सरकारले चिकित्सकलाई धन्यवाद मात्र दियाे काेराेना जोखिम भत्ता दिएन

  २०७७ असार २५ गते १६:०५     डोमी शेर्पा

काठमाडौं । कोरोना भाइरसका बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अहिलेसम्म पनि जोखिम भत्ता पाएका छैनन् । सरकारले कोरोना भाइरस न्यूनिकरणका लागि उपचारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उपचारमा खटिएका चिकित्सकहरुलाई जोखिम भत्ता दिने बताए पनि असार मसान्त हुन लाग्दा पनि त्यसको कार्यान्वयन गर्न सकेको छैन ।

सरकारले कोरोनाका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई सतप्रतिहतसम्मको जोखिम भत्ता दिने घोषणा गरेको थियो । सरकारले असारभित्रै उनीहरुलाई भत्ता वितरण गरिसक्ने बबताए पनि आज असार २५ गते भइसक्दा पनि कुनै पनि स्वास्थ्यकर्मी तथा चिकित्सकले जोखिमभत्ता नपाएको गुनासो गरेका छन् ।

कोरोनाको उपचार हुने देशका मुख्य अस्पतालमा कार्यरत चिकित तथा कर्मचारीले समेत अहिलेसम्म जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । कोरोना संक्रमितको उपचारको लागि देशमा सबैभन्दा पहिला खटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत एक चिकित्सकले अहिलेसम्म जोखिम भत्ता भनेर आफुहरुले कुनै पनि प्रकारको रकम नपाएको गुनासो गरेका छन् ।

‘जोखिम भत्ताको लागि बैठकहरु बसेर दौड धुप गरेको देखिएको छ तर अहिलेसम्म पाउने कुनै पनि रकम हामीले पाएका छैनौं, असार अन्तिमसम्म पाइसक्नु पर्ने भनिए पनि आजसम्म आएको छैन, अब त पाउने आशै छैन,’ ती चिकित्सकले भने ।

टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जोखिम भक्ता पाउने सबै चिकित्सक र स्वास्थ्यकर्मीको नाम मन्त्रालयमा पठाइसकेको बताए । तर हालसम्म रकम आईनसकेको उनको भनाई छ । हाल टेकुमा ३ सय कर्मचारी रहेको उनले बताए । ‘३ सय जनाले नै जोखिम भक्तका लागि नाम पठाएका छौं, अहिलेसम्म पाएका छैनौं, सायद यो महिनाको अन्त्यसम्म पाउँछौं कि ?’ उनले भने ।

टेकु अस्पतालका चिकित्सकले मात्र होइन त्रिवि शिक्षण अस्पतालमा कोारेनाका बिरामीको उपचारमा खटिएका चिकित्सकले पनि जोखिम भत्ता नपाएका गुनासो गरेका छन् ।

अस्पतालको कोभिड–१९ व्यवस्थापन समिती संयोजक डा सन्त दासले अहिलेसम्म जोखिम भत्ताको रुपमा एक पैसा पनि नपाएको बताए । कोरोनासँग कार्यरत आफ्नो अस्पतालको कुनै पनि कर्मचारीले जोखिम भत्ता नपाएको उनको भनाई छ । उनी भन्छन, ‘हामीले हरेक महिना हाम्रो कर्मचारीको तथ्यांक पठाएका छौं, तर अहिलेसम्म पाउने भन्ने कतैबाट कुरा आएको छैन ।’

यस्तै, पाटन अस्पतालका चिकित्सकहरुले पनि जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । पाटन अस्पताल स्रोतका अनुसार हालसम्म कुनै पनि रकम चिकित्सकले पाएका छैनन् ।

सरकारले घोषणा गरेको लगत्तै चिकित्सकले जोखिम भत्ता पाउने भनेर घोषणा गरेपनि ज्यानलाई जोखिममा राखेर उपचारमा खट्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले अहलिेसम्म रकम नपाउनु विडम्बना हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरुले भने जोखिम भत्ता पाएको प्रयोगशालाका भाइरस विशेषज्ञ बिमलेश झाले बताए । तर, टेकुस्थित स्वास्थ्य सेवा विभाग अन्तर्गतको कुनै पनि कार्यलयहरुका कर्मचारीले जोखिभ भत्ता नपाएको त्यहीँ कार्यरत एक कर्मचारीले बताए ।

आफुहरु प्रत्यक्ष रुपमा खटिए पनि रकम नपाएको उनीहरुको गनासो छ । केही व्यक्तिले रकम पाएको हल्ला सुने पनि आफुहरुले नपाएको उनीहरुले बताए । सरकारले नै चालु आर्थिक वर्षको असारमसान्तसम्म सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता वितरण गरिसक्ने बताएको थियो । तर, अब असार मसान्त सकिनै लाग्दा पनि उनीहरुले भने पैसा पाएका छैनन् । उनीहरुले यो आर्थिक वर्षमा सो भत्ता नपाए आगामी आर्थिक वर्षमा पाउने छैनन् ।

मन्त्रालयबाट रकम पठाइसक्यौंः स्वास्थ्य मन्त्रालय  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने स्वास्थ्यकर्मीले पाउने जोखिम भत्ता पाइसकेको बताएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सबैठाउँमा जोखिम भत्ताको लागि रकम पठाइसकेको बताएका छन् ।

‘कुल कति रकम पठायौं अहिले ठ्याक्कै थाहा भएन, तर हामीले पठाइसकेका छौं, गौतमले भने ।’ कसैले चाँडो कसैले ढिलो पाउलान् तर सबैले पैसा पाउने उनले बताए । यसअघि उनले नै कोभिड-१९ मा खटिने व्यक्तिहरुलाई तोकिएको भत्ता असार मसान्त भित्रै पठाइसक्ने बताए थिए । उनी अहिले असारभित्रै सबैले रकम पाइसक्ने धारणा राख्छन् ।

बजेटमा पनि उल्लेख

आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा पनि स्वास्थ्यकर्मी तथा चिकित्सकले जोखिम भत्ता पाउने उल्लेख गरिएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका बिरामीको उपचारमा संलग्न चिकित्सलाई प्रोहत्सान स्वरुप जोखिम भत्ता दिने बताएका थिए ।

चिकित्सक, स्वास्थ्यकर्मी तथा प्रयोगशालामा काम गर्ने कर्मचारीको व्यक्तिगत सुरक्षा उपकरण सहित सेवामा उत्प्रेरित गर्न प्रोत्साहन भत्ताको व्यवस्था गरेको उनले बजेटमार्फत बताएका थिए । कोरोना लगायत अन्य संक्रामक रोगमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई पाँच लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएको पनि उनले बताएका थिए ।

उनले बजेटमार्फत कोभिड १९ का बिरामीको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खटिने सबैलाई कसैलाई शतप्रतिशत र कसैलाई ५० प्रतिशत र कसैलाई २५ प्रतिशत भत्ता दिने बताएका थिए ।

कसले कति भत्ता पाउँछन् ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ पनि जारी गरिसकेको छ ।

सो व्यवस्था अनुसार कोरोना उपचारमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खटिएका चिकित्सक, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मी, इमेजिङ सेवा प्रदायक, एम्बुलेन्स चालक तथा सहायकले सो भत्ता पाउने छन् ।

यस्तै, ईलेक्ट्रिसियन तथा प्लम्बर, सुरक्षाकर्मी, सरसफाईमा संलग्न कर्मचारी, प्रशासनिक तथा अन्य कर्मचारी, सहयोगी कर्मचारी र सम्बन्धित कार्यलयको प्रमुखले कोभिड-१९ को संक्रमण, रोकथाम, निय्रन्त्रण तथा उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेको भनि प्रमाणित गरेको कर्मचारीहरुले जोखिम भत्ता पाउने उल्लेख गरिएको छ ।

संक्रमणको शंका तथा आईसोलेसनमा राखिएको वा संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीहरुको उपचारमा प्रत्यक्ष संलग्न जनशक्ती तथा संक्रमणको शंकास्पद तथा पुष्टि भएका बिरामीको नमुना संकलन गर्ने जनशक्तिलाई नेपाल सरकारले तोकेको तलब स्केलको शतप्रतिशत पाउने व्यवस्था छ ।

कोरोना संक्रमण शंका लागि आइसोलेसनमा राखिएका संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीहरुको उपचारमा अप्रत्यक्ष संलग्न र इमेजिङ सेवा प्रदायक जनशक्तिलाई नेपाल सरकारले तोकेको तलब स्केलको ७५ प्रतिशत जोखिम भत्ता पाउने छन् ।

कोभिड १९ महामारी सुरु भइसकेपछि स्थापना भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा भारत र चिनको नाकाहरुमा स्थापना गरिएको हेल्थ डेस्कमा खटिएका जनशक्ति तथा प्रयोगशाला परीक्षणको लागि संकलन गरिएको नमुना प्याकिङ्ग तथा ओसरपसारमा संलग्न तथा आईसोलेसनमा राखिएको र संक्रमण पुष्टि भई उपचाररत बिरामीहरुको ओसारपसारमा संलग्न सवारीसाधनहरुमा कार्यरत जनशक्तिलाई दोहोरो नपर्ने गरि सरकारले तोकेको शुरु तलब स्केलको ५० प्रतिशत रकम पाउने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.