टेलिकमले घोषणा गर्यो हालसम्मकै थोरै लाभांश

  २०७७ फागुन १९ गते १४:०२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई हालसम्मकै थोरै लाभांश वितरण गर्ने भएको छ । टेलिकमले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन हालसम्मकै घटी लाभांश हो ।

फागुन १९ गते बसेको कम्पनीको सञ्चालक समितिले गत आवको नाफाबाट सेयरधनीलाई प्रतिसेयर ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल सरकारले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

प्रस्तावित लाभांश गत ९ वर्ष (अर्थात २०६७/६८ देखि) यताकै कम लाभांशदर हो । यो अवधिमा कम्पनीले अधिकतम ५५ प्रतिशत र न्युनतम ४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । तर, यो पटक भने कम्पनीले ४० प्रतिशत मात्रै नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हरेक वर्ष सेयरधनीलाई नगद लाभांश खुवाउँदै आएको कम्पनीले याे पटक लाभांशदर घटाएकाे छ । नाफा घटेसँगै कम्पनीले लाभांशदर पनि घटाएकाे हाे ।

गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको दोस्रो त्रैमासको नाफा भने घटेको छ । गत आवको दोस्रो त्रैमासमा ४ अर्ब ९३ कराेड नाफा गरेकाे कम्पनीले चालु आवकाे साे अवधिमासम्ममा ३ अर्ब ३२ कराेड रूपैयाँ मात्रै नाफा गरेकाे छ । कम्पनीले कोरोना भाइरसको महामारीका कारण नाफा घटेको बताएको छ । बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको प्रथम त्रैमासिकको तुलनामा चालु आवको सोहि अवधिमा घट्न गएको हुँदा व्याज आम्दानीमा पनि करिब  २० करोड ७४ लाखले आएको कमी आएको कम्पनीले बताएकाे छ ।

महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गरिएको हुँदा जीएसएम सेवा तर्फ अघिल्लो आव को प्रथम त्रैमासिकको तुलनामा डाटाको कन्जम्सन बढेतापनि राजश्वमा आएको कमी र काेराेना महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको अभुतपूर्व गिरावट तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा आएको भारी गिरावट आएकाे बताएकाे छ ।

सम्बन्धित समाचार

नेपाल टेलिकमको नाफा घट्यो, यस्तो छ कारण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.