विकासन्युज समाचार प्रभावः डिम्याट खाता दुरुपयोग रोकियो, अब कसरी हेर्ने आईपीओ रिजल्ट?

  २०७७ फागुन १३ गते १४:४३     विकासन्युज

काठमाडौं । अबदेखि साधारण सेयर (आईपीओ) रिजल्ट छिट्टै दिने नाममा सर्वसाधारणको डिम्याट खाता दुरुपयोग रोकिने भएको छ । अहिलेसम्म आईपीओ रिजल्टका नाममा सेयर लगानीसँग कुनै साइनो सम्बन्ध नै नभएका विभिन्न वेबसाइटहरुलाई डिम्याट खाता दिएर दुरुपयोग गर्ने गरिइएको थियो ।

विभिन्न वेबसाइटहरुले आईपीओको रिजल्ट सार्वजनिक गर्दै आएकोले सिडिएस एण्ड क्यिरिङ (सीडीएससी) ले अबदेखि त्यस्ता वेबसाइटलाई आईपीओ रिजल्ट प्रकाशित गर्नमा रोक लगाएको हो । अहिलेसम्म आईपीओ जारी हुँदाको समयमा इस्यू म्यानेजरले आईपीओ भर्ने सबैको डिम्याट खाता नम्बर अनधिकृत वेबसाइटहरुलाई दिँदै आएका थिए ।

सरोकार नै नभएका संस्थालाई आईपीओको रिजल्ट उपलब्ध गराउनु गैरकानुनी हो, यसलाई रोक्नुपर्छ भन्दै विकासन्युजले गत माघ १७ गते ‘भिष्म सर ! तपाईंलाई निफ्राको आईपीओ कति कित्ता पर्‍यो ?’ शीर्षकमा विषय उठान गरेको थियो । त्यसपछि यो विषयमा अधिकांशको ध्यान गई सम्बन्धित नियामक निकायले समेत यसलाई प्राथमिकतामा राखेर नयाँ व्यवस्था गरेको हो ।

सेयर लगानीसँग साइनो सम्बन्ध नै नभएका विभिन्न वेबसाइटहरुलाई आईपीओको रिजल्ट दिने नाममा सर्वसाधारणको डिम्याट खाता दिँदा लगानीकर्ताको सम्पत्तिको सुरक्षा नहुने भएकोले अबदेखि त्यस्ता वेबसाइटले डिम्याट खाता नपाउने र रिजल्ट प्रकाशन गर्न नपाउने व्यवस्था गरिएको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आर्चायले बताए ।

डाटाको सेक्यिुरीटी गर्ने जिम्मेवारी सीडीएससीको हो । र, कानुनले पनि नियामक निकायबाट माग गरेभन्दा बाहेकलाई डिम्याट नम्बर दिन नमिल्ने भन्ने तोकिएकाले असम्बन्धित वेबसाइटलाई त्यस्ता खाता उपलब्ध गराउने कार्य बन्द गरिएको उनी बताउँछन् ।

‘डिम्याट नम्बर गोप्य हुनुपर्छ । सम्पत्तिको सुरक्षा भएन भनेर लगानीकर्ताबाट व्यापक गुनासो आएकोले हामीले यो व्यवस्था लागू गरेका हौं । अहिलेलाई अब तीन वटा निकायबाट मात्रै आईपीओको रिजल्ट हेर्न पाउने व्यवस्था गरेका छौं । जसमा एउटा सेयर निष्काशन गर्ने कम्पनी, दोश्रो, कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक र अर्काे, सीडीएससीले मात्रै आईपीओको रिजल्ट प्रकाशन गर्न पाउने छन् । र, लगानीकर्ताले यी तीनवटा माध्यमबाट मात्रै रिजल्ट हेर्न पाउने छन्, विकासन्युजसँग कुरा गर्दै सीईओ आर्चायले भने ।

साथै, यो नयाँ व्यवस्था भोलिदेखि नै लागू हुने छ ।

‘हामीले गरेको नयाँ व्यवस्था भोलि (फागुन १४ गते) देखि नै लागू हुने छ । भोलि महिला लघुवित्तको आईपीओ बाँडफाँड गर्न लागेको एसबीआई मर्चेन्ट र संस्था दुबैलाई निर्देशन दिईसकेका छौं’, उनले भने ।

यससँगै, भोलि बाँडफाँड हुने महिला लघुवित्तको आईपीओको रिजल्ट लगानीकर्ताले महिला लघुवित्त, बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट र सीडीएससी अर्थात ‘मेरो सेयर’बाट मात्रै हेर्न पाउने छन् । साथै, आगामी दिनमा सीडीएससी कै सिष्टमको क्लाउडबाट हेर्न मिल्ने व्यवस्था गर्ने तयारीमा सीडीएससी छ ।

‘हामीले योभन्दा पृथक खालको सिस्टम बनाउँदै छौं । यो गुगलको क्लाउडमा राखेपछि जति मान्छेले एक्सेस गर्दा पनि ह्याङ अर्थात समस्या नआउने गरी व्यवस्था गर्न छलफल शुरु गरेका छौं । तत्काल होइन । प्रकृया अघि बढ्दै छ । कार्यान्वयनमा आउन केही समय लाग्छ’, उनले भने ।

सम्बन्धित सामग्री

भिष्म सर ! तपाईंलाई निफ्राको आईपीओ कति कित्ता पर्‍यो ? ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.