विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं

  २०७६ चैत २० गते १२:१०     विकासन्युज

काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।  कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने, महामारीको प्रतिकारका लागि नयाँ सोच, विचार अगाडि सार्ने र सरकारलाई पनि सहयोग गर्ने उद्देश्यले स्वतन्त्र लेखन प्रतियोगिता गर्न लागिएको विकासन्युजको प्रवद्र्धक कम्पनी विकास मिडियाले जनाएको छ ।

स्वतन्त्र लेखन ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा केन्द्रीत हुनुपर्नेछ । यसमा कोरोना महामारीको विश्वव्यापी अवस्था, नेपालको अवस्था, यसबाट बच्ने उपायहरु, यस महामारीले विश्व समुदायमा ल्याएको चुनौतिहरु, नेपालमा अगाडि देखिएका चुनौतिहरु, यसले विश्वलाई दिएको सन्देशहरु, विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु, मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु, मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु, वातावरण र जीवजगत्मा पर्ने असर लगायतका विषयहरु समेट्नु पर्नेछ । स्वतन्त्र लेखनको साथ विषयबस्तु सँग मेल खाने फोटोहरु (कम्तिमा १ र बढीमा ५ वटा) पठाउनु पर्नेछ ।

यस प्रतियोगितामा इच्छुक नेपालीले आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कविता वा अन्य शैलीमा आफ्ना प्रस्तुती राख्न सक्नेछन् । यस खुला स्वतन्त्र लेखन प्रतियोगितामा सबै नेपाली नागरिकले भाग लिन पाउनेछन् । १८ वर्षभन्दा कम उमेरका तर नागरिकता लिन बाँकी रहेका विद्यार्थीहरुले पनि भाग लिन पाउनेछन् । प्रवासमा बसेको नेपाली नागरिकहरुले पनि यस प्रतियोगितामा भाग लिन पाउनेछन् । सकारात्मक सोच र सिर्जनात्मक स्वतन्त्र लेखनलाई उच्च प्राथमिकता दिइने छ ।

उत्कृष्ट लेखकलाई १ लाख पुरस्कार

प्राप्त लेख रचनाहरुको तीन चरणमा छनौट हुनेछ । पहिलो चरणमा सम्पादकीय तहबाट प्रकाशन योग्य लेख रचना छनौट गरि विकासन्युजमा प्रकाशित गरिनेछ । दोस्रो चरणमा पाठकको प्रतिक्रिया, फेसबुक सेयर, ट्वीट तथा कमेन्ट र सम्पादकीय मूल्याङकनका आधारमा छनौट गरिनेछ । तेस्रो चरणमा स्वास्थ्य, साहित्य, आर्थिक लगायतका क्षेत्रमा प्रसिद्ध व्यक्तिहरु सहभागि विज्ञ समूहको मूल्याङकन, पाठक प्रतिक्रिया र सम्पादकीय मूल्याङकनको अङ्कभार जोडबाट छनौट हुनेछ ।

प्रतियोगितामा प्रथम हुने रचनाको लेखकलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिने छ । द्वितीय र तृतीय हुने लेखकहरुलाई ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ । फरक फरक विधामा उत्कृष्ट एक/एक जनालाई आकर्षक उपहार र प्रमाणपत्र प्रदान गरिनेछ । २०७७ असार २९ गते सोमबार भानु जयन्तीको दिन उत्कृष्ट स्वतन्त्र लेखनको छनौट, घोषणा तथा पुरस्कार प्रदान कार्यक्रम आयोजना गरिने भएको छ ।

सर्तहरु

स्वतन्त्र लेखन कम्तिमा आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कम्तिमा १५०० र बढीमा ३००० शब्दको हुनुपर्नेछ भने अन्य प्रस्तुतिको लागि न्युनतम सीमा तोकिएको छैन । यसअघि अन्य माध्यममा प्रकाशन भइसकेका लेख/रचना स्वीकार्य हुने छैन । अरुको सिर्जना चोरी भएको पाइएमा त्यसको जिम्मेवारी लेखकले नै लिनुपर्नेछ ।

लेखकले आफ्ना सिर्जना माइक्रोसफ्ट वर्ड फाइलमा नेपाली भाषामा (फन्ट–प्रिति, साइज–१६ प्वाइन्ट) टाइप गरी editor.bikashnews@gmail.com मा इमेल गर्नुपर्नेछ । २०७७ बैशाख ७ गतेसम्म इमेलमा प्राप्त स्वतन्त्र लेखनहरु प्राप्त भएको मिति/समयका आधारमा सूचिकरण गरी स्तरीय सिर्जनाहरु विकासन्युजको स्वतन्त्र लेखन विशेष पेजमा प्रकाशित गरिनेछ ।

पूर्ण जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.