बन्द सफल पार्न शीर्ष नेताहरु नै सडकमा, प्रचण्ड भने गाडीमै यता उता गर्दै

  २०७७ माघ २२ गते १२:०७     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाण्डौमा पनि परेको छ । बिहीबार बिहानैदेखि काठमाडाैं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्राय बनेका छन् ।

छिटफुट रुपमा मोटरसाईकल र निजी सवारी साधनहरु सञ्चालन भएका छन् । चारपाङग्रे सवारी साधन भन्दा बढी दुई पाङग्रे सवारी साधन सञ्चालन भएका छन् । खाद्यान्न लगायतका बजार पसल आंशिक खुलेका छन् । बन्द आव्हानकर्ताहरुले बिहानैदेखि चोक चोकमा बसेर बन्द सफल बनाउन प्रर्दशन गर्दै आएका छन् ।

बन्द सफल पार्न भन्दै शिर्ष नेताहरु नै सडकमा ओर्लिएका छन् । नेता पुष्पकमल दाहाल नै सडकमा आएका थिए । देशव्यापी आमहड्ताल आव्हान गरेका दाहाल आफैले बन्दको अवज्ञा गर्दै बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर हामहड्ताल गराउन ललितपुरको पुलचोक पुगेका थिए । गाडीबाट ओर्लिएर दाहाल पुलचोकको बीचसडकमा केही समय पलेटी कसेर बसेका थिए । त्यसपछि उठेर फेरी गाडी चढेर उनी जावलाखेल तर्फ लागेका थिए । गाडी चढेर कार्यक्रम स्थल पुगेका नेता दाहाल सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गरेका थिए । उनीसंगै नेतृ पम्फा भुसाल लगायतका नेता कार्यकर्ताहरु पनि सहभागी थिए ।

बिहानै प्रहरीले कलंकी चोकबाट नेतृ अष्टलक्ष्मी शाक्य सहितका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएपछि कार्यकर्ताहरुले विभिन्न स्थानबाट जुलुस सहित प्रदर्शन गरेका थिए । चाबहिल चोकबाट बिहान प्रहरीले कृष्ण केसी लगायतका नेता कार्यकर्ताहरु नियन्त्रणमा लिएको छ ।

यसै क्रममा प्रहरीले विभिन्न स्थानबाट दर्जनौ बन्द आव्हानकर्ताहरुलाई नियन्त्रणमा लिएको छ ।

आमहड्ताल सफल बनाउन प्रचण्ड माधव समूहले काठमाडाैंका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेका थिए । युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकी, बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र बर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकको कमाण्डरको जिम्मेवारी दिईएको थियो । उनीहरुकै नेतृत्वमा कार्यकर्ताहरु बन्द सफल बनाउन सडकमा निस्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.