ग्लोबल आइएमई बैंकको १६ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी २१ अर्ब ६३ करोड नाघ्यो

  २०७७ पुष २९ गते १५:५३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनश सेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश पाउने भएका छन् ।  बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र कर पछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताए ।

उनले बैंकले संघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित गरिएको बताए ।

साबिकको जनता बैंक नेपालसँग मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो र सबल बैंक बनेको बताउँदै, उनले सेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बैंकले सदाझैं आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताउँदै कोरोना भाईरस महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गर्दै ग्राहकहरुलाई थप प्रभावकारी सेवा पुर्याउने बताए ।

आर्थिक वर्ष २०७६/७७ मा बैंकको व्याज आम्दानी तर्फ गत वर्ष भन्दा ६ अर्ब ९६ करोड रुपैयाँले वृद्धि भएको छ । आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोना भाईरसको कारणले बैंकको कर्जा लगानी रकममा १ अर्ब ९५ करोड रुपैयाँसम्मको जोखिम व्यवस्थापन वापत रकम छुट्याउनु परेकोले बैंकको खुद मुनाफामा ५.३१ प्रतिशतले मात्र वृद्धि भई २ अर्ब ९१ करोड रुपैयाँ मात्र कायम हुन सकेको छ ।

हाल बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यकासाथ बैंकले ७३ जिल्लामा २६४ शाखा सञ्जाल सहित करिब ८०० सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३ हजार भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब २२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

बैंकको १४औं वार्षिक साधारणसभा आज बुधबार काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट भवनमा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

ग्लोबल आईएमई बैंकको अध्यक्षमा ढकाल निर्विरोध, आजै लिए सपथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.