग कस्तो समन्वय भइरहेको छ ?

पार्टी अनुसारको केन्द्र र प्रदेश सरकारबाट बजेट आउने गर्छ । प्रदेश र केन्द्रबाट ठुलो योजना त पालिकामा पर्न सकेको छैन । तर पनि सामान्य विकास निर्माणको काममा भने हाम्रो समन्वय भइरहेकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.