१० करोड लगानी थपेर स्यानिटाइजर बनाउँदै जडीबुटी उत्पादन कम्पनी

  २०७६ चैत ८ गते १८:३०     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको कम्पनी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले स्यानिटाइजर उत्पादन गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको कारण बजारमा स्यानिटाइजको अभाव देखिएपछि सरकारी स्वामित्वको कम्पनी यसको उत्पादन तयारीमा लागेको हो ।

कम्पनीले अहिले उत्पादन गरिरहेका वस्तुले पनि स्यानिटाइजको काम गर्ने भएपनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसारका कम्पोनेन्ट नभएकोले स्यानिटाइजर नै उत्पादन गर्न लागिएको कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए ।

‘हामीले अहिले उत्पादन गरेका सिन्ट्रोनेला, मेन्था, मसलाको तेल जस्ता वस्तुले पनि व्याक्टेरिया तथा भाइरस संक्रमण रोक्न भूमिका खेल्छन्, तर यी वस्तुले स्यानिटाइजरकै काम गर्छन भनेर दाबी गर्न ल्याव परीक्षणबाट पुष्टी भइसकेको अवस्था छैन, त्यसैले स्यानिटाइजकै काम गर्न डब्लुएचओको मापदण्ड अनुसारको कम्पोनेन्ट मिसाएर स्यानिटाइजर नै उत्पादन गर्ने तयारीमा छौं,’ महाप्रबन्धक कार्कीले विकासन्युजसँग भने ।

स्यानिटाइजरमा कम्तिमा पनि ७० प्रतिशत अल्कोहल चाहिन्छ । यसको परिपूर्ति नेपालमै परम्परागत रुपमा उत्पादन भइरहेको एकपाने रक्सीले पनि गर्न सकिन्छ । तर, व्यवसायिक रुपमा स्यानिटाइजर बनाउन ठूलोपरिमाणमा अल्कोहल चाहिने भएकोले सोबाट सम्भव नहुने कम्पनीले जनाएको छ ।

स्यानिटाइजरको लागि चाहिने अल्कोहलको मात्रा पूरा गर्ने अर्काे र सवैले प्रयोग गरेको वस्तु इथानोल हो । अहिले भारतलगायतका देशले इथानोल निर्यातमा प्रतिवन्ध गरेका कारण कम्पनीलाई चाहिने परिमाणमा प्राप्त गर्न सकिन्छ कि सकिन्न भन्ने कुराले उत्पादन कहिलेदेखि बजार आउँछ भन्ने निर्धारण हुने महाप्रबन्धक कार्कीले बताए ।

‘डब्लुएचओले दिएको फर्मुला मिलाएर स्यानिटाइजर बनाउने हो, हामीले अहिले पनि एन्टी व्याक्टोरियल र एन्टी भाइरल वनस्पतिबाट तेल निकालेर विक्री गरिरहेका छौं, स्यानिटाइजर उत्पादन गर्न चाहिने कच्चा पदार्थको उपलब्धता हुने हो भने अबको एक डेढ महिनाभित्रमा उत्पादन बजारमा आइसक्छ,’ महाप्रबन्धक कार्कीले भने ।

कम्पनीले आफ्ना विभिन्न स्थानमा रहेका उद्योग तथा ल्यावहरुमा कच्चा पदार्थको समिश्रण गर्ने र काठमाडौंमा ल्याएर बट्टामा राखेर बजारमा पठाउने तयारी गरेको छ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले ५० एमएलदेखि ५ सय एमएलसम्मको बट्टामा उपलब्ध हुने गरी स्यानिटाइजर बजारमा ल्याउन लागेको छ ।

स्यानिटाइजर उत्पादन गर्नको लागि कम्पनीसँग दक्ष जनशक्ति तथा उपकरणको व्यवस्था गर्न बढीमा १० करोड रुपैयाँ थप लगानी आवश्यक देखिएको महाप्रबन्धक कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.