अन्तरजातिय प्रेमकै कारण ज्यान गुमाउनु परेको घटना, दोषीउपर कडा कारवाहीकाे माग

  २०७७ जेठ १३ गते ७:४९     विकासन्युज

काठमाडौं । अन्तरजातिय प्रेमकै कारण रुकुममा ज्यान गुमाउनु परेको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारवाही गर्न प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले सरकारसँग माग गरेकी छिन् ।

दैलेखबाट संसद्मा प्रतिनिधित्व गरेकी सांसद विशुन्खेले प्रेस विज्ञप्ति जारी गरी रुकुमपश्चिम चौरजहारी–८ मा कुटपिटबाट जाजरकोटका नवराज विश्वकर्मा र रुकुम चौरजहारी–१ कै टीकाराम विश्वकर्माको मृत्यु भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाही गरी पीडित परिवारप्रति कानूनी राज्यको अनुभूति दिलाउन आग्रह गरेकी हुन् ।

“यसरी नै जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै जाने हो भने संवैधानिक व्यवस्था भएको र संयुक्त राष्ट्रसङ्घको पक्ष राष्ट्र भएको यो राष्ट्रले महङ्गो मूल्य चुकाउनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै जातीय छुवाछूतको सवाललाई शून्य सहनशीलता प्रभावकारीरूपमा कार्यान्वयन गरियोस् भनी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु” उनले भनिन् ।

शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँगको नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीय गाउँलेको कुटाइबाट नवराज र टीकारामको मृत्यु भएको थियो ।

त्यसैगरी नेपाल दलित मुक्ति सङ्गठनले पनि विज्ञप्ति जारी गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न, मृतक नवराज विक र टीकाराम विकलाई सांस्कृतिक शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष जोरदार माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.