नागढुंगा-सिस्नेखोला सुरुङमार्ग-२ः काठमाडौंतिरको साइड क्लियर, ४ महिनापछि सुरुङ बनाउन थालिने

  २०७६ माघ ६ गते १७:२३     सुनिता पुडासैनी, डोमी शेर्पा

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्गकोे काम तिव्रता साथ अगाडी बढ्दैछ । सो सडकखण्डमा हुने चर्काे जामलाई ध्यानमा राख्दै सरकारले उक्त सुरुङमार्ग निर्माण गरिरहेको छ ।

चन्द्रागिरी नगरपालिकाको वडा नं १ को टोटीटोलबाट धादिङ्गको धुनिबेसी गाउँपालिकाको सिस्नेखोलासम्म निर्माण हुने भनिएको यो सुरुङमार्ग सडक पुर्वाधारमा महत्वपूर्ण संरचना मानिएको छ । सवारीसाधन आवतजावतको लागि प्रयोग गरिने यो नेपालकै पहिलो सुरुङमार्ग हुनेछ ।

३ महिना अगाडि नागढुंगा-सिस्नेखोला सुरुङमार्गको शिल्यानास भएको थियो । तर, शिलान्यास भएका धेरै आयोजना निर्माणले गति नलिएको नमिठो अनुभव बोकेका नेपालीलाई यो आयोजना पनि सुरु भएर काम फटाफट हुनेमा शंका थियो ।

तर, काम भइरहेको छ । तोकिएकै समयमा काम सम्पन्न हुने आयोजना प्रमुख श्यामप्रसाद खरेल बताउँछन् ।

सो आयोजना ४२ महिना (१ हजार २ सय ६० दिन) मा बनाइसक्ने गरी गत २८ कात्तिकमा जापानी निर्माण कम्पनी हाज्माले निर्माणको जिम्मा लिएको छ ।

परियोजना क्षेत्रमा पर्ने काठमाडौंतर्फको २ सय ५५ रोपनी जग्गा सरकारले अधिग्रहण गरेर मुआब्जा दिइसकेको छ । पारिवारिक अंश सम्बन्धी विवाद भएका र अदालतमा मुद्दा परेका बाहेक सबैले मुआब्जा लिइसकेका आयोजनाले जानकारी दिएको छ । सरकारले अहिलेसम्म ५ अर्ब रुपैयाँ मुआब्जा रकम वितरण गरिसकेको छ ।

सरकारले सुरुङ निर्माणमा पर्ने जग्गाधनीलाई मुआब्जाको रुपमा पक्की सडकसँग जोडिएको जग्गालाई प्रतिआना २२ लाख, कच्ची सडकलाई छोएको जग्गालाई प्रतिआना १८ लाख, गोरेटोले छोएको जग्गालाई प्रतिआना १२ लाख र सडकले नछोएको जग्गालाई प्रतिआना ९ लाख रुपैयाँका दरले मुआब्जा वितरण गरेको थियो ।

राजमार्गसँग जोडिएको जग्गा हुनेले भने अझै धरै रकम पाएका छन् । आयोजनाका नापी अधिकृत अन्जनी कुमार जोशीका अनुसार राजमार्गसँग जोडिएको जग्गालाई प्रतिआना ४२ लाख रुपैयाँका दरले मुआब्जा दिइएको थियो । प्रतिआना ४२ लाख रुपैयाँका दरले सरकारले ३ कित्ता जग्गा अधिग्रहण गरेको छ ।

धादिङको सिस्नेखोलातर्फ ४४ रोपनी जग्गा प्रतिआना ९ लाख ९० हजार रुपैयाँका दरले मुआब्जा वितरण गरिएको छ । धादिङमा अधिकरणमा परेका घर तथा जग्गालाई सरकारले ४५ करोड रुपैयाँ मुआब्जा प्रदान गरिसकिएको आयोजना प्रमुख खरेलले जानकारी दिए ।

सुरुङमार्गको काठमाडौं (पूर्व) तर्फको साईट क्लियरेन्सको काम करिब सकिएको प्रमुख ईन्जिनियर काफ्लेले जानकारी दिए ।

सुरुङमार्ग निर्माणको काममा अवरोध सिर्जना गर्ने रुख काट्ने, विद्युतीय तार तथा पोललाई व्यवस्थित ठाँउमा सार्नेलगायतका काम भइरहेको छ ।

‘काठमाडौंको गुर्जुधारादेखि टोटीटोलसम्म २.५ किलोमिटर सडक निर्माणको काम भइरहेको छ, यही सडकमार्फत सुरुमार्ग निर्माणमा आवश्यक पर्ने उपकरण लगायत सामाग्री लगिन्छ,’ आयोजना प्रमुख खरेलले भने ।

सुरुङमार्ग निर्माणस्थल नजिकै हाज्माले आफ्नो कार्यालय नै स्थापना गरिसकेको छ ।

सुरुङ बनाउँदा पानीको मुहान सुक्न सक्ने सम्भावनालाई लक्षित गरेर विकल्प तयार पारिदैछ । सुरुङ मार्ग सुरु हुने काठमाडौंतिरको छेउमा ४ लाख लिटर पानी अट्ने क्षमताको ट्याङ्की बनाइदैछ । यस्तो ट्याङ्की धादिङतर्फ पनि बनाइनेछ ।

टनेल डिजाइनको काम र सुरुङमार्ग निर्माणमा आवश्यक उपकरणहरुको व्यवस्थापन भईरहेको ईन्जिनियर काफ्लेले जानकारी दिए । सुरुङमार्ग निर्माणको क्रममा आवतजावतमा समस्या नहोस् भनेर वैकल्पिक बाटो निर्माणको काम भईरहेको छ । आगामी ४ महिनापछि सुरुङ खन्ने काम सुचारु हुने प्रमुख ईन्जिनियर काफ्लेले बताए ।

सुरुङमार्ग निर्माणका लागि जापान सरकारले ०.०१ प्रतिशत व्याज दरमा ४० वर्षका लागि १६ अर्ब ६ करोड रुपैयाँ ऋण उपलब्ध गराएको हो । आयोजना निर्माणको लागि नेपाल सरकारको ५ अर्ब ५३ करोड रुपैयाँ लगानी रहेको छ ।

सम्बन्धित सामग्री

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग-१ः तीन वर्षअघि ४ लाख पर्ने जग्गाको मूल्य अहिले २२ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.