दोहोरो अंकले बढ्यो नेप्से, चन्द्रागिरीसहित तीन कम्पनीको सेयर सर्किट लेभलमा किनबेच

  २०७७ फागुन १२ गते १५:३२     विकासन्युज

काठमाडौं । दिनभर तीव्र उतारचढाव देखिएको बजारमा अन्त्यमा दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार शुरुभएदेखि नै ओरालोको बाटो तय गरेको बजार अन्त्य तिरको समयमा भने संयमित भएको हो ।

बजार खुलेको केही समयमै बढेर २६२० बिन्दुमा पुगेको बजार त्यसपछिको केही मिनेटमै घटेर २४९८ बिन्दुसम्म झरेको थियो । जुन बुधबारको बजारमा न्युनतम बिन्दु हो । त्यसपछिको कारोबारमा भने परिसूचकलाई टेवा पुगेको छ । र अन्ततः नेप्से परिसूचक १२.५६ अंकले बढेर २५९९.०७ बिन्दुमा पुगेको छ ।

जुन अघिल्लो दिनको तुलनामा ०.४९ प्रतिशतले बढी हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.४० अंकले बढेर ४७०.३४ बिन्दुमा पुगेको छ ।

बजारमा नेप्से परिसूचकमा सुधार भएपछि सेयर कारोबार रकममा भने गिरावट देखिएको छ । मंगलबार ८ अर्ब माथिको सेयर कारोबार भएको बजारमा बुधबार भने ६ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर कारोबारमा गडबड भई केही समय कारोबार स्थगित भएपछि त्यसको असर कारोबार रकममा परेको हो ।

बुधबार २०४ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ५८ करोड २५ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा निफ्रा रहेको छ । कारोबार स्थिगित भएर खुलेको बजारमा पनि बैंकको ५५ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बुधबारको बजारमा तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा किनबेच भएको छ । सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मंगलबारको तुलनामा कम्पनीको सेयर मूल्य १०० रुपैयाँले बढेर प्रतिकित्ता ११ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, नेपाल फाइनान्सको ९.९७ प्रतिशत र चन्द्रागिरी हिल्सको ९.९४ प्रतिशतले बढेर सर्किट लेभलमा सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको सेयर मूल्य ३२ रुपैयाँले बढेर प्रतिकित्ता ३५३ रुपैयाँ पुगेको छ । त्यस्तै, चन्द्रागिरी हिल्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३१ रुपैयाँले बढेर प्रतिकित्ता ३४३ रुपैयाँ पुगेको छ ।

मंगलबार जस्तै बुधबारको बजारमा पनि बैंकको सेयर मूल्य घटेको छ । सो दिन बैंकको सेयर मूल्य ५.३९ प्रतिशतले घटेर प्रतिकित्ता ५६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनमा ३२ रुपैयाँले घटी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.