नयाँ डेपुटी गभर्नरः भट्ट बन्धुको बढ्यो सम्भावना, इतिहास रच्लिन् त तिम्सिनाले ?

<p>काठमाडौं । आज (फागुन १८ गते) देखि नेपाल राष्ट्र बैंकको दुबै डेपुटी गभर्नर पद रिक्त हुँदैछ । डेपुटी गभर्नरहरु चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्ष कार्यकाल आज सकिएकोले दुबै पद रिक्त भएको हो । नेपाल राष्ट्र बैंकमा २ जना डेपुटी गभर्नर गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले नियुक्त गर्ने प्रावधान छ । राष्ट्र बैंकमै विशिष्ट श्रेणी (कार्यकारी [&hellip;]</p>

काठमाडौं । आज (फागुन १८ गते) देखि नेपाल राष्ट्र बैंकको दुबै डेपुटी गभर्नर पद रिक्त हुँदैछ । डेपुटी गभर्नरहरु चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्ष कार्यकाल आज सकिएकोले दुबै पद रिक्त भएको हो ।

नेपाल राष्ट्र बैंकमा २ जना डेपुटी गभर्नर गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले नियुक्त गर्ने प्रावधान छ । राष्ट्र बैंकमै विशिष्ट श्रेणी (कार्यकारी निर्देशक) पदमा कार्यरत कर्मचारीबाट डेपुटी गभर्नर नियुक्त गर्ने कानुनी प्रावधान छ ।

अहिले नेपाल राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक छन् । त्यसैले डेपुटी गभर्नरको लागि यी १७ जना नै प्रतिस्पर्धी हुन् । तर, मन्त्रिपरिषदले नियुक्त गर्ने पद भएकोले डेपुटी गभर्नर बन्नको लागि सत्तारुढ दल, प्रधानमन्त्री र अर्थमन्त्रीसँग राम्रो सम्बन्ध भएको व्यक्तिका लागि सहज हुने गर्छ ।

राष्ट्र बैंकमा भुवन कडेल, डा. नेफिल मताङ्गी मास्के, डा. निलम ढुंगाना तिम्सिना, देवकुमार ढकाल, मुकुन्द क्षेत्री, पिताम्बर भण्डारी, ऋषिकेश भट्ट, प्रदीपराज पौडेल, डा. गुणाकर भट्ट र नरेश शाक्य कार्यकारी निर्देशक पदमा छन् । यस्तै, सुमनकुमार अधिकारी, डा. प्रकाश कुमार श्रेष्ठ, बमबहादुर मिश्र, रेवती नेपाल, रामु पौडेल, विश्रुत थापा र रामबहादुर मानन्धर पनि कार्यकारी निर्देशक पदमा नै छन् ।

भट्ट बन्धुको बढ्यो सम्भावना !

डेपुटी गभर्नरको लागि सत्तारुढ दल, प्रधानमन्त्री र अर्थमन्त्रीसँग निकट कार्यकारी निर्देशकका लागि बढी सहज हुने गर्छ । सत्तारुढ नेकपामा अहिले राजनीतिक रुपमा विभाजन भएर दुईटा पार्टी बनिसकेको छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपासँग नजिक भएका कार्यकारी निर्देशकबाट डेपुटी गभर्नर नियुक्त हुने आकलन गरिएको छ ।

तर, यसअघिको संबैधानिक परिषदका पदाधिकारी नियुक्तिमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकटका व्यक्तिहरुलाई पनि समेटेकोले डेपुटी गभर्नरमा पनि एकजना नेपाली काँग्रेसको सिफारिसका कार्यकारी निर्देशक पर्न सक्ने अड्कलबाजी गरिएको छ । केही दिनअघि मात्रै प्रधानमन्त्री ओलीले हिमालयन टेलिभिजनका लागि ‘यक्ष प्रश्न’ कार्यक्रममा प्रस्तोता राजेन्द्र बानियासँग कुरा गर्दै लोकतान्त्रिक शक्तिले मात्रै नियुक्तिमा अवसर पाउनु पर्ने बताएका थिए । प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिले पनि नेकपाकै अर्काे समूहको निकट भनेर चिनिएका व्यक्तिहरुले अवसर पाउने सम्भावना कम रहेको संकेत गर्छ ।

प्रतिनिधिसभा पुनस्थापनापछि प्रधानमन्त्री ओली र उनको समूहलाई सरकारबाट हटाउन नेकपाकै दाहाल नेपाल समूह लागिपरेको छ । यस्तो परिस्थितिमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग सम्बन्ध बढाएको राजनीतिक अड्कलबाजी गरिएको छ । यो अड्कलबाजी जस्तै प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच सम्बन्ध कायम भएको भए काँग्रेस निकट भनेर चिनिएका एक जना कार्यकारी निर्देशकले डुपटी गभर्नर पद पाउने सम्भावना रहन्छ ।

कार्यकारी निर्देशकहरु मुकुन्द क्षेत्री, पिताम्बर भण्डारी, ऋषिकेश भट्ट, प्रदीपराज पौडेल, डा. गुणाकर भट्ट, नरेश शाक्य, विश्रुत थापा र रामबहादुर मानन्धर काँग्रेस निकट भनेर चिनिन्छन् ।

यी कार्यकारी निर्देशकमध्ये क्षेत्री चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनी वरियताको ५औं नम्बरमा छन् । गभर्नर महाप्रसाद अधिकारीले सिएलाई बढी काखी च्यापेको आरोप राष्ट्र बैंकभित्रै लाग्ने गरेको छ । केही समययता एकजना सिएलाई डेपुटी गभर्नर बनाउने गरिएको पनि छ । काँग्रेस निकट भनेर चिनिएका, वरिष्ठतामा ५औं स्थानमा रहेका र सिए पनि भएकोले क्षेत्रीको सम्भावना पनि छ । काँग्रेस निकट भनेर चिनिएका अर्का कार्यकारी निर्देशक थापा पनि सिए नै हुन् । उनी वरिष्ठतामा १६औं स्थानमा छन् ।

तर, स्रोतले भने भट्ट बन्धुको सम्भावना अधिक रहेको दाबी गरेको छ । काँग्रेस सभापति देउवाले ऋषिकेश भट्टलाई बचन दिन सक्ने आकल गरिएको छ । अर्का कार्यकारी निर्देशक डा. गुणाकर भट्ट पनि काँग्रेस निकट भनेर चिनिन्छन् । उनी सुदुरपश्चिम क्षेत्रमा पनि भएकोले देउवाले डा. भट्टलाई अघि बढाउन सक्ने आकलन पनि गरिएको छ ।

काँग्रेस निकट भनेर चिनिएका कार्यकारी निर्देशक नरेश शाक्यको सम्भावना पनि बलियो रहेको स्रोतहरुको दाबी छ । प्रधानमन्त्री ओलीपत्नी राधिका शाक्यसँग उनको सम्बन्ध सुमधुर रहेकोले नरेश शाक्यले डेपुटी गभर्नर पद पाउन सक्ने अड्कवाजी पनि छ ।

इतिहास रच्लिन् तिम्सिनाले ?

प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले आफ्नो समूह नेकपा निकट कार्यकारी निर्देशकलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने सम्भावना बलियो छ । यस्तो अबस्थामा नेकपा निकट भनेर चिनिएका भुवन कडेल, डा. निलम ढुंगाना तिम्सिना, देवकुमार ढकाल, सुमन कुमार अधिकारी, डा. प्रकाश कुमार श्रेष्ठ, बमबहादुर मिश्र, रेवती नेपाल र रामु पौडेल स्वभाविक रुपमा प्रतिस्पर्धी बन्नेछन् ।

यी कार्यकारी निर्देशकमध्ये कडेल सिए हुन् । तर, उनी नेकपाकै अर्काे समुह पुष्पकमल दाहाल प्रचण्ड निकट रहेको दाबी स्रोतहरुले गरेका छन् । उनी वरिष्ठताको पहिलो स्थानमा छन् ।

वरिष्ठताको तेस्रो स्थानमा रहेकी तिम्सिना राष्ट्रपति विद्यादेबी भण्डारी निकट रहेको स्रोतले जनाएको छ । उनी नेपाल राष्ट्र बैंकमा कार्यरत अहिलेका १७ जना कार्यकारी निर्देशकमध्ये एक्ली महिला हुन् । उनी डेपुटी गभर्नर बनेमा सम्भवतः नेपाल राष्ट्र बैंकको इतिहासमै पहिलो पटक डेपुटी गभर्नर बन्ने महिला भएर इतिहास रच्नेछिन् ।

वरिष्ठताको चौंथो स्थनामा रहेका ढकाल डेपुटी गभर्नरको बलियो दाबेदारको रुपमा हेरिएको छ । उनी गभर्नर महाप्रसाद अधिकारीसँग कुनै बेला सँगै पढेको बताइन्छ । गभर्नर अधिकारीले ढकाललाई राष्ट्र बैंकको सबैभन्दा महत्वपूर्णमध्ये मानिने नियमन विभागको प्रमुखको जिम्मेवारी दिएका छन् । यसअघि अधिकारी डेपुटी गभर्नर बनेको बेलामा ढकाललाई जनरल लेजर (जीएल) सफ्टवयर खरिद गरी कार्यान्वयन गर्ने परियोजनाको प्रमुखको जिम्मेवारी दिइएको थियो । यद्यपि, सो सफ्टवयर खरिदमा नियम अनुसार लाग्ने कर नबुझाइएको भन्ने विवाद पनि भएको थियो । ढकाल अहिलेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालका नजिकका नातेदार पनि हुन् । मन्त्री ढकाल प्रधानमन्त्री ओलीका एक विश्वासपात्र पनि हुन् ।

डेपुटी गभर्नरको अर्काे बलियो प्रत्यासीका रुपमा डा. प्रकाश कुमार श्रेष्ठलाई लिइएको छ । अहिले उनी अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आर्थिक सल्लाहकारको जिम्मेवारीमा पनि छन् । अर्थमन्त्री पौडेल प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाको महासचिव पनि हुन् । अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार बन्नुअघि डा. श्रेष्ठ लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्ष थिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि प्रधानमन्त्री ओलीका विश्वासपात्र र प्रमुख नेतामध्ये पर्छन् ।

झापा घर भएका बमबहादुर मिश्र पनि डेपुटी गभर्नरको अर्काे बलियो प्रत्यासीको रुपमा हेरिएको छ । प्रधानमन्त्री ओलीको गृहजिल्लाका मिश्र डेपुटी गभर्नरको प्रतिस्पर्धामा अग्रस्थानमै रहेको स्रोतहरुले दाबी गरेका छन् ।

यद्यपि, गभर्नरले अर्थमन्त्रीलाई सिफारिस गर्ने र अर्थमन्त्रीले नाम प्रस्ताव गरेको आधारमा मन्त्रिपरिषदले डेपुटी गभर्नर नियुक्त गर्ने भएकोले अहिलेका १७ जना कार्यकारी निर्देशक नै डेपुटी गभर्नर बन्नका लागि योग्य छन् । त्यसैले सरकारले जसलाई चाह्यो उसैलाई नियुक्त गर्न सक्ने सम्भावना छ ।

Share News