सबैको चासो दशैं भत्ताः यस वर्ष कर्पोरेट क्षेत्रका कर्मचारीले पाउँछन् कि पाउँदैनन् ?

  २०७७ भदौ ३१ गते १५:०७     सन्ताेष राेकाया

काठमाडौं । अघिल्ला वर्षहरुमा दशैं आउनुभन्दा १/२ महिना अगावै एक किसिमको छुट्टै माहोल हुन्थ्यो । राजधानी काठमाडौंमा दशैंको चहल–पहल निकै बढ्थ्यो । तर, यस वर्ष भने त्यो माहोल देखिएको छैन । दशैं आउन अब ४० दिन बाँकी छन् । दुई महिना अगडि नै चहल–पहल बढ्ने काठमाडौंमा यस वर्ष भने कुनै रौनकता छैन ।

मानिसहरुले गाउँ फर्किनका लागि १ महिना अगाडि नै नयाँ–नौलो कपडा तथा अन्य सामान किनेर गाउँ जानका लागि तयारी अवस्थामा हुन्थे । तर, यो वर्ष भने न बजारमा चहल–पहल छ नत मानिसमा त्यस्तो खालको दशैं आउन लाग्यो भन्ने उत्साह नै छ ।

अहिले वहस र चर्चा कोरोनाकै छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण यस वर्षमा चाडपर्वहरु निराशमय हुने निश्चित छ । कोरोनाकै कारण लामो समय भएको लकडाउन र त्यसपछिको जारी निषेधाज्ञाले देशको अर्थतन्त्रलाई निकै असर पुर्याएको छ । जसको प्रत्यक्ष असर राष्ट्रलाई मात्र होइन सर्वसाधारण नागरिकलाई समेत नराम्ररी परेको छ ।

लकडाउनले गर्दा व्यापार व्यवसाय ठप्प भएकै कारण यसवर्ष धेरै व्यापारी तथा व्यवसायीहरुलाई पनि निकै असर परेको छ । त्यसको प्रत्यक्ष असर ती व्यवसायमा काम गर्ने कर्मचारी तथा श्रमिकहरुलाई पनि परेको छ ।

अघिल्ला वर्षहरुमा ती व्यवसाय अथार्त कर्पोरेट क्षेत्रमा काम गर्ने कर्मचारीहरुले दशैंमा अतिरिक्त भत्ता पाउँथे । एक महिनाको तलब अतिरिक्त पाउने भएपछि कर्मचारीहरुलाई केही हदसम्म भएपनि राहात हुन्थ्यो ।

तर, अहिले भने कर्पोरेट क्षेत्रलाई आर्थिक समस्या भएको कारणले कर्मचारीहरुलाई दशैं भत्ता दिन्छन् कि दिँदैनन् भन्ने सबैको चासोको विषय बनेको छ । एक महिनाको तलब अतिरिक्त तलब पाएपछि उत्साहित हुने कर्मचारी यो वर्ष कोरोनाको कारण पाइन्छ कि पाइँदैन भन्ने दुविधामा छन् ।

हाल नेपालको ठूलो अर्थात चर्चित चौधरी ग्रुपले भने यही अवस्था रहिरहेमा कर्मचारीलाई दशैं भत्ता दिन सकिने बताएको छ । चौधरी ग्रुपका जनरल म्यानेजर मधुसुदन पौडेले अहिले चौधरीको व्यापार व्यवसाय नर्मल रुपले अगाडि बढिरहेकोले त्यति धेरै समस्या नभएको बताए ।

‘पछि कस्तो संकट आउँछ त्यो हामी भन्न सक्दैनौं, आजको दिनसम्म हामी नर्मल हिसावमै जाने प्रयास गरिरहेका छौं, जति हामी गत वर्ष कारोबार तथा आम्दानी गर्थ्यौं त्यही अवस्थामा छौं, यही अवस्था रहि रह्यो भत्ता दिन सकिन्छ,’ उनले भने ।

यही अवस्था अझै पनि कायम गर्ने प्रयास भइहरेको उनको भनाई छ । अहिले चौधरी ग्रुपसँग १३ हजा कर्मचारी आवद्ध रहेको उनले बताए ।

यस्तै, डिस होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यले दशैं आउन समय भएकोले त्यस सम्बन्धि आफ्नो संस्थाले कुनै निर्णय नगरेको बताए ।

‘दशैं आउन समय छ, अहिलेसम्म दशैं भत्ताको बारेमा हामीले सोचेका छैनौं, भत्ता दिने वा नदिने भन्ने क्लिअर पिक्चर आइसकेको छैन, लकडाउन भएन र अलिकति व्यापार भयो भने दशैं भत्ता दिन सकिन्छ, व्यवसाय नै बन्द भयो भने दिन सकिने अवस्था हुँदैन,’ उनले भने ।

अझै पनि मान्छे खर्च गर्नमा कन्जरभेटिभ भएको उनको भनाई छ । मानिस पैसा खर्च गर्न अझै पनि त्रसित जस्तो भएको उनले बताए ।

हालसम्म दशैंमा भत्ता नदिने भन्ने कुरा भने डिस होमले नसोचेको उनको भनाई छ । उनका अनुसार डिस होमसँग १८० जना कर्मचारी आवद्ध छन् । अन्य दुई सय जना कल सेन्टर र अप्रत्यक्ष रुपमा १ हजारभन्दा बढी कर्मचारी डिसहोमसँग जोडिएको उनले बताए ।

यस्तै,नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले यो समयमा कर्मचारीलाई दशैं भत्ता दिन असम्भव भएको बताए । ‘मलाई यो वर्ष कर्मचारीले दशैं भत्ता पाउँछन् जस्तो लाग्दैन, लामो समयसम्म भएको बन्दले कम्पनी व्यवस्थापन निकै चुनाैतिपूर्ण छ । हाम्राे मात्र होइन, सबै कर्पोरेट क्षेत्रका कर्मचारीले तलब पाउन सक्ने अवस्था मैले न्यून देखेको छु’ उनले विकासन्युजसँग भने ।

कर्मचारीलाई तलब नै दिन समस्या भइरहेको बेला दशै भत्ता दिन त असम्भव नै रहेको उनको भनाई छ । उनका अनुसार लक्ष्मी ग्रुपमा हाल १५ सयभन्दा बढी कर्मचारी आवद्ध छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि यो वर्ष कर्मचारीलाई दशैं भत्ता दिन सक्ने अवस्था नरहेको बताए । ‘दशैं भत्ता व्यापार हेरेर थाहा हुन्छ, अहिले सबैलाई तलब दिन नै गाह्रो भइरहेको छ, यही अवस्थालाई हेर्ने हो भने पनि दशैं भत्ता दिन सकिँदैन, उनले भने ।

चैत ११ गतेदेखि देशव्यापी रुपमा भएको लकडाउन र त्यपपछि भएको निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प नै भएकोले पनि अहिले धेरै कर्पोरेट हाउसहरुले आफ्ना कर्मचारीहरुलाई दशैं भत्ता दिन सक्ने आँट गर्न सकेका छैनन् । निजी क्षेत्रका कर्मचारीलाई दशैंमा भत्ता पाउने कि नपाउने दुविधा भएपनि सरकारी कर्मचारीहरुलाई भने त्यतो खालको दुविधा छैन । यो बिचमा निजी क्षेत्रका धेरै कर्मचारीहरुले बेतलवी घरमै, तलब कटौती र रोजगार नै गुमाउनु परे पनि सरकारी कर्मचारीहरुले भने त्यो समस्या भोग्नु परेन । अब उनीहरु दशैं भत्ता पनि ढुक्कका साथ पाउने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.