चन्द्रागिरी हिल्समा लगानी गर्दा उचित प्रतिफल पाइने, यस्ता छन् कम्पनीका भावी योजना

  २०७७ पुष २४ गते १०:५५     मञ्जरी पाैडेल

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आज (पुस २४ गते) देखि दोश्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई निष्काशन गरी बाँडफाँड पश्चात अब सर्वसाधारणमा सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरिने छ ।

यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले पुस २४ गतेदेखि छिटोमा आगामी पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा माघ ९ गतेसम्म पनि आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । साथै, उक्त सेयर बाँडफाँड गर्दा सेयर हात पारेका स्थानीयले भने कम्पनीले जारी गर्न लागेको दोश्रो चरणको सेयरको लागि आवेदन दिन पाउने छैनन् ।

कम्पनीकाे बारेमा

कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापना भएको कम्पनी हो चन्द्रागिरी हिल्स लिमिटेड । २०६६ साल साउन १४ गते काठमाडौं फनपार्क प्रालिको नामबाट दर्ता भएको यो कम्पनी २०७६ जेठ ३ गतेदेखि मात्रै चन्द्रागिरी हिल्स लिमिटेडको नाममा कम्पनी दर्ता भएको हो ।

काठमाडौंको पानीपोखरीमा रजिष्टार्ड कार्यालय रहेको यस कम्पनीको कारोबार गर्ने मुख्य स्थान काठमाडौंको थानकोटस्थित चन्द्रागिरी नपा वडा नं. ४ मा रहेको छ ।

कम्पनी २०७१ साल असार ३२ गतेदेखि नै प्राइभेटबाट पब्लिकमा परिणत भएको हो । पब्लिक कम्पनीमा परिणत भएको ६ वर्षपछि कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणको लागि सेयर जारी गरेको छ ।

कम्पनीले जारी पुँजीको १२ प्रतिशत अर्थात १८ लाख ४० हजार ९१० कित्ता सेयर स्थानीय बासिन्दा तथा सर्वसाधारणमा जारी गरेको हो । जसमध्ये पहिलो चरणमा स्थानीय बासिन्दाका लागि ३ लाख ६ हजार ८१९ किता सेयर निष्काशन गरी बाँडफाँड गरिसेकेको छ । र, बाँकी रहेको १० प्रतिशत अर्थात १५ लाख ३४ हजार ९१ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

कम्पनी मार्फत केबुलकार, होटल तथा रिसोर्ट र एम्यूजमेन्ट पार्क लगायतका परियोजना सञ्चालन गर्ने गरी २०६६ साल फागुन २५ गते नेपाल सरकार, उद्योग विभागले कम्पनीलाई २०६६ साल फागुन २५ गते कम्पनी मार्फत केबुलकार, होटल तथा रिसोर्ट र एम्यूजमेन्ट पार्क लगायतका परियोजना सञ्चालन गर्न स्वीकति दिएको थियो । यससँगै, हाल केबुलकार, होटल/रिसोर्ट परियोजना सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरु निर्माण भई सकेका छन् । र, कम्पनीले २०७३ साउन २४ गतेदेखि व्यवसायिक रुपमा केबुलकार सञ्चालनमा ल्याईसकेको छ ।

त्यस्तै, कम्पनीले नेपाल सरकारको २०६८ साल भदौ २० गतेको मन्त्रीस्तरीय निर्णय बमोजिम ३६ हेक्टर कबुलियती वन ४० वर्षको लागि लिजमा लिइएको छ ।

यस परियोजना सञ्चालन स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेख्य मात्रामा भ्रमण हुने गरेको छ । कम्पनीका अनुसार उक्त स्थलमा औषत दैनिक २५ सयदेखि तीन हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु यस पर्यटकीय क्षेत्रमा भ्रमण गर्न तथा घुम्न आउने गरेका छन् ।

कम्पनीले एक सय कोठा भएको बुटिक होटल/रिसोर्ट सञ्चालनमा ल्याउनुका अतिरिक्त आवश्यक अन्य पूर्वाधार जस्तै हेलिप्याड, स्वीमिङ्घ पुल लगायतका संरचना समेत २०७६ साउन १ गतेदेखि सञ्चालनमा ल्याईसकेको छ र परियोजनासँग सम्बन्धित माइक्रो पिलिङ्ग लगायत अन्य केही कामहरु भई रहेको र होटल/रिसोर्टको छिट्टै औपचारिक उद्घाटन गर्ने लक्ष्य राखेको छ ।

पुँजी संरचना

कम्पनीको अधिकृत पुँजी दुई अर्ब रुपैयाँ र जारी पुँजी एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ । उक्त जारी पुँजी मध्ये कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ संस्थापक सेयरधनीहरुबाट चुक्ता भईसकेको तथा बाँकी १८ करोड ४० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारण (स्थानीय तथा सर्वसाधारण र कर्मचारीहरु समेत) मा सार्वजनिक निष्कासनद्वारा जारी गर्नेछ । स्थानीय तथा सर्वसाधारण कर्मचारीहरु समेतका लागि छुट्टाइएको १८ करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गरी बाँडफाँट गरे पश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ नाघ्ने छ ।

निष्कासन पछिको चुक्ता पुँजी संरचना

आईपीओबाट उठेको रकम कम्पनीले कुन क्षेत्रमा प्रयोग गर्छ ?

कम्पनीले आईपीओबाट १८ करोड ४० लाख ९१ हजार रुपैयाँ उठाउने छ । उक्त रकम कम्पनीको बैंक कर्जा रकम भुक्तानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ ।

लगानीकर्तालाई उचित प्रतिफल

यस कम्पनीबाट सञ्चालित विभिन्न परियोजनाहरु पर्यटकीय क्षेत्रमा सञ्चालन गरिएकोले अन्य कम्पनीसँग प्रतिस्पर्धामा जान सक्ने र प्रतिस्पर्धी रही लगानीकर्तालाई उचित प्रतिफल दिन सक्षम रहनेमा यस कम्पनी विश्वस्त रहेको छ ।

कम्पनीकाे वित्तीय विवरण

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष ७६/७७ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी १७ करोड १० लाख रुपैयाँ खुद नोक्सानमा रहेको छ । कोभिड १९को कारणले कम्पनीका सबै सेवाहरु बन्द हुन गई आर्थिक कारोवार नभएको हुँदा आ.व. २०७६।०७७ को अन्तिम त्रयमासको आम्दानी शून्य रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ देखि भने कम्पनीले नाफा कमाउने प्रक्षेपण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८मा ६ करोड १३ लाख रुपैयाँ, २०७८/७९ ३६ करोड ११ लाख रुपैयाँ र २०७९/८० मा ५० करोड ३७ लाख रूपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

नोट*: आन्तरिक लेखापरिक्षकबाट प्रमाणित गरिएको अपरिष्कृत वित्तीय विवरण ।

कम्पनीको मूख्य उद्देश्य

पहिलो, नेपालको विभिन्न स्थानमा केबुलकार सिष्टमबाट रोपवे सञ्चालन गर्न सम्भाब्य स्थानको खोजी गर्ने र त्यस्ता स्थानमा आधुनिक प्रविधिको रोपवे सिष्टमबाट यातायात सेवाको विकास र विस्तार गदै पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने तथा गराउने रहेको छ । दोश्रो, प्रचलित कानुन बमोजिम स्थापना भएको कम्पनी, फर्म वा संघ संस्थाको नाउँमा प्राप्त गरेको इजाजतपत्र वा लाइसेन्सको आधारमा त्यस्ता कम्पनी वा संघ संस्थासँग सम्झौता गरी त्यस्ता अनुमती वा लाईसेन्सको आधारमा मुलुकको विभिन्न भागमा केबुलकार उद्योगको स्थापना र सञ्चालन गर्ने वा आफ्नो नाउँमा इजाजत प्राप्त गरी उद्योग सञ्चालन गर्ने रहेको छ ।

तेश्रो, यात्रुहरुको सुविधाको लागि टप स्टेशन र बटम स्टेशनमा सुविधा सम्पन्न होटल रेष्टुराँ, स्वीमिङ्ग पुल, जिम्नेष्टिक क्याम्पिङ्ग, र्याफिटिङ्ग तथा विशेष सुविधायुक्त सेमिनार तथा कन्फेरेन्स हल आदिको स्थापना गरी होटल व्यवसाय गर्ने उद्देश्य छ । चौथो, स्वदेशी तथा विदेशी पर्यटक वा विभिन्न व्यक्तिहरुलाई गन्तव्य स्थानमा आवज जावत गर्ने सुविधा प्रदान गरी मुलुकको पर्यटन उद्योगको विकासमा जोड दिई स्वदेशी तथा विदेशी मुद्रा आर्जन गर्ने कम्पनीले जनाएको छ ।

पाँचौं, रोपवे सिष्टमको विकासको लागि अन्तर्राष्ट्रिय बजारमा रहे भएको प्रविधिलाई नेपालमा भित्र्याई त्यसको विकासमा जोड दिने र यस्ता प्रविधिको लागि आवश्यक पर्ने जनशक्ती तयार गरी रोजगारको अवसरहरु प्रदान गर्ने गराउने हो । छैटौं, यात्रुहरुलाई आकर्षण गर्नको निमित्त केबुलकार पद्धती (रोपवे सिष्टम) को माध्यमबाट दृष्यावलोकन गराउन उपयुक्त आधुनिक साधनका विकास गर्ने गराउने ।

सातौं, केबुलकार सञ्चालन तथा त्यसको व्यवस्थापन सञ्चालनको लागि आवश्यक पर्ने आधुनिक उच्च प्रविधि, भौतिक साधन तथा अन्य साधन र श्रोतको परिचालन गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था वा कम्पनीसँग प्रचलित कानून बमोजिम प्रविधि ग्रहण वा हस्तान्त्रण गर्ने गराउने हो । आठौं, यस कम्पनीको उद्देश्यसँग मेलखाने स्वदेशी तथा विदेशी कम्पनीहरुसँग मिली सामुहिक रुपमा परियोजनाहरु सञ्चालन गर्ने तथा ठेक्कामा लिई सञ्चालन गर्ने उद्देश्य हो ।

र, कुनै पनि सरकारी, गैरसरकारी संघ, संस्था, कम्पनी, व्यक्ति, फर्मले कुनै पनि मालसामन आयत निर्यात तथा सप्लायर्स गर्नको लागि बोलपत्र (टेण्डर) आह्वान गरेमा बोलपत्र (टेण्डर) द्धारा वा सोझै सम्पर्क गरी टेण्डरमा भाग लिने कम्पनीकाे उद्देश्य रहेकाे छ ।

सहायक कम्पनी र लगानी

मल्टी पोखरा डेभलपमेण्ट प्रा.लि. र चन्द्रागिरि हिल्स प्याराग्लाईडिङ्ग लि कम्पनीको २ सहायक कम्पनी हुन् । चन्द्रागिरी हिल्सले मल्टी पोखरा डेभलपमेण्टको कुल चुक्ता पूँजीको १०० प्रतिशत लगानी र चन्द्रागिरी हिल्स प्याराग्लाईडिङ्गको पनि कूल चुक्ता पुँजीको १०० प्रतिशत लगानी गरेको छ ।

सिटिजन्स बैंकको अगुवाईमा ५ वाणिज्य बैंकको लगानी

सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा ५ वाणिज्य बैंक (नेपाल इन्भेष्टमेण्ट बैंक, सानिमा बैंक, सनराईज बैंक, मेगा बैंक नेपाल र प्रभु बैंक) ले सो परियोजनामा लगानी गरेका छन् । यी बैंकहरुले परियोजना निर्माणको लागि २ अर्ब २० करोड रूपैयाँ मात्र आवधिक कर्जा लगानी गर्ने गरी सम्झौता गरेका हुन् ।

भावी योजना तथा रणनीति

परियोजनाको रिसोर्ट/होटल पूर्ण रुपमा संचालन भईसकेको र सो को औपचारिक उद्घाटन/शुभारम्भको कार्य समेत मिति २०७७ आश्विन मसान्त सम्ममा गर्ने लक्ष्य रहेकोमा कोभिड १९ को महामारीको कारणले तोकिएको मितिमा हुन नसकि २०७८ वैशाख मसान्त सम्ममा गर्ने लक्ष्य रहेको छ । साथै, सोही कारणले गर्दा जिपलाइन सञ्चालन समेत २०७७ पौष मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य रहने भएको छ ।

र सो का लागि कम्पनीले परियोजना सम्पन्न गर्न आफ्नो काम कारवाहीलाई तीव्र रुपमा अगाडि बढाई रहेको छ । सहायक कम्पनीहरुको हकमा मल्टी पोखरा डेभलपमेन्ट प्रा.लि. कोनाममा रहेको जग्गामा चन्द्रागिरी हिल्स लिमिटेडको बटम स्टेशन संरचना बनाउन उपभोग गरिएकोर भावी दिनमा उक्त कम्पनीलाई चन्द्रागिरी  हिल्स लिमिटेडमा नै गाभ्ने रणनीति लिइएको छ भने चन्द्रागिरी हिल्स प्याराग्लाईडिङ्ग लि.को हकमा निकट भविश्यमा नै कम्पनीको उद्देश्य अनुरुप प्याराग्लाईडिङ्गको सम्भाब्यता अध्ययन गरी सेवा सञ्चालन गर्ने रणनीति लिईएको छ ।

सञ्चालक समितिमा को को छन् ?
हाल कम्पनीको सञ्चालक समितिमा ५ जना रहेका छन् । अध्यक्षमा चन्द्रप्रसाद ढकाल रहेका छन् भने सञ्चालकमा हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल, उत्तम नेपाल र कल्याण गुरुङ्ग रहेका छन् ।

त्यस्तै, कम्पनीको आधारभूत सेयरधनीमा चन्द्रप्रसाद ढकाल, हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल, उत्तम नेपाल, कल्याण गुरुङ्ग, मिन ब। गुरुङ्ग, नवराज नेपाल, भाटभटेनी सुपर मार्केट प्रा.लि., सावित्री गुरुङ्ग, कुमार केशर विष्ट, डोलराज शमा, हाथवे इन्भेष्टमेन्ट नेपाल लि, सन्ध्या गुरुङ्ग र उमा विष्ट जि.सि. रहेका छन् ।

उच्च व्यवस्थापकीय टीम

संगठित संस्थाको उच्च व्यवस्थापकीय तहमा तीन जना अधिकृतहरु रहेका छन् । जसमध्ये महाप्रबन्धकमा अभिषेक विक्रम शाह, प्रबन्धक मेघ नाथ शर्मा र कम्पनी सचिवमा झलक राज शर्मा रहेका छन् । तीनै जना अधिकृतहरु अन्य कुनै संगठित संस्थाको आधारभुत सेयरधनी होइनन् । कम्पनीमा ८५ जना स्थायी र ६६ अस्थायी गरि कुल १५१ जना कर्मचारी छन् ।

कोभिड-१९ को कारणले आम्दानीमा ठूलो असर पर्ने जाेखिम

हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीबाट बच्न नेपाल सरकारले लकडाउन गरेको कारणले यस कम्पनीका सबै सेवाहरु बन्द हुन गई आर्थिक कारोवार नभएको हुँदा आ.व. २०७६।०७७ को अन्तिम त्रयमासको आम्दानी शून्य रहेको छ । यसको प्रत्यक्ष असर कम्पनीको आगामी आर्थिक वर्ष २०७७/०७८ को भाद्र मसान्तसम्म रहने गरी वित्तीय प्रक्षेपण गरिएको र त्यस पश्चात पनि कोभिड १९ को प्रकोप कम नभएमा आगामी आ.व.मा कम्पनीको आम्दानीमा ठूलो असर पर्न सक्ने जोखिम रहेको कम्पनीले जनाएको छ ।

अन्य जाेखिमहरू

नेपालको अर्थतन्त्रमा हुने आर्थिक मन्दीबाट पर्न सक्ने असरवाट हुने जोखिम, देशको आर्थिक अवस्थामा आउन सक्ने आर्थिक गिरावटका कारण खर्च गर्न सक्ने क्षमतामा ह्रास आउने जोखिम । अन्तर्राष्ट्रिय बजारमा हुने महामारी तथा आर्थिक मन्दीले पार्न सक्ने असर पर्यटकीय क्षेत्रमा पर्न सक्ने भएकाले सो बाट जोखिम । पुर्वाधार निर्माणमा हुने ढिलाईका कारण जोखिम हुन सक्ने कम्पनीले जनाएको छ ।

सम्भावित जोखिमलाई व्यवस्थापनले कसरी न्यूनीकरण गर्छ ?

कम्पनीका भौतिक संरचनाहरु तथा मेशिनरी पाटपूर्जाहरु लगायत अन्य सम्पत्तिहरुको सम्भावित जोखिमलाई न्यूनिकरणका लागि बीमा सम्बन्धी व्यवस्था गरेको छ । यसका साथै कम्पनीमा कार्यरत कर्मचारीहरुको औषधी उपचार तथा दुर्घटना बीमा तथा केबुलकारमा यात्रा गर्ने यात्रुहरुको जोखिम बीमा गरिएको छ ।

त्यस्तै, चन्द्रागिरी हिल्स लि.को विकास तथा प्रवद्र्धन भएकाले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने क्रम यथावत रुपमा जारी रहने तथा क्रमश बढ्दै जाने भएकाले आर्थिक जोखिम कम हुने व्यवस्थापनको धारणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.