भिष्म सर ! तपाईंलाई निफ्राको आईपीओ कति कित्ता पर्‍यो ?

  २०७७ माघ १७ गते १३:५५     शिव सत्याल

काठमाडौं । भिष्म सर ! हामी समाचारमा ‘तिमी’ सम्बोधन गर्छाैं । तर, यहाँ ‘तपाईं’ सम्बोधन गर्दैछु । किनभने यहाँ केही नितान्त व्यक्तिगत कुरा गर्न मन लागेको छ ।

अचम्म मान्नुभयो होला । सार्वजनिक माध्यमबाट नितान्त व्यक्तिगत कुरा भनेर । न रिसाउनुस् है । पख्नुस् न सर ! विषय नै यस्तै छ ।

हो, मैले भिष्म सर भनेर नेपाली पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष भिष्मराज ढुंगानालाई नै सम्बोधन गर्दैछु ।

भिष्म सर ! नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ तपाईंलाई कति कित्ता पर्‍यो ?

मलाई थाहा छ, निफ्राको आईपीओ भर्नेमध्ये नियमपूर्वक ५० कित्तासम्म माग्नेलाई मागे जति पर्‍यो । त्योभन्दा बढी माग्नेहरुलाई बढीमा ६० कित्तासम्म पर्‍यो । तर, मलाई जान्न मन लागेको छ, तपाईंलाई कति कित्ता पर्‍यो ?

निफ्राको आईपीओ कति कित्ता पर्‍यो भन्ने जवाफ दिएपछि अर्काे पनि जवाफ दिनुस् न सर । तपाईंको डिम्याट कुन डिपीमा छ ? डिम्याट नम्बर कति हो ? तपाईंको श्रीमतीको डिम्याट नम्बर कति हो ? तपाईंको छोरी र ज्वाइको डिम्याट नम्बर कति हो ? तपाईंको परिवार, आफन्त, इष्टमित्र र नातागोता तथा नजिकका व्यक्तिहरुको डिम्याट नम्बर कति हो ? कुन डिपीमा डिम्याट खोलेको छ ?

भिष्म सर, तपाईंलाई निफ्राको कति कित्ता सेयर पर्‍यो भन्ने जानकारी कहिले पाउनु भयो ? हिजो (माघ १६, २०७७) बिहान १० बजे निफ्राको इस्यू म्यानेजर एनआइबिएल एस क्यापिटलले आईपीओ बाँडफाँड गर्यो । हिजो राति १० बजेसम्म मलाई निफ्राको आईपीओ कति कित्ता पर्‍यो भन्ने थाहा थिएन । तर, म बेलुका साढे ६ बजेतिर घर पुग्दा श्रीमतीले भन्दै थिइन्, तपाईंलाई त ६० कित्ता परेछ भनेर ।

मलाई निफ्राको आईपीओ कति कित्ता परेछ भन्ने जानकारी आज (१७ माघ) बिहान मात्रै पाएँ । आज बिहान ‘मेरो सेयर’मा मलाई निफ्राको कति कित्ता सेयर पर्यो भन्ने जानकारी राखिएको थियो । तर, मेरी श्रीमतीले दिउँसै थाहा पाइछन् । उनले जानकारी पाएको ‘गुगलमा आईपीओ रिजल्ट सर्च गरेर’ रहेछ ।

भिष्म सर ! गुगलमा आईपीओ रिजल्ट सर्च गर्दा ८/१० वटा वेबसाइट मार्फत जानकारी पाइँदो रहेछ । कुन कुन वेबसाइटमा रहेछ भन्ने जानकारी तपाईं आफै पनि खोज्न सक्नुहुन्छ ।

तर, भिष्म सर, तपाईं कार्यकारी अध्यक्ष रहनु भएको पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको वेबसाइटमा निफ्राको आईपीओ कति कित्ता पर्‍यो भनेर हेर्न सकिदैनथ्यो । आईपीओ जारी गर्ने कम्पनी नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको वेबसाइटमा पनि यस्तो जानकारी थिएन । पुँजी बजारसँग सम्बन्धित निकाय सिडिएसको वेबसाइटमा पनि थिएन । ‘मेरो सेयर’मा त आज बिहान मात्रै देखायो भनिहालेँ । इस्यू म्यानेजर एनआइबिएल एस क्यापिटलको वेबसाइटमा पनि थिएन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा पनि थिएन ।

भिष्म सर! पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड, सिडिएस, नेप्से मात्रै होइन, आईपीओ जारी गर्ने कम्पनी नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक र इस्यू म्यानेजर एनआइबिएल क्यापिटलको वेबसाइटमा राख्न नसकिने आईपीओ रिजल्ट सोसँग सम्बन्ध र साइनो नै नभएका अनधिकृत त्यति धेरै वेबसाइटहरुले कसरी राख्न सके ? अरु वेबसाइटमा तत्काल राख्न सकिने विवरण आधिकारिक र सरोकारवाला निकायको वेबसाइटमा राख्न नसकिने कारण के हो ?

भिष्म सर ! म तपाईंसँग सार्वजनिक माध्यमबाट किन यसरी कुरा गरिरहेको छु भने यो विषय व्यक्तिगत गोपनीयताको हक, सम्पत्तिको हक र डेटा प्रोटेक्सन तथा डेटा सुरक्षासँग सम्बन्धित विषय हो । डिम्याट खाता जस्तो व्यक्तिगत र संवेदनशील सुचना सरोकार नै नभएकाहरुलाई किन दिइयो भन्ने मेरो प्रश्न हो ।

निफ्रामा १४ लाख ७५ हजार बढी लगानीकर्ताले आईपीओको लागि रितपूवर्क आवेदन दिएका थिए । यी सबै आवेदकले सेयर पाए । आईपीओ रिजल्ट चाढै दिने नाममा १४ लाख ७५ हजार नागरिकको डिम्याट खाता नम्बर सरोकार नै नभएकाहरुलाई दिइयो । भिष्म सर, यी १४ लाख ७५ हजार डिम्याट नम्बर अहिले बजारमा धेरैको पहुँचमा पुगेका छन् । के यो ठिक हो ?

भिष्म सर ! आईपीओ भर्नेहरुले चाँडै रिजल्ट थाहा पाउँन् भनेर गरिएको यस्तो कार्यले लगानीकर्ताको गोप्य सूचना बाहिरिएको छैन भन्ने तर्क तपाईंलाई सुनाउँलान् । डिम्याट नम्बर दिइएको भएपनि सो डिम्याट नम्बर कसको हो भन्ने जानकारी दिइएको छैन भन्लान् । हामीले डिम्याट खाता नम्बर र परेको आईपीओ संख्या दिएका मात्रै हौं भनेर तपाईंलाई कन्भिन्स गर्न खोज्लान् । अंक मात्रै पाएर कसैले केही गर्न सक्दैन, सबै अंक शुन्यदेखि १ हुँदै ९ सम्म र जिरोदेखि वान हुँदै नाइनसम्म त हो नि भनेर कुतर्क पनि गर्लान् ।

तर, भिष्म सर, तपाईं नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाउनुभएकाे व्यक्ति पनि हो । बैंक खाता नम्बर किन गोप्य राखिन्छ ? बैंकमा राखिएको रकम चेकबाट झिक्ने हो भने पहिला त चेक नै पाउनु पर्यो । दोस्रो, चेकमा हस्ताक्षर पनि मिल्नु पर्यो । एटीएमबाट निकाल्ने हो भने एटीएम कार्ड हुनुपर्यो, पिन नम्बर थाहा पाउनु पर्यो । तर, बैंक खाता नम्बर किन गोप्य राख्ने कानुनी व्यवस्था गरियो ? बैंक खाता अरुले थाहा पाउँदा हुने जोखिमभन्दा डिम्याट खाता नम्बर अरुले थाहा पाउँदा हुने जोखिम कसरी कम छ ?

भिष्म सर ! बैंक खाता अरुले थाहा पाउँदा हुने जोखिमभन्दा डिम्याट खाता नम्बर अरुले पाउँदा हुने जोखिम कम छ भन्ने मलाई पटक्कै लाग्दैन । किनभने डिम्याट नम्बर थाहा पाउने बित्तिकै डिपी कुन रहेछ भन्ने थाहा हुन्छ । उसको युजरनेम पनि थाहा हुन्छ । न पत्याए ‘मेरो सेयर’मा गएर हेर्नुस् न, तपाईको युजरनेम डिम्याट खाता नम्बरको अन्तिमका कतिवटा अंक राखिएको रहेछ भनेर ।

भिष्म सर, ‘आईपीओ रिजल्ट दिनेहरु’लाई इस्यू म्यानेजरले कुन डिम्याट खाता नम्बरलाई कति कित्ता आईपीओ पर्यो भनेर एक्सेलसीट बनाएर उपलब्ध गराउँदा रहेछन् । एक्सेलमा पाएको यो डेटा कति सहजै सर्टिङ गर्न सकिन्छ भन्ने जानकारी कम्प्युटरको सामान्य जानकारी भएको व्यक्तिलाई त हुन्छ भने तपाईं जस्तो नियामक निकायको प्रमुखलाई नहुने कुरै भएन ।

हिजो निफ्राको आईपीओ रिजल्ट राख्नेहरुले कुन डिपीमा कति कति नम्बरका कतिवटा डिम्याट खाता छन् भन्ने जानकारी पाए । किनभने डिम्याट खाता नम्बरको सबैभन्दा अगाडिका ५ वटा अंक डिम्याट खाता रहेको डिपीको कोड नम्बर हो । विश्वास लागेन भने तपाईंको डिम्याट खाता रहेको डिपीमा खाता खोलेका अरु कसैको डिम्याट खाता नम्बर हेर्नुस् त, अगाडिको ५ वटा अंक एउटै हुन्छ ।

डिम्याट खाता नम्बर हुने बित्तिकै डिपी कुन हो भनेर पत्ता लाग्ने भयो । ‘मेरो सेयर’को युजर नेम पनि थाहा हुने भयो । थाहा पाउन बाँकी रहेको एउटा कुरा पासवर्ड मात्रै हो । यति जानकारी सार्वजनिक हुँदा जोखिमको मात्रा कति बढ्यो भनेर तपाईंले नै अब महसुस गरिसक्नुभयो होला ।

भिष्म सर ! साइबर कानुनका ज्ञाता अधिवक्ता बाबुराम अर्याल व्यक्तिगत विवरण यसरी जसलाई पायो त्यसैलाई दिन मिल्दैन भन्छन् । व्यक्तिगत विवरण अन्य निकाय वा कम्पनीलाई दिन्छौं भन्ने सम्झौता सम्बन्धित व्यक्तिसँग गरेको बाहेक अवस्थामा यसरी विवरण छताछुल्ल पार्नु गैरकानुनी हुने उनको तर्क छ । डिम्याट खाता नम्बर व्यक्तिको गोप्य सूचना, सम्पत्ति पनि भएकोले यसको सुरक्षामा सम्झौता गर्न नसकिने उनको तर्क छ । तपाईं आफै पनि कानुनका ज्ञाताहरुसँग छलफल गर्न सक्नुहुन्छ ।

भिष्म सर ! म तपाईंसँग सार्वजनिक माध्यमबाट यति लामो कुरा किन गरिरहेको छु भने नि, तपाईं पुँजी बजार क्षेत्रमा सुधार र सहजीकरण गर्न हरसम्भव प्रयास गरिरहनु भएको छ । मैले तपाईंलाई निफ्राको कति कित्ता आईपीओ पर्‍यो, तपाईं र तपाईंका आफन्त, नातागोता तथा परिवारका सदस्यहरुको डिम्याट खाता नम्बर कति हो भनेर सार्वजनिक रुपमा सोध्दा तपाईंलाई पक्कै पनि झोक चलेका होला । हिजो निफ्राको आईपीओ कति परेछ भनेर ‘मेरो सेयर’ तथा धितोपत्र बोर्ड, नेप्से, सिडिएस, नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक र इस्यू म्यानेजर एनआइबिएल एस क्यापिटलको वेबसाइटमा हेर्दा नपाइने तर गुगलमा ‘आईपीओ रिजल्ट’ सर्च गर्दा ८/१० वटा वेबसाइटबाट हेर्न सकिने अवस्था देख्दा म खिन्न भएको थिएँ ।

भिष्म सर ! अन्तिममा म फेरि पनि बिनम्र अनुरोध गर्छु, तपाईं हामीले स्कूल पढ्दा जसरी एसएलसीको रिजल्टको लागि सिम्बोल नम्बर गोरखापत्रमा छापिन्थ्यो, आज आईपीओ रिजल्टको लागि त्यसैगरी डिम्याट खाता नम्बर छाप्ने परिपाटी रोकौं । व्यक्तिको गोपनीयताको हक, सम्पत्तिको हक, डेटा प्रोटेक्सन तथा डेटा सुरक्षाको सम्मान गरौं । तर, सम्बन्धित व्यक्तिले आईपीओ रिजल्ट तत्काल हेर्न पाउने अधिकारबाट भने बञ्चित गर्ने गरी नीतिगत निर्णय भने नगरिदिनुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.