विनोद चौधरी भन्छन्ः अर्थमन्त्री हटाउने खेलमा म छैन, राख्ने हटाउने नेकपाको विषय हो

  २०७६ फागुन १६ गते ९:५२     विकासन्युज

काठमाडौं । व्यवसायिक घराना चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आफू अर्थमन्त्री डा. युवराज खतिवडा हटाउने खेलमा नलागेको बताएका छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले चौधरीसहित केही व्यवसायी अर्थमन्त्री डा. खतिवडालाई हटाउने खेलमा लागेको भन्ने गुनासो पार्टी बरिष्ठ नेता माधब कुमार नेपालसँग गरेको भन्ने समाचार सार्वजनिक भएपछि चौधरीको यस्तो टिप्पणी आएको हो ।

गत बुधबार नेकपा सचिवालय बैठकले राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित गर्ने सांसदमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सचिवालयको यस्तो निर्णयप्रति प्रधानमन्त्री ओली असन्तुष्ट थिए । उनी सचिवालयको निर्णय कार्यान्वयन नगर्ने अडानमा थिए ।

प्रधानमन्त्री ओलीले सोही दिन साँझ बरिष्ठ नेता नेपाललाई निवासमै बोलाएर डा. खतिवडालाई अर्थमन्त्रीबाट हटाउने प्रयोजनका लागि गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न भनिएकोले आफू त्यसो गर्न नसक्ने जानकारी गराएका भन्ने समाचार सार्वजनिक भएको थियो ।

डा. खतिवडाले स्वच्छ व्यवसाय गर्न मात्रै दिने भएकोले गैरकानुनी रुपमा व्यापार व्यवसाय गरिरहेका केही व्यवसायी उनलाई हटाउने अभियानमै लागेको प्रधानमन्त्रीले बताएको समाचारहरुमा उल्लेख गरिएको थियो । केही संचारमाध्यमहरुले भने प्रधानमन्त्री ओलीले नेता नेपालसँग चौधरीसहित अर्का व्यवसायी अजेयराज सुमार्गी र गैरआवाशीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो पनि अर्थमन्त्री डा. खतिवडालाई हटाउने अभियानमा लागेका बताएका उल्लेख गरेका थिए ।

चौधरीले यही सन्दर्भलाई लिएर सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै आफू अर्थमन्त्री डा. खतिवडा हटाउने अभियानमा नलागेको बताएका हुन् ।

‘खतिवडा संघीय प्रणालीको वित्तीय व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्याएका विज्ञ हुनुहुन्छ । उहाँको बहिर्गमन वा आगमन नितान्त उहाँकै पार्टीको आन्तरिक विषय हो,’ चौधरीले ट्वीटमा उल्लेख गरेका छन् ।

सम्बन्धित सामग्री

निजी क्षेत्रसँग ब्ल्याकमेलिङ गर्दै सरकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.