दीपप्रकाश पाण्डेको के गल्ती ?

  २०७७ असोज ७ गते २१:३८     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, नेपाल बीमक संघका अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनी र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति सदस्य दीपप्रकाश पाण्डे बीमा क्षेत्रमा सफल र सबैले चिनेका व्यक्ति हुन् । उनले व्यवस्थापकीय नेतृत्व गरेको शिखर इन्स्योरेन्स कम्पनीले हासिल गरेको प्रगतिले उनको व्यक्तित्व धेरै माथि पुर्याएको छ ।

२०६१ साल मंसिरमा १५औं निर्जीवन कम्पनीको रुपमा स्थापना भएको यो कम्पनी छोटो अवधिमा नै नेपालको सबैभन्दा ठूलो बीमा कम्पनीको रुपमा स्थापना भएको छ । कम्पनीको पुँजी, व्यवसाय, नेटवर्थ, नाफा, सेयर पुँजी, शाखा सञ्जाल, कर्मचारी संख्या लगायत धेरै परिसूचकमा यो कम्पनी नम्बर वान छ । निर्जीवन बीमा बजारको झण्डै १३ प्रतिशत हिस्सा ओगटेको यो कम्पनीले निर्जीवन तर्फ सबैभन्दा बढी कर तिरेर नेपाल सरकारबाट पटक पटक सम्मानित पनि भएको छ ।

भारतको सेन्ट जेभियर कलेजबाट विविएस र त्रिभुव विश्वविद्यालयबाट एमबीए गरेका पाण्डेले एभरेष्ट र शिखर इन्स्योरेन्समा गरि २५ वर्ष काम गरेका छन् । ५३ वर्ष उमेर भएका पाण्डे अझै बीमा क्षेत्रमा धेरै योगदान गर्ने अठौटका साथ अगाडि बढेका छन् । ‘बीमामा धेरै गर्न सकिन्छ । नयाँ प्रडक्टहरु ल्याउने, प्रविधिको अधिकतम प्रयोग गर्दै सर्वसाधारणमा बीमाको पहुँच पुर्याउने काम हामीले नगरे कसले गर्ने ?’ उनले भने ।

कम्पनी सफल हुनुमा उनले जहिले पनि चार कुरालाई प्राथमिकता दिए । ‘कम्पनी चलाउन पैसा हाल्ने लगानीकर्तालाई नाफा दिनैपर्छ । कर्मचारीको हकहित हुनैपर्छ । बीमितलाई उत्कृष्ट सेवा दिएर सन्तुष्ट बनाउनै पर्छ । सरकारले बनाएको कानुन वा नियामकले जारी गरेको नीति निर्देशनको पालना गर्नैपर्छ’ उनले भने ।

सकारात्मक सोच राख्ने र क्षमताले भ्याएसम्म काम गर्ने उनको शैलीबाट कम्पनीका कर्मचारी, लगानीकर्ता, सञ्चालक समिति सबै प्रभावित छन् । अन्य निर्जीवन बीमा कम्पनीहरुमा पनि उनको भूमिका र कार्यसम्पादन नतिजाको निकै चर्चा हुने गरेको पाइन्छ ।

हालै मात्र शिखर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले उनलाई पुनः चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न बीमा समितिसँग सहमति मागेको छ । ‘विगतमा गरेको काम र भविष्यको योजना हरेर कम्पनीले मलाई विश्वास गरेको छ । बीमा समितिबाट सहमति आउन बाँकी छ’ प्रमुख कार्यकारी पाण्डेले विकासन्युजसँग भने ।

दुई कार्यकाल भन्दा बढी एउटै कम्पनीमा सीईओ बन्न नमिल्ने व्यवस्थासँग जोडेर उनको पुनर्नियुक्तीबारे धेरैले चासो राखेका छन् । ‘म शिखर इन्स्यारेन्सको स्थायी कर्मचारी थिए । प्रमुख कार्यकारी अधिकृत पदमा स्थायी कर्मचारी हुन नपाउने व्यवस्था भएपछि मैले ४ वर्षअघि स्थायी सेवा छाेडेर करारमा नियुक्त भएकाे हुँ’ उनले भने–‘करारमा नियुक्त भएपछि पहिलो कार्यकाल सकिएकोले दोस्रो कार्यकालको लागि नियुक्ती प्रक्रिया अगाडि बढेको हो’ उनले भने ।

‘बीमा समितिको नीति निर्देशनको पालना गर्दै मैले ६० वर्ष हुँदासम्म खान पाउने स्थायी जागिरबाट राजीनामा दिएँ । यस कम्पनीमा भएको सेयर पनि बेचेँ’ उनले भने–केही मानिसहरु भ्रामक प्रचार गरिराखेका छन् । मैले के गल्ती गरेँ र ?’

बीमा समितिले गरेकाे तत्कालिन नीतिगत व्यवस्थालाई पालना गर्दै आफू करारमा आएकाे बताउँदै पाण्डेले भने-‘अहिलेकाे नियम अनुसार एक कार्यकाल थप्न मिल्ने भएकाेले सञ्चालक समितिले निर्णय गरेकाे हाे । हामी बीमा समितिकाे नीति नियमकाे पालना गर्न पूर्ण प्रतिवद्ध छाैं ।’

‘१० करोड रुपैयाँ लगानीमा स्थापना भएको कम्पनी १५ वर्षमा ३५० करोड नेटवर्थकाे कम्पनी भएको छ । नियम कानुनको पालना गरेर ग्राहकलाई उच्चस्तरीय सेवा दिदै आएका छौं । निर्जीवनतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनी भएको छ । ६०० भन्दा बढी कर्मचारीलाई रोजगारी दिएको छ । कम्पनीले लगानीकर्तालाई उच्चतम प्रतिफल दिएको छ । हामीले बीमामा सिर्जनात्मक काम पनि धेरै गरेका छौं’ उनले भने–‘राम्रो गर्नेलाई स्यावासी भन्ने र प्रोत्साहित गर्ने संस्कारको विकास हुन जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.