बैंकका कर्मचारी मालामालः दशैंभत्ता र बोनस एकै पटक, कोरोनाले छोएन आम्दानी

  २०७७ भदौ ३० गते १२:२०     सन्ताेष राेकाया

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको आम्दानीमा खासै असर नपार्ने भएको छ । कोरोना भाइरस नियन्त्रण तथा राेकथामका लागि सरकारले गरेकाे लकडाउन तथा निषेधाज्ञाले धेरैकाे रोजगारी गुमेको, धेरैले बेतलवी घरमै बस्नु परेको र धेरैको तलब कटौति भैहरेको बेला बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरुले भने यो समयमा पनि दशैं भत्ता र बोनस पाउने भएका हुन् ।

कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीमा खासै असर नगरेकोले पनि सबै बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई बोनस सँसँगै दशैं भत्ता अर्थात एक महिनाको तलब अतिरिक्त दिने योजना बनाएका हुन् ।

नविल बैंकका डेपुटी जनरल म्यानेजर (डीजीएम) मनोज ज्ञवालीले अहिले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु आफ्ना कर्मचारीहरुलाई दशैं भत्ता दिन सक्ने अवस्थामा भएको बताए ।

‘कर्मचारीको कुनै पनि तलब, सेवा सुविधा तथा भत्ता घटेको छैन, अब दशैंमा पनि सबै बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई भत्ता दिन सक्ने क्षमता राख्छन्, कुनै पनि संस्थामा दिन नसक्ने समस्या आउँदैन’ उनले भने ।

कर्मचारीहरुलाई तलब तथा भत्ता नै दिन नसक्ने अवस्थामा बैंक तथा वित्तीय संस्था नरहेको उनको भनाई छ ।

‘त्यो अवस्था आउनु भनेको देशको अर्थतन्त्र नै ध्वस्त हुनु हो, त्यति धेरै समस्या बैंकमा छैन,’ उनले भने ।

रोजगारको टर्म अनुसार नै पाएको सुविधा भएकाले कर्मचारीलाई दिने भत्ता अतिरिक्त समेत नभएको उनको भनाई छ । तोकिएको व्यवस्था नै भएकोले कर्मचारीले निर्वाद रुपमा दशैं भत्ता पाउने उनले बताए । नेपालमा दशैंको बेला कर्मचारीले एक महिनाको अतिरिक्त तलब पाउने गरेका छन् । सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुलाई एक महिना बराबरको तलब दिने प्रचलन छ ।

अहिले धेरै संस्थाहरुले कर्मचारीलाई दशैं भत्ता दिन सक्ने अवस्था न्यून छ । किनकि विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले ती संस्थाहरुको व्यापार व्यवसाय ठप्प बनाएको छ भने कारोबार र आम्दानी धेरैको शून्य नै छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुकाे नाफा घट्ने देखिए पनि कर्मचारीकाे भत्ता नै कम हुने अवस्था नभएको बैंकरर्सले प्रतिक्रिया दिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीले दशैंको भत्ता अनिवार्य रुपमा पाउने उनीहरुले बताएका छन् ।

नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले कर्मचारीहरुको दशैं भत्ता दिन कुनै समस्या नभएको बताए ।

‘दशैं जस्तो महान पर्वमा जसले सक्छ, त्यसले दशैं भत्ता दिनै पर्छ, कुनै पनि संस्थामा कर्मचारीलाई भत्ता दिन सक्ने अवस्था नै नभएको हुन सक्दैन’ उनले भने ।

यस्तै, उनले बैंक तथा वित्तीय संस्थाहरुले कमाएको कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीले पाउने बताए । बैंक तथा वित्तीय संस्थाले गरेको कुल नाफाको १० प्रतिशत  कर्मचारीले बोनस पाउने भएपछि कर्मचारीको आम्दानीमा कोभिड–१९ ले खासै असर नगर्ने पनि उनको भनाई छ ।

यसरी हेर्दा बैंकका कर्मचारीको आम्दानीमा कोरोनाले कुनै असर नगर्ने देखिन्छ । बैंकले गरेको नाफाको १० प्रतिशत बोनस र एक महिनाको अतिरिक्त तलब वाफतको दशैं भत्ता पाउने भएपछि उनीहरुको आम्दानीमा असर नपर्ने देखिएको हो ।

कर्मचारीलाई एक दशैंको भत्ता आउँछ अर्कोतर्फ बैंकहरुले त्यही समयमा नाफाबाट गरेको बोनस समेत वितरण गर्छन् त्यसबाट उनीहरुलाई मालामाल हुने देखिन्छ ।

२७ वटा वाणिज्य बैकहरुमा ४० हजारभन्दा बढी कर्मचारी , २० वटा विकास बैंकमा करिब १० हजारभन्दा र २२ वटा फाइनान्स कम्पनीहरुमा १८ सय जना कर्मचारी कार्यरत छन् ।

अहिले कतिपय बैंकहरुले साधारणसभा नगरेरै नै कर्मचारीलाई नाफाको बोनस बाडिसकेका छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले अघिल्ला वर्षहरुमा आर्थिक वर्ष सकिएको भोलिपल्टै कर्मचारीलाई बोनस वितरण गर्थे । तर, यो वर्ष भने कोरोनाले भने त्यस्तो गर्न दिएन ।

हालसम्म आधा दर्जनभन्दा बढी वाणिज्य बैंकले गत आवको नाफाबाट कर्मचारीलाई बोनस दिइसकेका छन् भने कतिले दशैंमा दिने योजना बनाएका छन् । बैंकहरुले साधारणसभा गरे लगत्तै कर्मचारीकाे खातामा बाेनस रकम पठाउने गरेका छन् ।

बैंकहरुले असार मसान्तसम्म उठेको रकम हिसाब गरी कर्मचारीलाई बोनस दिन्छन् । बोनस ऐनअनुसार कर्मचारीले नाफाको १० प्रतिशत बोनस पाउने व्यवस्था छ । कतिपय बैंकहरुले साधारणसभा  नगरी एडभान्सको रुपमा अगाडि नै कर्मचारीको खातामा बोनस पठाइरहेका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकार भट्टले पनि बैंकका कर्मचारीहरुको दशैं भत्तामा कुनै असर नपर्ने बताए । उनले पनि दशैं भत्ता नै दिन नसक्ने संस्था नभएको बताए ।

‘दशैं भत्ता दिने प्रावधान नै छ, त्यही अनुसार नै भत्ता तथा सेवा सुविधा दिने गरिन्छ, राष्ट्र बैंकको हकमा पनि नेपाल सरकारले तोकेको भत्ता पाइन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.