अत्याचारी कीट कस्ले पठायो ? (भिडियाेसहित)

  २०७७ जेठ २६ गते २१:३४     केशवराज जोशी

बच्ने सानो आशले भित्र बस्छौं
डस्ला भन्ने त्रासले भित्र बस्छौं
आफ्नै छाप्रो जेलजस्तो बनायो
अत्याचारी कीट कस्ले पठायो ?

वल्लोपल्लो तीरमा दम्पती छन्
हेर्दै टाडाबाट टोलाउँदैछन्
आफ्नाबाटै आज आफ्ना छुटायो
यस्तो जाली कीट कस्ले पठायो ?

देखाई वारुद, गोला र पैसा
दम्भी राख्थे विश्व हाँक्ने इरादा
मै हूँ भन्थे, भन्नदेऊ झुकायो
यस्तो योद्धा कीट कस्ले पठायो ?

ठूलोसानो भेद सारा मिटायो
जो भेट्टायो, ग्वाम्म खायो, पचायो
खै के होला ? त्रास सर्वत्र छायो
यस्तो भोको कीट कस्ले पठायो ?

लेखक

बोल्नोस् प्यारा सुस्तरी ख्याल राखी
धर्ती माता ध्यानमा लीन छिन् कि !
पृथ्वी सारा जीवकी हुन् बुझायो
यस्तो बुझ्ने कीट कस्ले पठायो ?

साँच्चै दौडादौडमा के थियो खै ?
मान्छे जन्म्यौं यन्त्र जस्ता भयो है !
धेरैथोरै अंश मान्छेपनाको
फर्कायो यो कीट कस्ले पठायो ?

मै हूँ भन्ने भावना डग्मगायो
हाम्रा सीमाको कहानी बतायो
आँखाको सम्पूर्ण छारो हटायो
यस्तो ज्ञानी कीट कस्ले पठायो ?

यस्ता लाखौंलाख बाधा छिचोली
आयो मान्छे जित्छ यो पल्ट फेरी
जुट्दै उठ्ने पाठ मीठो पढायो
अध्यापक्झैं कीट कस्ले पठायो ?

(भिडियाेमा पनि)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.