पुँजीगत लाभकरलाई अन्तिम मानेपछि सेयर बजारमा कस्तो असर पर्ला ?

  २०७७ असार ५ गते ११:४५     विकासन्युज

काठमाडौं । हाल धितोपत्र बजारको पुँजीगत लाभकर ५ प्रतिशत रहेको छ । तर यो नै अन्तिम हो कि होइन भन्ने यकिन नहुँदा आम लगानीकर्तामा संसय उत्पन्न भएको छ ।

करकै कारण लगानीकर्ता अन्यौलमा छन् । केहीले यो नै अन्तिम कर हो भनिरहेका छन् भने केहीले होइन भनिरहेका छन् । यसलाई स्पष्ट पारिदिन लगानीकर्ताले वर्षौंदेखि माग गरिरहेका थिए र अझै पनि गरिरहेका नै छन् ।

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले पनि लामो समयदेखि बजारमा देखिएको यस्तो दुविधालाई स्पष्ट बनाइदिन अर्थमन्त्रालयलाई आग्रह गरेको छ । बोर्डले केही दिनअघि मात्र यसलाई नै अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाउन अर्थमन्त्रालय समक्ष आग्रह गरेको हो ।

अब अर्थबाट के निर्णय हुन्छ ? त्यो आउन त बाँकी छ । सम्भवतः लामो सयमदेखि उठाइरहेको विषय भएकाले अन्तिम नै मानी गणना गर्ने व्यवस्थामा स्पष्टता हुन्छ कि भन्नेमा सबै आशावादी देखिन्छन् ।

यदि यो नै अन्तिम कर हो यसलाई नै अन्तिम मानी गणना गर्ने व्यवस्था भयो भने के हुन्छ त ? बजारमा यसको के प्रभाव पर्ला ?

लगानीकर्ताले विगत ३/४ वर्षदेखि पुँजीगत लाभकर अन्तिम नै हो भनेर स्पष्ट पारिदिन माग गरिरहेको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेल बताउँछन् । तर यति सहज तथा सरल कुरालाई मात्र स्पष्ट बनाउन पनि वर्षौं लागेकोमा दुःख लागेको उनले बताए ।

‘लगानीकर्ताले धेरै पहिले उठाएका कुरालाई धितोपत्र बोर्डले अहिले पनि जारी राख्नु राम्रो कुरा हो । तर यो अर्थमन्त्रालयले बोलिदिनु पर्यो । सम्बन्धित कर कार्यालयले कार्यान्वयनमा ल्याउनु पर्यो । अनि मात्र त्यसको प्रभाव बजारमा देखिन्छ,’ पौडेलले भने ।

केहिले अन्तिम कर नै हो भनि रहेका छन् भने केहिले होइन भनिरहेका छन् । यहि दुविधालाई चिर्दै अर्थमन्त्रालयले स्पष्ट पारिदियो भने बजारमा सकारात्मक प्रभाव पर्ने उनी बताउँछन् ।

‘पहिलो कुरा त कर कार्यालय र लगानीकर्तामा रहेको अन्योल हट्छ । दोश्रो, लगानीकर्तामा अन्योल हटेसँगै उनीहरुमा आत्मविश्वास बढ्छ । कर चुक्ता दिनको लागि सबैभन्दा सजिलो र सस्तो क्षेत्र तथा आम्दानीको श्रोतको लागि पनि राम्रो क्षेत्र पुँजी बजार हुन्छ । यससँगै, लगानीकर्ताको आत्मविश्वास बढ्छ । यसले ठ्याक्कै प्रडक्टीभिटी तथा निक्षेप कम्पनीलाई त असर गर्दैन, तर लगानीकर्ताको मनोबलमा आधारित हुने बजारलाई राम्रो प्रभाव पार्छ,’ उनले थपे ।

पुँजीगत लाभकरको विषयमा बजारले प्रष्टता खोजिरहेको बताउँदै ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले यो विषय प्रष्ट भयो भने आगामी दिनको बजारमा राम्रो प्रभाव पार्ने बताउँछन् ।

‘लगानीकर्ताहरुले कर तिरिरहेका हुन्थे । ५ प्रतिशत भनेको सिष्टमले नै काटिरहेको थियो । उनीहरुले आफूले एक वर्षभरी कति तिरेको थियो, त्यसको क्लियरेन्स लिन जाने बेलामा कतिले ५ प्रतिशतमात्रै तिरेको देखिन्थ्यो र कर कार्यालयले यो कसरी ५ प्रतिशत हुन्छ ? २५ प्रतिशत तिर्नुपर्छ भन्ने जस्तो कुरा गर्थे, अब त्यसमा प्रष्टता जरुरी थियो,’ अध्यक्ष रानाभाटले भने ।

अहिले लाग्दै आएको ५ प्रतिशत पुँजीगत कर अन्तिम भएपनि स्पष्ट नभएकोले समस्या सिर्जना भएको पनि उनको भनाइ छ ।

‘कतिपय लगानीकर्ता आफैलाई पनि यो अन्तिम कर हो कि होइन, अथवा कर तिर्न पाइन्छ कि पाइदैन भन्ने स्पष्टता थिएन । त्यसैले यो स्पष्टता खोजेको थियो बजारले । वास्तवमा अन्तिम कर नै थियो । अब अर्थमन्त्रालयले अन्तिम नै हो भनिदियो भने लगानीकर्ता तथा कर कार्यालयलाई बुझाई राख्नु परेन, काम गर्न सहज हुनेभयो,’ उनले थपे ।

यसले बजारलाई प्रत्यक्ष प्रभाव नपारे पनि अप्रत्यक्ष रुपमा एकदमै ठूलो प्रभाव पार्ने रानाभाटको भनाइ छ ।

‘नेपालमा कर पनि तिरिरहेको छ । केही सम्पत्ति किन्नको लागि सम्पत्तिको स्रोत देखाउनु पर्छ, कर चुक्ता नपाउने वित्तिकै सम्पत्तिको स्रोत देखाउन समस्या हुनेभयो, अब ५ प्रतिशत पुँजीगत लाभकरलाई नै अन्तिम कर मानेर सोही अनुसारको कर चुक्ता दिने गरिएपछि यस्ता विषयमा पनि सहजता प्राप्त हुन्छ,’ उनले थप स्पष्ट पार्दै भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.