मेरो सेयरमा थपियो दुई वटा अत्याधुनिक सर्भर, आईपीओ भर्न छुट्टै वेबसाइट होला ?

  २०७७ चैत २० गते १०:००     मञ्जरी पौडेल

काठमाडौं । मेरो सेयरमा थप दुई वटा अत्याधुनिक सर्भर जडान गरिएको छ । लगानीकर्ताको चाप बढेसँगै अघिल्लो सर्भरले नधानेपछि सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी) ले थप दुई वटा अत्याधुनिक सर्भर जडान गरेको हो ।

मेरो सेयरमा सेवाग्राहीको चाप बढ्ने क्रमसँगै विभिन्न प्राविधिक समस्याहरु देखापर्दै आएको थियो । जसको समाधानको लागि सिडिएसले गत चैत १७ गते थप सर्भर जडान गरेको हो । आकस्मिक रुपमा थप सर्भर जडान गर्नुपर्ने भएको र डाटा माईग्रेसन गर्न केही समय लाग्ने भएकाले सो दिन बेलुका ८ बजेपछि मेरो सेयरको सेवा अवरुद्ध भएको थियो ।

यससँगै यसअघि प्रोसेसिङ्गमा जुन समस्या आउने गर्थ्यो, त्यसको समाधान नयाँ सर्भरले गर्ने सिडिएसका प्रमुख कार्यकारी अधिृकत (सीईओ) पूर्णप्रसाद आचार्यले बताए ।

‘हामीले भित्री सिष्टममा सँधै केहि न केहि परिवर्तन गरिरहेका हुन्छौं, अहिले पावरफुल सर्भर हालेको हो, जसले पहिला प्रोसेसिङ्गमा जुन समस्या थियो त्यसको समाधान गर्छ भन्ने विश्वास छ’, सीईओ आचार्यले विकासन्युजसँग भने ।

बीचमा पनि सर्भर थप्दै आएको सिडिएसले नयाँ सर्भर इन्स्टल गर्ने क्रममा पनि सानोतिनो समस्या आइरहेको बताएको छ । डाटा सर्भरको क्यापासिटी बढाएको र सो स्टेबल हुन समय लाग्ने संस्थाले जानकारी गराएको छ ।

‘प्राविधिक क्षेत्रमा समस्याहरु धेरै आउँछन् । अहिले सर्भर साइडको समस्या समाधान गरेका हौं । नयाँ थपिएको सर्भरको पनि रेस्पोन्स कस्तो हुन्छ हेरौं । अन्य खालको समस्या हो भने भन्न सकिन्न तर, सर्भरको मात्रै समस्या हो भने अब त्यस्तो हुँदैन,’ उनले भने ।

तर, कहिलेकाहीँ धेरैले एकैपटक लोड गरे भने त्यो समस्या यथावत हुने उनी बताउँछन् । जुन इन्टरनेटको समस्याले पनि हुन सक्ने उनको भनाई छ ।

त्यस्तै, सिडिएसले सर्भरको मात्र नभई सफ्टवेयरको क्षमता बढाउन पनि जोड दिईरहेको छ । यदि नयाँ सर्भरले समस्या समाधान गरेन भने सफ्टवेयरकै क्षमता पनि बढाउनु पर्ने देखिन्छ ।

‘सुधार गर्नुपर्ने अरु धेरै काम बाँकी छ । जस्तै, इन्टरनेटहरुले पनि यसलाई डिस्टर्ब गर्छ । सफ्टवेयरको पनि क्यापासिटीमा भर पर्छ । सफ्टवेयरको केही समस्या हो भने त्यसलाई अपग्रेड गराउनु पर्छ । तर आईटी टीमका अनुसार अहिलेलाई सफ्टवेयरमा केही समस्या छैन । यदि रहेछ भने पनि त्यसमा काम हुनेछ,’ उनले थपे ।

सीईओ आचार्य

सफ्टवेयरको क्षमता कम भएर र सर्भरमा अधिकतम चाप परेको कारणले मात्रै मेरो सेयरमा समस्या देखिन्छ भन्नु गलत तर्क हो । कहिले काहिँ इन्टरनेटको कारणले पनि समस्या देखिने सिडिएसले बताएको छ ।

‘हिजो अस्ति अर्थात पछिल्लो समय समस्या आएको इन्टरनेटको कारणले हो । सर्भरमा इन्टरनेटको एक्सेस् नभएर उक्त समस्या देखिएको हो । विभिन्न प्रविधि (जस्तै, सर्भर, सफ्टवेयर, नेटवर्किङ्ग) सँग एक आपसमा जडान हुने भएकोले कहिले कहाँ समस्या देखिन्छ, कहिले कहाँ । सँधै एउटै खालको समस्या आउँदैन । जस्तै, कहिले डाटाबेसमा समस्या आउँछ । कहिले मेरो सेयरको सर्भरमा समस्या त कहिले इन्टरनेटमा समस्या आउँछ । यी सबैलाई ध्यानमा राख्दै समाधान गर्दै आइरहेका छौं’, आचार्यले भने ।

के आईपीओ भर्नका लागि छुट्टै वेवसाइटको सुविधा होला ?

सिडिएसले हालै मात्रै आईपीओको रिजल्ट हेर्न छुट्टै वेवसाइटको व्यवस्था गरेको छ । यससँगै, लगानीकर्ताले ज्योति लाइफ इन्स्योरेन्सको आईपीओको नतिजा सजिलै हेर्न पाएका थिए ।

आईपीओ रिजल्ट हेर्ने जस्तै आईपीओ भर्नको लागि पनि छुट्टै वेवसाइट भईदिए मेरो सेयरमा चाप कम पर्थ्यो कि भन्ने आम लगानीकर्तालाई लागिरहेको छ । जसले गर्दा सेयर राफसाफ गर्दा पनि समस्या आउँदैन कि भन्ने अनुमान छ ।

तर सिडिएससीका सीईओ आचार्य भने आईपीओ रिजल्ट हेर्न जस्तै आईपीओ भर्नको लागि पनि छुट्टै वेवसाइट नहुने बताउँछन् । बैंक इन्टिग्रेसनदेखि लिएर सबै डाटा लिंक हुने भएको कारणले गर्दा छुट्टै वेवसाइटबाट जान नमिल्ने उनले बताए ।

तर लगानीकर्तालाई सहज भने हुने

आईपीओ भर्नको लागि छुट्टै वेवसाइट नभएपनि लगानीकर्तालाई सहज हुने गरी सिडिएसले नयाँ व्यवस्था गर्दै छ । संस्थाले आईपीओ भर्न र ईडीआईएस गर्नको लागि छुट्टा छुट्टै रुटको व्यवस्था गर्ने भएको छ ।

‘हामीले सेयर भर्न र ईडीआईएस गर्न अफ्ठ्यारो नहुने गरी त्यसलाई छुट्टै रुट दिने व्यवस्था गर्दैछौं । जुन अहिले आईपीओ रिजल्ट हेर्ने जस्तो छुट्टै देखिने भने हुँदैन । यसको लागि आन्तरिक आर्टिटेक्चरमा चेञ्ज ल्याउनुपर्छ । भन्नाले इन्टरनल सिष्टममै कस्टोमाइज गरिने छ,’ उनले भने ।

अहिले आईपीओ भर्न र ईडीआर्ईएस गर्नको लागि जाने रुट एउटै छ । त्यसलाई सेग्रिगेट गरेर छोडियो भने अहिलेको समस्याको ३० प्रतिशतसम्म समाधान हुने देखिएकोले सिडिएसले नयाँ व्यवस्था गर्न लागेको हो । जसको लागि आन्तिरिक सफ्टेवेयरमै परिवर्तन ल्याउनुपर्छ ।

‘छुट्टै रुट भयो भने आईपीओको पार्टमा हेभ्भी ट्राफिक भयो भने ईडीआईएस तर्फ समस्या नहुने गरी बाटो फरक बनाइदिने व्यवस्था गरेका हौं । यसले ३० प्रतिशतसम्म अहिलेको समस्यालाई समाधान गर्ने आईटीका कर्मचारी बताउँछन्’, आचार्यले थप प्रष्ट पार्दै भने ।

साथै, यो व्यवस्था यथासिघ्र छिटो लागू गराउने तयारी सिडिएस रहेकाे छ ।

अन्य के के गर्दै छ सीडीएस ?

‘डेक्टपबेसड सीडासलाई वेवबेस्ड बनाइसकेको छ । भारतबाट खरिद गरेको सीडास र सीएनएसको सफ्टवेयर अपग्रेडेशनको लागि हामीले यथाशिघ्र छिटो एग्रीमेन्ट गर्दै छौं । जसको लागि प्रपोजल पनि प्राप्त भइसकेको छ’, आचार्यले भने ।

यसको मतलब संस्थाले रेकर्ड राख्ने डाटाबेसका क्षमता बढाउन अपग्रेडेशनको प्रकृया अघि बढाएको छ । अहिले डिम्याट खाता लिनेको संख्या दिनानुदिन बढ्दै गएको र त्यसको क्षमता बढाउनको अपग्रेडेशन गर्न लागेको हो ।

अर्को, सिडिएसले केन्द्रीकृत डिजिटल ग्राहक पहिचान विवरण (सेन्ट्रलाइज्ड डिजिटल केवाईसी) को सफ्टवेयर  अपग्रेडेशनको लागि डिलिङ्ग गर्दैछ । यो सेवा शुरु भएसँगै लगानीकर्ताले एउटै खालको विवरण अन्य नयाँ कम्पनीमा पेश गरिरहनु पर्ने झण्झट हुँदैन ।

साथै, यसले थाहा नै नदिई अर्काको अकाउन्ट ह्याडिल गरि सेयर कारोबार गर्ने तथा फ्रड गर्नेहरुलाई नियन्त्रण गर्न सहयोग पुग्ने सीईओेले बताए ।

सम्बन्धित समाचार

मेरो सेयरमा केहि दिन समस्या देखिने, सिडिएस भन्छ- यसरी लिनुस् सेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.