हिमालयन बैंक मौन बस्दा सिभिल बैंक तनावमा

  २०७७ असोज ४ गते १५:३४     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडको मर्जर सम्बन्धि प्रस्तावमा हिमालय बैंक मौन बस्दा बजारमा तरङ्ग पैदा भएको छ । आइतबार सिभिल बैंकको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएपछि सर्किट ब्रेक लागेको छ भने नेपाल स्टक एक्स्चेञ्जले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको छ ।

गत साउनमा सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरको इच्छासहित लागि लिखित प्रस्ताव गरेको थियो । तर उक्त प्रस्तावमा हिमालयन बैंक मौन बसेको छ ।

‘मर्जरको आसय पत्र पठाएका हौं । तर हिमालयन बैंकले कुनै प्रतिक्रिया दिएको छैन’ सिभिल बैंक सञ्चालक समितिका एक सदस्यले विकासन्युजसँग भने ।

सिभिल बैंकले मर्जरको लागि प्रस्ताव पछि हिमालयन बैंकले मर्जर कमिटी गठन समेत गरेको थियो । ‘सिभिल बैंककाे पत्र आएको करिब २ हप्ता पछि हिमालयन बैंकले मर्जर कमिटी गठन गरेको हो । तर त्यो संयोग मात्र थियो’ हिमालयन बैंकका एक सञ्चालकले विकासन्युजसँग भने- ‘हिमालयन बैंकले मर्जरको लागि गृहकार्य गरिरहेको छ । तर सिभिल, सेन्चुरी, बैंक अफ काठमाण्डू लगायत जति पनि बैंकको नाम आएको छ, त्यो बजार हल्ला मात्र हो ।’

एक वर्षअघि पनि हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरको केही अनौपचारिक कुरा भएको, अहिले सिभिल बैंकले लिखित आसयपत्र पठाएको तर हिमालयन बैंकमा यस विषयमा छलफल समेत नभएको उनले बताए । ‘मर्जर कमिटीको २ वटा बैठक भएका छन् । दुबै बैठकमा कुनै पनि बैंकको नाममा छलफल भएको छैन ।’

मर्ज केका लागि भन्नेमा हामी बहस गर्दै छाैं । मर्ज हिमालयन बैंककाे आवश्यकता हाे कि राष्ट्र बैंककाे दवावले मर्ज गर्नु पर्ने अवस्था आएकाे हाे ? हामीले ठूलाे बैंकसँग मर्ज गर्ने कि साना बैंक एक्वाएर गर्दै जाने हाे ? पहिला हामी यस्ता विषयमा प्रष्ट हुनु जरूरी छ’  हिमालयन बैंककाे स्राेतले भन्याे ।

दुई बैंकबीच मर्जको हल्लाले बजारमा आइतबार सिभिल बैंकको सेयर प्रतिकित्ता १५ रुपैयाँले बढेको छ । गत बिहीबार १५० रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर आइतबार १६५ पुगेर सर्किट ब्रेक लागेको हो । यस विषयमा नेप्सेले सिभिल बैंकसँग २० घण्टे स्पष्टीकरण सोधेको छ ।

सिभिलकाे प्रस्तावमा हिमालयन बैंक डेढ महिनादेखि माैन बस्दा सिभिल बैंकलाई तनाव भएकाे छ ।

सम्बन्धित समाचार

नेप्सेले सिभिल बैंकलाई सोध्योः हिमालयनसँग मर्जरको हल्ला चलाएर सेयरको भाउ बढाएको हो ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.