५६ लाखकाे लगानीमा सहकारीले खोल्यो सुपथ मूल्यका पसल, अन्त्य भयाे बिचौलियाले खाने कमिसन

  २०७७ माघ १३ गते १७:४७     विकासन्युज

चन्द्रौटा । कपिलवस्तुको बुद्धभूमि-४ बुड्डीस्थित सूर्य बहुउद्देश्यीय सहकारी संस्थाले सुपथ मूल्यका पसल सञ्चालन गरेको छ । सहकारीले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा सुपथ पसल सञ्चालन गरेको हो । सुपथ पसल नाम दिएर सञ्चालनमा ल्याएको उक्त पसलले सुपर मार्केटको झल्को दिने गरी सञ्चालनमा आएको छ ।

सोमबारदेखि औपचारिक रुपमा शुरु भएको सो पसलका लागि लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थालाई २१ लाख रूपैयाँ अनुदान दिएको थियो । अनुदान रकममध्ये १६ लाख रुपैयाँ भवन निर्माणमा र सात लाख रुपैयाँ पसल सञ्चालनमा लगानी गरिएको छ । सुपथ पसल सञ्चालनका लागि संस्थाले थप ३५ लाख रुपैयाँ लगानी गरेको छ । पसल सञ्चालन भएपछि स्थानीयस्तरमा उत्पादन सामग्री बिक्री वितरणमा सहज भएको सूर्य बहुउद्देशीय सहकारी संस्थाका व्यवस्थापक लेखनाथ खनालले बताए ।

पसलमा स्थानीयस्तरमा उत्पादन भएका खाद्यान्न, मरमसला, दैनिक उपभोग्य हुने सामग्री खरीद बिक्री हुनेछ । सुपथ पसल सञ्चालनमा आएपछि कालोबजारी निरुत्साहित भई सहुलियत दरमा सामग्री खरीद गर्न पाउने स्थानीय रुपेशकुमार श्रेष्ठले बताए । स्थानीय कृषकले उत्पादन गरेका तरकारी, सहकारीका सदस्यले उत्पादन गरेका सामग्री सिधैँ ग्राहकसँग पुग्ने भएपछि बिचौलियाले खाने कमिसनसमेत अन्त्य हुने विश्वास गरिएको छ ।

अहिले स्थानीय बजारमा बिक्री गर्ने योजना रहे पनि आगामी वर्षदेखि अन्य सुपथ पसलसँग समन्वय गरी बाह्य जिल्लामा स्थानीय उत्पादन बिक्री गर्ने लक्ष्य लिएको सहकारीका अध्यक्ष मुरलीधर घिमिरेले बताए । सहकारीमा ८०० बढी सेयर सदस्य रहेका छन् । सेयर सदस्यका लागि विशेष छुटकोसमेत व्यवस्था गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.