काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले प्रस्तावित २९.२३१ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो ।
सभाले आ.व. २०७७/७८ मा बाँडफाँड गरिएको हकप्रद सेयरपश्चात कायम हुने सेयर पुँजीमा २७.७६९ प्रतिशत हुने बोनस सेयर र साे बोनस सेयरको कर प्रयोजनार्थ आ.व. २०७७/७८ मा बाँडफाँड गरिएको हकप्रद सेयर पश्चात कायम हुने सेयर पुँजीमा १.४६२ प्रतिशत हुने) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हाे ।
प्रस्तावित बोनस सेयर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजीमा संस्थापक सेयरधनीको हिस्सा घटेको छ भने सर्वसाधारणको बढेको छ । संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याएको छ । यससँगै कम्पनीको संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम भएको इन्स्योरेन्सले जनाएको छ ।
त्यसैगरी, बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्ता पुँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ ।
कम्पनीको सभाले अधिकृत पुँजी वृद्धि गरी ४ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गरेको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संसोधन गर्ने अजेण्डा पारित भएको छ ।

कम्पनीले आज (चैत ९ गते) १५औं र १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ गरी दुवै वर्षको वार्षिक साधारणसभा थापाथलीस्थित कम्पनीको आफ्नै मुख्य कार्यालय भवन शिखर बिज सेन्टर परिसरमा सम्पन्न गरेको हो ।
संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । साथै, सभाले दुबै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण उपर छलफल गरी सोलाई समेत पारित गरेको छ ।
यसैगरी, साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूह ‘ख का सेयरधनीबाट २ जना संचालकका लागि निर्वाचित भएका छन् ।
यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले कम्पनीलाई नयाँ उचाई दिने र अझ प्रतिफलमुखी बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।