समस्यामा परेका दुईटा वाणिज्य बैंकलाई ‘रेस्क्यू’ गरेका भट्टचन प्रभुबाट किन बाहिरिए ?

  २०७७ पुष २७ गते १०:२६     विकासन्युज

काठमाडौं । नेपालको बैंकिङ इतिहासमा महत्वपूर्ण नाम हो देवीप्रकाश भट्टचन । फाइनान्स कम्पनी स्थापना गरी दुईवटा वाणिज्य बैंकलाई ‘रेस्क्यू’ गरेको इतिहास बोकेका भट्टचन प्रभु बैंक संचालक समितिबाट बाहिरिनुलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन् ।

प्रभु बैंकको १९औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना संचालक समिति सदस्य निर्वाचित गरेकाे छ । तर, प्रभु बैंक संचालक समितिको अध्यक्ष भट्टचनले संचालक सदस्यमा उम्मेदवारी नै दिएका थिएनन् ।

भट्टचनकै पहलमा सन् २००५ मा प्रभु फाइनान्स कम्पनी स्थापना भएको थियो । सो फाइनान्स कम्पनी स्थापना भएको २ वर्षपछि उनी अध्यक्ष भएका थिए । प्रभु फाइनान्स कम्पनी संचालनमा आउनुअघि उनी तत्कालिन ग्लोबल बैंकमा संचालक थिए ।

भट्टचनले प्रभु फाइनान्स संचालक समितिको अध्यक्षको जिम्मेवारी लिएपछि सो फाइनान्स कम्पनीले धेरै संस्थाहरु प्रभुमा मर्ज गराएका थिए । यसरी मर्ज हुँदै गएपछि तत्कालिन प्रभु फाइनान्स कम्पनी प्रभु विकास बैंकमा स्तरोन्नति भएको थियो । पछि प्रभु विकास बैंक र तत्कालिन किष्ट बैंक मर्ज भएर प्रभु बैंक बन्याे ।

जतिबेला किस्ट बैंक प्रभु विकास बैंकसँग मर्ज भएको थियो, त्यो बेला किस्ट बैंक समस्यामा परेको थियो । समस्यामा परेको किष्ट बैंक मर्ज गरेपछि प्रभु बैंकले समस्यामा परेको अर्काे बाणिज्य बैंक ग्राण्ड अक्याएर गरेको थियो । प्रभुमा किष्ट र ग्राण्ड बैंक मात्र हाेइन, गौरिशंकर डेभलपमेन्ट बैंक, जेनिथ फाइनान्स, वैभव फाइनान्स लगायतका वित्तीय संस्थाहरू गाभिएकाे थिए ।

वित्तीय क्षेत्रको स्थापना र विकासमा भट्टचनको योगदान महत्वपूर्ण छ । प्रभु समूह स्थापना गरी उनकै अगुवाईमा खुलेका प्रभु मनी ट्रान्सफर, प्रभु लाइफ इन्स्यारेन्स, प्रभु जनरल इन्स्योरेन्स लगायतका वित्तीय संस्था पनि संचालनमा छन् ।

भट्टचन तत्कालिन प्रभु फाइनान्सको २ कार्यकाल संचालक समिति अध्यक्ष भएका थिए । यस्तै, प्रभु विकास बैंक बनेपछि पनि २ कार्यकाल संचालक समिति अध्यक्ष भएका थिए । किष्ट बैंकसँग मर्जर पछि बनेकाे  बैंकमा पनि उनी अध्यक्ष भएका थिए । त्यसपछि ग्राण्ड बैंकसँगको मर्जपछि उनी फेरि संचालक समिति अध्यक्ष भएका थिए । त्यसपछिको साधारणसभाबाट अध्यक्षमा निर्वाचित भट्टचन प्रभु बैंकमा ३ पटक गरी ८ वर्ष संचालक समिति अध्यक्ष बनेका थिए ।

प्रभु बैंकको प्रमुख लगानीकर्तामध्येमा भट्टचन पर्छन् । प्रोफेसनलहरुलाई संचालन गर्न दिने आफ्नो योजना अनुसार नै आफू संचालक समितिबाट बाहिरिएको उनले प्रतिक्रिया दिए ।

‘सधैं म नै संचालक समिति अध्यक्ष हुनुपर्छ भन्ने छैन, प्रोफेसनल संचालकहरुले बैंक संचालन गर्नुहुन्छ, म संचालक समितिमा नहुँदैमा कुनै फरक पर्दैन,’ भट्टचनले विकासन्युजसँगको संक्षिप्त प्रतिक्रियामा भने ।

प्रभु बैंकको अहिले देशभर २ सय १२ वटा शाखा कार्यालयहरु छन् । यस्तै, ५३ वटा एक्सटेन्सन काउन्टर, २ सय ३ वटा एटिएम बुथ र १४ लाखभन्दा बढी ग्राहक छन् । प्रभु बैंकको व्यवस्थापकीय टीमको नेतृत्व अशोक शेरचनले गरिरहेका छन् ।

बैंकको वार्षिक साधारणसभाले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद दिने प्रस्ताव पारित गरेकाे छ ।

One comment on "समस्यामा परेका दुईटा वाणिज्य बैंकलाई ‘रेस्क्यू’ गरेका भट्टचन प्रभुबाट किन बाहिरिए ?"

  • Ravindra Guragain says:

    Main shareholder aafno share bechna BOD maa nabasne ani 100 Kitte dummy khetala Director le bank chalayera pani kahi hunchha? Yesto sanchalak haru le mahina maa 5-6 wata BOD meeting raakhera ghar kharcha maatrai chalaune kaam garchha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.