काठमाडौं । बैंकिङ क्षेत्रमा धेरै चर्चित बैंकर्सको रुपमा उदाएका छन् मनोज ज्ञवाली । सूचनामा राम्रो पहुँच, दरिलो प्रस्तुति, प्रशंसनीय कार्यसम्पादन नतिजा ।
नेपाल राष्ट्र बैंक, ग्लोवल आईएमई बैंक जस्ता ठूला संस्थामा काम गर्दै ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएका ज्ञवालीले सोहि बैंकमा आफ्नो क्षमता देखाएका छन् ।
उनको नेतृत्वमा बैंकले करिव ४ वर्षमा २५४ प्रतिशतदेखि ३८३ प्रतिशतसम्मको ग्रोथ हासिल गरेको छ । तर पनि उनको प्रमुख कार्यकारी पदमा क्रमभंगता आएको छ । बैशाख १५ मा उनको कार्यकाल सकिने तर कार्यसमितिले कार्यकाल नथप्ने भएपछि उनले स्वभाविक राजीनामा दिएका छन् ।
पद त्यागेपछि प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंक धेरै राम्रो अवस्थामा रहेकाे बताएका छन् । बैंक अहिलेको अवस्थामा आउनमा बैंकका कर्मचारी, सञ्चालक समिति र सेयरधनीको ठूलो भूमिका भएको उनले टिप्पणी गरे ।
ज्योति विकास बैंकमा करिब चार वर्ष काम गरेका ज्ञवालीले आफ्नो कार्यकालमा संस्थाले धेरै सूचकाङ्कमा फड्को मारेको बताएका छन् । ‘म २०७३ असारमा ज्योति विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकसँग जोडिदै गर्दा बैकको २४ वटा शाखा, ९८ करोड रुपैयाँ पुँजी, ७.५ अर्ब रुपैयाँ निक्षेप र ६ अर्ब रुपैयाँ कर्जा थियो भने हामी २०० हाराहारी कर्मचारी थियौ’ उनले पुरानो अवस्थाबारे छोटकरीमा भने ।

हाल बैंकको १०५ वटा शाखा भएका छन् । ३ अर्ब ५० करोड रुपैयाँ पुँजी पुगेको छ । ३४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । २९ अर्ब रुपैयाँ कर्जा छ र ८०० भन्दा बढि कर्मचारी साथीहरु बैंकमा छन् ।
चार वर्षको अवधिमा शाखा ३३७ दशलवमल५ प्रतिशतले वृद्धि भएको छ । पुँजी २५७ प्रतिशतले वृद्धि भएको छ । निक्षेप ३५३ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ । कर्जा ३८३ प्रतिशतले वृद्धि भएको छ । कर्मचारी ३०० प्रतिशतले वृद्धि भएको छ ।

‘त्यति बेला बैंकको नाफा १५ करोड रुपैयाँ थियो । गत बर्ष नै रु.५३ करोड भन्दा माथि पुगेको छ । नाफा वृद्धि पनि २५४ प्रतिशत रहेको छ । बैंकले अहिले सम्मकै सबैभन्दा बढि १२.७५ प्रतिशत लाभांस वितरण गर्न सफल भएको छ’ बैंक छोडेपछि उनले विकासन्युजसँग कुरा गर्दै भने ।
सम्पत्तिको गुणस्तर अझै परिस्कृत भएको, १.३९ प्रतिशत रहेको निस्कृय कर्जा अहिले घटेर शुन्य दशमलव ५४ प्रतिशतमा सीमित रहेको ज्ञवालीले बताए ।
‘हामीले धैरै प्रोडक्टहरु थप्यौं, तिनीहरु बनायौं, आइटी सेक्युरिटीमा काम गर्यों । बैंकलाई प्रविधिसँग जोड्यौं’ अंकमा व्यक्त गर्न नसकिने सुधारबारे उनले भने ।
‘मैले १.५ वर्ष नायब प्रमुख कार्यकारी अधिकृत, ४.५ महिना का.मु. प्रमुख कार्यकारी अधिकृत र २ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेँ । र, संस्थाको सबै सूचकाङ्कहरु चार वर्ष भन्दा कम अबधिमा धेरै माथि पुगेका छन्’ उनले बैंकले भने ।
उनकै कार्यकालमा तीन वटा क्षेत्रीय स्तरका विकास बैकहरु प्राप्ति /मर्जर प्रक्रिया सफलता पूर्वक सम्पन्न भए । विगत २ वर्ष बैंकिङको लागि धेरै कारणले चुनौति पूर्ण थियो । तरलता अभावको कारण व्यावसाय वृद्धि अझ धेरै चुनौति पूर्ण थियो । ‘यस्ताे कठिन अवस्थामा संस्थालाई आगडि बढाउने सहयोग गर्ने साथीहरुबारे उल्लेख गर्दै उनले भने ‘मेरा संगीसाथी तथा आफन्तहरुको साथ, नियमनकारी निकायको मार्ग दर्शन, मेरा असल सहकर्मीहरुको दिनरात मेहनेत, शेयरधनी र ग्राहकहरुको विश्वास, तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरले बनाईदिएको आधार र संचालक समितिको मार्गनिर्देशन तथा दिएको सिकाईको भूमिका महत्वपूर्ण छ । सँगै हामी पुँजी पुर्याउछौं, तिमी काम गरेर अघि बढ भनेर ढुक्क पार्ने सञ्चालक समिति र सेयरधनीको ठूलो भूमिका छ’ उनले भने ।
स्रोतहरुको अनुसार बैंकको वित्तीय प्रगति राम्रो भए पनि सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीच केही इगोको समस्या रहेका थिए । ज्ञवालीले अलि बढी स्वतन्त्रता खोजेका थिए भने संचालकले अलि बढी अंकुश लगाउन खोजिरहेको थियो ।
ज्योति विकास बैंकमा प्रमुख कार्यकारी पद अस्थीर नै भएको छ । १२ वर्षको बैंकले अब पाँचौ प्रमुख कार्यकारी अधिकृत नियुक्ती गर्दैछ । झलकप्रसाद खनाल, हेमराज रानाभाट, कृष्णबहादुर कुँवर र मनोज ज्ञवाली पछि पारसराज कँडेल कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् ।