नेपाल धितोपत्र बोर्ड स्थापनाको २८ औं वर्षमा प्रवेश

  २०७७ जेठ २५ गते २१:१८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्थापनाको २७ वर्ष पुरा गरी २८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बोर्डले वार्षिकोत्सव कार्यक्रमलाई वेबिनारमार्फत सम्पन्न गरेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको सभापतित्वमा आयोजित कार्यक्रको प्रमुख अतिथि माननीय अर्थ र सूचना तथा संचार मन्त्री डा. युवराज खतिवडा रहेका थिए ।

त्यसैगरी कार्यक्रमको विशेष अतिथिमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी तथा अतिथिहरुमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई, नेपाल स्टक एक्सचेञ्ज लि. का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद, नेपाल मर्चेन्ट बैैकर संघका अध्यक्ष ध्रुव तिमिल्सिना र स्टक ब्रोकर एसोशियसनका अध्यक्ष भरत रानाभाट रहेका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि डा. खतिवडाले बोर्डको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै बोर्ड, नेपालको धितोपत्र बजार विकास तथा सुधारमा सशक्त नियमन निकायको रुपमा अगाडि बढने अपेक्षा गर्दै बजार विकास तथा विस्तार सम्बन्धमा अगाडि बढ्न निर्देशन दिए ।

मन्तव्यको क्रममा उनले बोर्ड हालैका दिनहरुमा थप संगठित र व्यवस्थित संस्थाको रुपमा अगाडि बढिरहेको बताए । नेपाल सरकारको ऋणपत्र बजारको विकास तथा विस्तार, पूर्ण स्वचालित दोस्रो बजार कारोवार प्रणाली र संस्थागत लगानीकर्ताको बजार प्रवेश तथा सहभागीता बढाउनमा जोड रहेको बताउँदै ऋणपत्रको दोस्रो बजार कारोबारलाई आगामी दिनमा सकृय गराउन, पूर्ण स्वचालित कारोवार प्रणालीको विकास तथा संस्थागत लगानीकर्ताको रुपमा धितोपत्र व्यापारी (डलर) लाई बजार प्रवेश गराउनका लागि आफुले बजेटमा समेत सो नीति तथा कार्यक्रम ल्याएको समेत बताए ।

धितोपत्र बजारमा साख मूल्यांकन संस्थाहरुको स्तरीकरणले नयाँ लगानीकर्ताहरुलाई लगानी सम्बन्धी निर्णय लिन सहज हुने सन्र्दभमा साख मूल्यांकन संस्थालाई थप विश्वसनीय, भरपर्दो प्रतिस्पर्धी बनाउनुका साथै यसको लागत घटाउन तर्फ लाग्नुपर्नेमा जोेड दिए । लकडाउन पश्चात खुल्ने धितोपत्र बजारमा तरलता ल्याउन बोर्ड तथा सम्बन्धित पक्षहरुले तरलता व्यवस्थापन, मार्जिन कारोबार सम्बन्धी व्यवस्था तथा सहज रुपमा राफसाफहुने व्यवस्था सम्बन्धमा छलफल गर्नका लागि निर्देशन दिए ।

मन्तव्यकै क्रममा उनले सूचनाको आधारमा नै लगानीकर्ताहरुले सेयर बजारमा लगानी गर्ने हुनाले सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाइ सुसूचित निर्णय गर्न सक्ने बनाउनुपर्ने बताए । त्यसैगरी कम जोखिम लिन चाहने लगानीकर्ताहरुले सामूहिक लगानी कोषमार्फत लगानी गर्न सक्ने परिप्रेक्ष्यमा सोलाई थप व्यवस्थित गर्नका लागि निर्देशन दिए । त्यसैगरी बजारमा स्थायित्वका लागि संस्थागत लगानीकर्ताहरुको विशेष भूमिका रहने सन्र्दभमा स्टक डिलरलाई अनुमति दिंदा अस्वभाविक उतारचढाव हुनबाट रोक्न सकिने समेत बताए ।

धितोपत्र बजारमा प्राइभेट इक्वीटी, भेञ्चर क्यापिटल, हेज फण्ड जस्ता संस्था तथा उपकरणहरुको प्रवेश भएतापनि लगानीकर्ताहरुमा सो सम्बन्धी ज्ञान कम रहनुका साथै वस्तु विनिमय बजार सम्बन्धमा समेत ज्ञान कमी रहेको सन्र्दभमा बोर्ड लगायतका निकायहरुले श्रव्यदृश्य, तालिम, गोष्ठी तथा अन्य प्रसारणका माध्यमबाट प्रभावकारीरुपमा जनचेतना अभिवृद्धि सम्बन्धी कार्यहरु गर्नुपर्ने समेत बताए । कोभिड-१९ पश्चातको अब विश्व अर्थतन्त्रले नयाँ मोड लिने सन्र्दभमा सार्कस्तरमा पुँजी बजारलाई विकास तथा विस्तार गर्न एक आपसमा प्राविधिक सहयोग तथा सहकार्य गर्न आवश्यक देखिएको समेत बताए ।

कार्यक्रमका सभापति तथा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बोर्डको कार्य प्रगति विवरण र आगामी दिनमा बोर्डका प्राथमिकतासहितको भनाई राखेका थिए । उनले नेपाल सरकारले गरेको लकडाउन तथा कारोनाको थप संत्रास र अललाइन कारोवार प्रणालीमा सम्लग्न लगानीकर्ताको संख्या न्यून रेहका कारणबाट हाल धितोपत्र बजार बन्द रहेकोमा बोर्ड नेप्से, सिडिएससि, धितोपत्र व्यवसायी र लगानीकर्ताहरुसँग के कसरी सहजरुपमा कारोबार संचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको बताए ।

बोर्डबाट यस आ.व. मा धितोपत्र सम्बन्धी नियमावलीहरुमा संशोधन गरी समसामयिक बनाइएको, सूचना प्रविधि नीति लागू गरिएको, नयाँ उपकरणको रुपमा खुलामुखी सामूहिक लगानी योजना ल्याउनुका साथै लगानीकर्ता साक्षरता अभिवृद्धि सम्बन्धी कार्यहरु सञ्चालन गरिएको र लगानीकर्ताहरुको लगानी अवसर बढाउन वस्तु विनिमय बजार संचालनका लागि अनुमति दिने र भेञ्चर क्यापिटल तथा प्राइभेट इक्विटी सञ्चालन अनुमति दिने प्रकृया अगाडि बढाइएको समेत जानकारी दिए ।

मन्तव्यकै क्रममा बोर्ड अध्यक्षले बोर्डले आगामी आा.व.मा धितोपत्र तथा वस्तु विनिमय बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बनाउँदै लैजाने, सूचना प्रविधिको प्रयोग बढाई बजार तथा नियमन कार्यलाई प्रभावकारी बनाउने, संस्थागत क्षमता अभिवृद्धि गर्ने, कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने, बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्नुका साथै दोस्रो बजारको संरचनात्मक सुधार लगायतका कार्यहरुलाई प्राथमिकता दिई कार्य गर्ने विचार व्यक्त गरे ।

कार्यक्रमको विशेष अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले शुभकामना मन्तव्य दिंदै वित्तीय क्षेत्रको विकाससँगसँगै यसको स्थायित्वमा यस क्षेत्रका नियमनकारी निकायहरु सफल हुने विश्वास आफुले लिएको बताए । हालको धितोपत्र बजारको संस्थागत, संरचनागत र नीतिगत विषयहरु हेर्दा यसको दायरा बढनुका साथै यो बजार आधुनिकीकरण तर्फ उन्मुख रहेको भनाइ राखे । नेपालको वित्तीय बजारलाई परिपक्व तथा विश्वसनीय बनाउका लागि नियमन निकायहरुले अझै मेहनत गर्नुपर्ने औल्याए ।

साथै मुद्रा बजार तथा पूँजी बजार विकासहुने क्रममा रहेको सन्र्दभमा यी बजारको विकास सँगसँगै देशको अर्थतन्त्रको विकासमा समेत सघाँउ पुगिरहेको धारण समेत राखे । हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारणले वित्तीय क्षेत्रमा आत्मबल कमजोर हुन पुगेको सन्र्दभमा यस क्षेत्रका नियमन निकायहरु एकीकृत रुपमा अगाडि बढी समग्र वित्तीय प्रणालीमा सहभागीहरुको आत्मबल उकास्न लाग्नु पर्ने समेत बताए ।

कार्यक्रमका अतिथि बीमा समितिका अध्यक्ष चापागाईले सो अवसरमा शुभकामना व्यक्त गर्नुहुदै बोर्डले प्राथमिक बजारमा आस्वा प्रणाली लागू गरी लगानीकर्तालाई सहज रुपमा सेयर आवेदन गर्न सक्ने व्यवस्था गरी सराहनीय कार्य गरको बताए । त्यसैगरी उनले प्राथमिक बजारमा जस्तै बोर्डले धितोपत्रको दोस्रो बजारलाई समेत पूर्ण स्वचालित बनाउने कार्यमा समन्वय तथा सहजीकरण गर्नुपर्ने बताउँदै वास्तविक क्षेत्रका कम्पनीहरुलाई बजारमा भित्रयाउन र बीमा कम्पनी जस्ता दीर्घकालीन बचत परिचालन गर्ने संस्थाहरु ठूलो रकम कोषको रुपमा रहेकोले उक्त बचत धितोपत्र बजारमा लगानी गर्न सक्ने अवसर उपलब्ध गराउन विशेष ऋणपत्र लगायतका अल्पकालीन उपकरणहरु सञ्चालनको व्यवस्थाका लागि थप कार्य गर्नुपर्ने समेत भनाई राखे । त्यसैगरी कोभिड-१९ का कारण उत्पन्न समस्या समाधानका लागि नियमन निकायहरुबीच समन्वय जरुरी रहेको समेत बताए ।

नेपाल स्टक एक्सचेञ्ज लि. का प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका अतिथि चन्द्र सिंह साउदले बजार संचालकको रुपमा रहेको नेप्सेले सदैव बोर्डको निर्देशन र समन्वयमा कार्य गरिरहेकोमा आगामी दिनहरुमा समेत सोही अनुसार कार्य गर्ने बताए । त्यसैगरी उनले हालको नेप्सेको कारोबार प्रणालीमा ऋणपत्रको कारोबार हुन सक्ने व्यवस्था गरिसकेको जनाउँदै इक्विटी डेरिभेटिभ्सको संचालनका लागि आवश्यक अध्ययन तथा छलफल भैरहेको समेत जानकारी गराए । कार्यक्रमा अतिथि रहेका नेपाल मर्चेन्ट बैैकर संघका अध्यक्ष ध्रुव तिमिल्सिना र स्टक ब्रोकर एसोशियसनका अध्यक्ष भरत रानाभाटले धितोपत्र बजार सहभागीहरु नियमन निकायको निर्देशनमा यसको सुधार तथा विकासका लागि निरन्तर सहकार्य गर्न तत्पर रहेको भनाइ राखे ।

उक्त कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक परीष्टनाथ पौड्यालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण बोर्डका कार्यकारी निर्देशक निरज गिरीले गराएका थिए । साथै कार्यक्रममा बोर्डमा २० वर्ष अवधि पुरा गरेका कर्मचारी क्रमशः उप कार्यकारी निर्देशक डा.नवराज अधिकारी, का.मु निर्देशक सुरज प्रधानांग र सहायक निर्देशक नवराज पण्डितलाई बोर्डका अध्यक्षबाट दीर्घ सेवा पदक प्रदान गरिएको थियो भने उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्ड वार्षिकोत्सव लेख विशेषांक, २०७७ को विमोचन समेत गरिएको थियो । उक्त कार्यक्रमको लाईभमा कूल ८,८२४ सरोकारवालापक्षहरुको प्रत्यक्ष सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.