चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ

  २०७६ माघ २९ गते १४:५३     विकासन्युज

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् ।

त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो ।
सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ ।

महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ ।

यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे, खैरेनी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चन्द्र प्र्रसाद सापकोटा, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर र दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठलाई सोधेका छौं ।

उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले सरकारसँग सहकार्य र व्यवसायीका समस्या सुनिदिने होस् भन्ने धारणा राखेका छन् ।

हामीले अपेक्षा गरे अुसारको काम गर्ने नेतृत्व भए पुग्छ
तारानाथ घिमिरे, अध्यक्ष ताप्लेजुङ उद्योग वाणिज्य संघ

हामीले अपेक्षा गर्ने मात्र हो । अपेक्षा अनुसारको काम कहिल्यै हुँदैन । अबको नेतृत्व सबै व्यवसायीका भावना बुझ्ने खालको होस् भन्ने चाहना छ । आगामी नेतृत्वले साना तथा मझौला व्यवसायीहरुका समस्याहरु बुझ्ने र आफ्नो भूमिका निर्वाह गर्न सक्नु पर्छ । समस्यालाई गहन रुपमा लिन सक्नु पर्दछ । सबै व्यवसायीले मान्ने र अपनत्व महसुस गर्ने खालको नेतृत्व हामीलाई चाहिन्छ ।

हाम्रा धेरै समस्या छन् । व्यवसायीहरुको भ्याटमा एकरुपता छैन । यसले गर्दा हामी व्यवसायीहरुले अनावश्यक रुपमा भ्याट पनि तिर्नु परेको अवस्था छ । हामी साना व्यवसायीका मर्म बुझ्ने खालको नेतृत्व आजको आवश्यकता हो । मूख्य नेतृत्व नभएकै कारण हाम्रा गुनासा सुनुवाई हुँदैन । हामी साना व्यवसायीले भनेको कसैले सुन्दैनन् । ठूला व्यवसायीहरु यो प्रति ध्यान दिँदैनन् ।

अबको नेतृत्वले व्यवसायीले तिर्नु परेको व्याजदर घटाउन सकोस्
चन्द्र प्रसाद सापकोटा, अध्यक्ष, खैरेनी उद्योग वाणिज्य संघ, चितवन

नेपाल उद्योग वाणिज्य महासंघमा अब आउने नेतृत्वले सबै उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्न सकोस् । देशमा रोजगार सिर्जना गर्ने मूख्य भूमिका उद्यागी व्यवसायीको हुन्छ । यसका लागि नीति नियमहरु सजिलो बनाउनका लागि अबको नेतृत्वले भूमिका खेल्न सक्नु पर्छ ।

एउटा कुखुरा पाल्ने व्यवसायीले तीन प्रतिशतमा ऋण पाउन सक्छ तर सयांैं मानिसलाई रोजगारी प्रदान गर्ने उद्योगीले १२/१३ प्रतिशत व्याजमा ऋण लिनु परेको अवस्था छ । यो किसिमको विभेद हुनु हुँदैन । अहिले सम्मका नेतृत्वले त्यस्तो किसिमको उल्लेख्य काम गरेको अवस्था छैन ।

सरकार र व्यवसायीबीचमा ब्रिजीङ गर्ने नेतृत्व चाहिन्छ
प्रकाश मानन्धर, अध्यक्ष, काभ्रे उद्योग वाणिज्य संघ

हामीलाई सवल नेतत्वको आवश्यकता छ । देशको सम्वृद्धिका लागि र व्यवसायीको हकहितका लागि काम गर्ने नेतृत्व हामीलाई चाहिन्छ । अहिले व्यवसायी निराश छन् । यो अवस्थालाई सहजै समधान गरी सफल नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति नेपाल उद्योग वाणिज्य महासंमा चाहिएको छ । हुनतः प्रयासहरु भइरहेका छन् । नीति नियमले गर्दा व्यवसायी निराश छन् । लगानीमैत्री वातावरण सिर्जना गरिदिनु पर्छ ।

अहिले व्यस्त छु भन्ने नेतृत्व हामीलाई चाहिएको छैन
इन्द्रबहादुर श्रेष्ठ, अध्यक्ष, दोलखा उद्योग वाणिज्य संघ

आगामी नेतृत्वले जिल्ला र नगरका व्यवसायीहरुमा भएका समस्यालाई मध्यस्तकर्ताको रुपमा जिम्मेवारको भूमिका खेलोस् । पहिलेको जस्तै प्रवृति अबको नेतृत्वले नदोहोरयाओस् । अबको नेृत्वले कहिले फोन नउठाउने कहिले व्यस्त छु भन्ने खालको बाहना नगरोस् । हाम्रा समस्या सुनिदिने नेतृत्व चाहिन्छ । अहिले सम्मका नेतृत्वले खासै केही गर्न सकेका छैनन् । हाम्रा धेरै समस्या छन् ।

पहिले शाखा बचाउनका लागि महासंघबाट धेरै कार्यक्रहरु आउँथे । अहिले ती कार्यक्रमहरु आउन छाडेका छन् । अबको नेतृत्वले सबै जिल्ला नगरमा पनि व्यवसायीहरुलाई लाभ हुने खालका सिर्जनात्मक कार्यक्रहरु राखोस् । स्थानिय तह आइसकेपछि त्यहाँ हाम्रो उपस्थिति राम्रो हुुनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.