म दिनरात काम गर्छु, साथीहरु भन्छन्- ‘तिमी कति भाग्यमानी’

  २०७६ चैत २३ गते १३:४८     विकासन्युज

३३ वर्षको उमेरमा नायब प्रमुख कार्यकारी अधिकृत भइन् उपासना पौडेल, युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमा ।

उनका धेरै साथी सङ्गिनीले भन्छन्- ‘तिमी त भाग्यमानी रहेछौं । छिट्टै प्रगति गर्यौं । राम्रो अवसर पायौं ।’

‘जसले मलाई भाग्यमानी ठान्छन्, उनीहरुलाई के थाहा मेरो मिहिनत’ उपासना भन्छिन्- ‘हुनसक्छ, लकले पनि साथ दिनुपर्छ । तर म बिहानैदेखि राती अबेरसम्म अफिसको काम गर्छु । कुनै दिन राती ४ बजेसम्म अफिसमा बसेर काम गरेको छु ।’

उनकी छोरी ७ महिनाको भइन् । अहिलेपनि घरबाट बिहान ८ः३० बजे निष्कनु र बेलुका ९/१० बजे घर पुग्नु उनको दैनिकी हो । ‘छोरी ममीले हेर्नुहुन्छ । एक जना सहयोगी राखेकी छु’ उनले लामो स्वास फेरिन् र भनिन्- ‘गाह्रो छ ।’

किन ?

‘यति सानो बच्चा घरमा छोडेर अफिसमा १२/१४ घण्टा काम गर्छु । तपाईं आफै भन्नुहोस् न ।’

उनले सोचलाई तत्काल बदलिन् । ‘तर म ह्यापी छु । घर छ । परिवार छ । आफ्नो देशमा काम गर्न पाएको छु ।’

पढाई र जबको सिलसिलामा एक दशकभन्दा बढी विदेशमा बसेकाले होला, देशमा बसेर काम गर्न पाउनुलाई पनि उनले खुशीको रुपमा प्रकट गरिन् ।

भारतीय एक्जा जनरनल इन्स्योरेन्समा काम गर्दा तलब, अतिरिक्त सुविधा, बोनस सहित वर्षमा ६० लाख रुपैयाँसम्म कमाइ हुने गरेको तर नेपालमा त्यो भन्दा धेरै कम भएको उनले बताइन् ।

तर उनी खुशी देखिन्छिन् । भन्छिन्- ‘मलाई नेपालमै ठिक छ । आफ्नै देशमा काम गर्न पाइएको छ । घर छ । परिवार छ । पहिचान छ ।’

देश र पहिचानको कुरा गर्नु, भारतमा भन्दा कम पैसा भए पनि नेपालमा काम गर्दा खुशी हुनुमा अर्को कारण पनि रहेछ । भन्छिन्- ‘भारतका कम्पनीहरुमा कार्यकारी प्रमुख पदमा रहेर काम गर्ने अवसर नेपालीलाई हमेसा मिल्दैन । नेपालभित्र टप लेबलमा बसेर काम गर्न पाइने अवसर प्रशस्त छ । मलाई पैसाले भन्दा रिकग्निशनले बढी सन्तुष्टि दिन्छ ।’
पाँच वर्षअघि कसैले तिम्रो चाहाना के हो भनेर प्रश्न गर्यो भने उनी भन्थिन्- ‘मेरो चाहाना भीपी (भाइस प्रेसिडेन्ट) बन्ने ।’

डेपुटी सीईओ भईसकेपछि उनको चाहना फेरिएको छ । ‘अहिले कम्पनी कसरी राम्रो बनाउने भन्ने चाहना छ । काम राम्रो गर्नेलाई अवसर आइहाल्छ ।’

नेपाली युवा पुस्तामा आफै उद्यमी बन्ने आकांक्षा धेरैमा पलाएको छ । तर उपासनाले विजनेशमा आफ्नो रुचि नभएको बताइन् । ‘आफै बिजनेश गर्दिन । चाहेको भए बाबाको विजनेश नै चलाउँथे ।’

शिक्षित परिवारमा जन्म


विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिता, ‘भविष्य कोरौं, एक लाख जितौं’


काठमाडौंको कुलेश्वरस्थित शिक्षित परिवारमा जन्मेकी उपासना । हजुरबुबा पण्डित पनि, स्कूलको प्रधानाध्यापक पनि । बुबा व्यवसायी । आमा बैंकर्स । एमबीएपछि उनलाई बैंकमा काम गर्न मन थियो । नसोचेको क्षेत्र जनरल इन्स्योरेन्समा उनी डुबिन् ।

उनले स्कूल शिक्षा डिएडीबाट लिइन् । प्लसटु डनबास्कोबाट । बिजनेश इन्फर्मेशसन सिस्टम विषयमा ब्याचलर काठमाडौं कलेज अफ म्यानेजमेन्टमा गरिन् । र, एमबीए दिल्ली यूनिभर्सिटीबाट गरिन् ।

पहिलो काम भारतको पुनेस्थिति कमेन्स इन्डिया नामक कम्पनीमा गरिन् । गाडीको इन्जिन लगायत मेरिनरी सामान उत्पादन गर्ने यो कम्पनीमा उनले ९ महिना काम गरिन् ।

उपासनाको विवाह हुने भयो । केटा नेपाली नै हुन् तर बम्बईमा बस्थे । त्यहाँ औषधि कम्पनीमा चीफ फाइनान्स अफिसर थिए । विवाहसँग उपासना पनि बम्बई बस्ने भईन् । तर काम गरिरहेको कम्पनीको शाखा बम्बईमा अफिस थिएन । उनले अफिस छोडिन् ।

विवाह लगत्तै उनले बम्बईमा आईसीआईसीआई जनरल इन्स्योरेन्स कम्पनीमा काम गरिन्, प्रडक्ट मेनेजर भएर । इन्डियाको टप फाइभ कलेजबाट पासआउट भएकोले राम्रो पाेजिशन दियो कम्पनीले । बैंकले गराउने बीमा पाेलिसी (बैंक्यास्याेरेन्स) बनाउने जिम्मेवारी पाइन् उनले ।

‘तीन वर्षमा बढुवा हुने कम्पनीको नियम भए पनि मैले एक/दुई वर्षको बीचमा प्रमोशन पाए । म सिनियर प्रडक्ट म्यानेजर भए । नेतृत्व विकास गर्ने कम्पनीको योजनाभित्र मैले ग्रुप लिडर हुने मौका पाए । बीमा भित्र फाइनान्स बाहेक सबै जिम्मेवारी हेर्ने मौका पाए । प्रडक्ट डेभलपमेन्ट, रिइन्स्योरेन्स, आईटी म्यानेजमेन्ट लगायतका क्षेत्रमा काम गरेँ’ उनले अनुभव सुनाइन् ।

उक्त कम्पनीमा काम गरेको ३ वर्ष भएको थियो । उनलाई भोडाफोनबाट जागिरको अफर गयो । आईसीआईसीआई छोडेर उनी भोडाफोनमा जोइन भइन् ।

भाेडाफोनमा उनलाई पोष्टपेडको मार्केटिङको जिम्मा दिइयो । त्यतिबेला उपभोक्ताहरु पोष्टपेड छोडेर प्रिपेडमा जान थालेका थिए । ‘पोष्टपोड छोडर प्रिपेडमा जाने ग्राहकलाई कसरी रोक्ने, भोडाफोन छोडर अरु टेलिकमको सर्भिस लिन खोज्नेलाई कसरी रिटेइन गर्ने भन्ने जिम्मेवारी काँधमा आयो’ उनले भनिन्- ‘नयाँ ग्राहक कसरी वृद्धि गर्ने भन्ने पनि थियो ।’

भोडाफोनमा काम गरेको साढे दुई वर्ष भएको थियो । त्यहिबीचमा आईसीआईसीआई काम गर्दाको उपासनाको मेन्टरले भारतीय एक्जा जनरनल इन्स्योरेन्समा काम शुरु गरे । पूर्व मेन्टरको अफरमा फेरी उपाशना जनरल इन्स्योरेन्स कम्पनीमा फर्किन् । ‘इन्स्यारेन्स जानेको क्षेत्र पनि भयो । मलाई इन्स्योरेन्समा फेरी फर्कन मन लाग्यो । म भारतीय एक्जामा जोइन भएँ ।’

भारतीय एक्जामा दुई वर्ष काम गरेपछि उनी नेपाल फर्किन् र सानिमा जनरल इन्स्योरेन्समा नायव महाप्रबन्धक भइन् । डेढ वर्ष काम गरेर उनले सानिमा छोडिन् । गत मंसिरदेखि उनी यूनाईटेडमा डेपुटी सीईओको रुपमा प्रवेश गरिन् ।

उनले छोटो अवधिमा ६ कम्पनी परिवर्तन गरेको देखियो । जसलाई राम्रो मानिदैन ।

तर उपासनाले आफ्नो बचाउँ गरिन् । ‘कमेन्समा काम गर्नु मेरो चाहाना थिएन । कलेजको सिस्ष्टमबाट जानु परेको हो । आईसीआईसीआई मैले राम्रो अवसर पाएको हुँ । ३ वर्षसम्म काम पनि गरे । तर मलाई कन्जुमर इडिस्ट्रजमा काम गर्ने चाहानाले म भाेडाफोन गए । भारतीय एक्साबाट फर्कदा म अब जनरल इन्स्योरेन्समा नै काम गर्छु भनेर फर्किए । त्यसपछि म निरन्तर जनरल इन्स्योरेन्समा छ ।

उनी थप्छिन्- ‘मलाई धेरैले भन्छन्- तिमी त धेरै स्थीर भयौं । मलाई लाग्छ- युनाईटेडमा कम्तिमा ५ वर्ष काम गर्छु । दोस्रो, म जनरल इन्स्योरेन्स भन्दा बाहिर जान्न ।

उनले आँटिलो प्रस्तुति राखिन् । ‘मलाई पैसा भन्दा रिकग्निशनले  मनपर्छ । जुन क्षेत्रमा म छु, त्यो क्षेत्रमा मलाई राम्रो ज्ञान छ । जोसँग जे विषयमा ज्ञान छ उसले त्यहि क्षेत्रमा मात्र रिकग्निशन पाउँछ ।

बैकिङ क्षेत्रबाट धेरै अफर र अवसर आएको तर नगएको उनको भनाई छ । ‘मैले धेरै वर्ष बीमामा काम गरे । विदेशमा, नेपालमा । अब म यो क्षेत्रमा नै काम गर्छु । सोचमा परिवर्तन ल्याउन सक्छु ।’

कुराकानीको क्रममा अब उनी बीमा क्षेत्रको समस्याको जडमा पसिन् । ‘बीमा जबर्जस्ती गर्नुपरेको छ । बीमा कम्पनीले पैसा लग्यो । बीमा गरेर केही पाउने होइन भन्ने माइन्डसेट छ । बीमा गर्नु भनेको पैसाको बर्वादी मात्र हो भन्ने बीमितलाई परेको छ । यस्तो सोचमा परिवर्तन गर्न सकिन्छ’ उनले भनिन्- ‘नेपालमा खराब अनुभवहरु पनि छन् । बीमा दावी भुक्तानी पाउन धेरै गाह्रो भएको भएको उपभोक्ताको अनुभव छ । त्यसमा हामीले सुधार थालिसकेका छौं ।’

उनले अपनाएको नयाँ शैलीबारे पनि भनिन् । ‘पहिला बीमा गर्दा पोलिसीमा लेखिएका सबै कुरा बुझाउँछौं । बीमा दावी गर्दा कति पाइन्छ, त्यो सबै बुझाउँदैछौं । दोस्रो, हामी हेल्पलाईन राख्दैछौं । बीमा दावी आओस् वा नआओस्, ग्राहक सेवा दिनुपर्छ । २४ सै घण्टा सेवा दिन्छौं । टाउको दुख्यो, कहाँ उपचार गर्ने ? हामी ग्राहकलाई सुझाव दिन्छौं । गाडी ठोकियो । कहाँ जाने ? के गर्ने ? हामी सबै भनिदिन्छौं ।

बीमा दावी आयो भने स्वास्थ्य बीमाको ७ दिनभित्र, मोटर बीमा १५ दिनभित्र भुक्तानी दिने याेजना छ । हामी नयाँ प्रडक्ट पनि ल्याउँदै छौं, जहाँ डिडक्सन कम होस्, ग्राहकलाई वेष्ट अफ मनि भन्ने फिल गर्नु नपरोस् ।

उनी व्याख्या गर्दै गईन् । हामी कहाँ बीमा पोसिली बेच्ने तरिका ठिक छैन । किन्नेले पनि, बेच्नेले पनि सस्तो पोलिसीमा फोकस भयो । गोदामको बीमा दोकानको रेटमा गरिन्छ, गराइन्छ । सस्तो बीमाको बेफाइदा बीमितलाई बुझाउने प्रयास जरुरी छ ।

हामीले कर्पोरेट क्लाइन्टलाई एक्स्पर्टबाट बुझाउने काम शुरु गरेका छौं । एक जना स्टाफलाई पठाएर ल हेर है मात्र भनेका छैनौं । मेडिकल इन्स्योरेन्स र मोटर इन्स्योरेन्समा नयाँ अभ्यास गर्दैछौं ।

५५ प्रतिशतको ग्रोथ

युनाईटेड इन्स्योरेन्स स्थापनाको क्रममा ५औं कम्पनी हो । बिजनेशको हिसावले कुनै बेला टप थ्रीमा पर्थ्यौं । यो कम्पनीको प्रमोटर ठूला र सफल व्यवसायीक संस्था छन् । हामीसँग युवा कर्मचारी छन् । कर्मचारी पनि बीमाबाट मात्र नभई अरु क्षेत्रबाट पनि आएका छन् । हामीले राम्रो शुरुवात गरिसकेको छौं । चालु आर्थिक वर्षमा ५५ प्रतिशतले विजनेश ग्रोथ भएको छ । हामीले अर्गानिक ग्रोथ र नाफामुखी ग्रोथलाई प्राथमिकता दिएका छौं ।

4 comments on "म दिनरात काम गर्छु, साथीहरु भन्छन्- ‘तिमी कति भाग्यमानी’"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.