कोरोना सन्त्रासकै बीच घरजग्गा जोड्ने कि नयाँ व्यवसाय गर्ने ? यस्ता छन् बैंकले ल्याएका स्कीम

  २०७७ साउन १३ गते ११:३७     विकासन्युज

काठमाडौं । कोरोना सन्त्रासकै बीच घरजग्गा जाेड्न चाहने र नयाँ व्यापार व्यवसाय गर्न चाहनेलाई अवसर स्वरूप विभिन्न बैंक तथा वित्तीय संस्थाले नयाँ याेजना ल्याएका छन् । उनीहरूले  आफ्ना ग्राहकलाई लक्षित गरि ‘घर जग्गा कर्जा’ र ‘नयाँ साना तथा मझौला उद्योग(एसएमई) कर्जा’ योजना सार्वजनिक गरेका हुन् ।

कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले यो योजना ल्याएका हुन् । उक्त याेजना सार्वजनिक गरेकामध्ये सबैभन्दा सस्ताे घर कर्जा नबिल बैंकले दिने भएकाे छ भने एभरेष्ट बैंकले सबैभन्दा सस्ताेमा एसएमई कर्जा दिने भएको छ ।

यससँगै, कर्जा लिन चाहने ग्राहकले निम्न बैंककाे जुनसुकै शाखा कार्यालयबाट सजिलै कर्जा पाउन सक्ने छन् ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले ८.९९ प्रतिशत व्याजदरमा एसएमई लोन दिने भएको छ । कर्जा लिन चाहनेले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र कर्जा पाउन सक्नेछन् ।

आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा १५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।

नबिल बैंक

नबिल बैंकले घर कर्जामा ७.९९ प्रतिशत र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत व्याजदरमा ऋण दिने भएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले चाडपर्व योजना अन्तर्गत घर कर्जा र साना तथा मझौला उद्योग कर्जा पनि रहेको छ । बैंकले ८.२५ प्रतिशत व्याजदरमा घर कर्जा र ८.२५ प्रतिशत व्याजदरमा साना तथा मझौला उद्योग कर्जा दिने भएको छ । उक्त योजना आउदो श्रावण १५ देखि कार्तिक १४ गतेसम्म लागु हुने छ ।

हिमालयन बैंक

हिमालयन बैंकले ८.४९ प्रतिशत व्याज दरमा एसएमई कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जा दिने भएको छ । दश वर्षको अवधिसम्मका लागि पाइने एसएमई कर्जा ग्राहकहरुले न्युनतम पाँच लाख देखि छ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्दछन् ।

बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ ।  यी कर्जा योजनामा लागु हुने व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहने बैंकले जनाएको छ । साथै, यी कर्जाका ग्राहकहरुले क्रेडिट कार्डको सुबिधा पनि एक वर्ष निःशुल्क पाउनेछन् ।

सनराइज बैंक

सनराइज बैंकले ८.९५ प्रतिशत व्याजदरमा सनराइज घर कर्जा (सनराइज होम लोन) योजना ल्याएको छ । यस अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि घर निर्माण, घर तथा जग्गा खरिद गर्नको लागि ऋण लिन पाउने छन् ।

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले साउन १ गतेबाट लागू हुने गरेर ब्याजदर सार्वजनिक गरेको छ । जस अनुसार बैंकले १४.२५ प्रतिशत व्याजदरमा एसएमई र होम लोन दिने भएको छ ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले उद्यमशील कर्जा अन्तर्गत घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुक र उद्यम गर्न इच्छुकलाई विशेष कर्जा सुविधा योजना ल्याएको छ । बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि ९.९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्ने छ ।

आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई वर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना बीमा जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

उद्यमशील कर्जा योजना अन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने जस्ता सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९ प्रतिशत व्याजदरमा सांग्रिला घर कर्जा योजना सार्वजनिक गरेको छ । साथै, यस योजना अन्तर्गत ग्राहकलाई ५० हजार रुपैयाँको कोरोना बीमा तथा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा समावेश गरिएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.