पाम तेलमा भारतले प्रतिबन्ध लगायो, नेपालको निर्यातमा वार्षिक २८ अर्बकाे धक्का

  २०७६ पुष २३ गते २०:२७     विकासन्युज

काठमाडौं । भारतले मलेसिया, नेपाल सहित विभिन्न देशबाट हुने पाम तेल आयातमा प्रतिबन्ध लगाएको छ । यसले नेपालको निर्यात व्यापारमा फेरी ठूलो धक्का लाग्ने भएको छ ।

भारतले नेपालबाट निर्यात हुने पाम तेलमा प्रतिबन्ध लगाएको जानकारी आज पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले जानकारी दिए । ‘पाम तेल निर्यातमा भारतले रोक लगाएको जानकारी हामीले पाएका छौं । त्यसको असर कति पर्छ र नेपालले अब के गर्ने भन्ने विषयमा अध्ययन तथा विश्लेषण हुन बाँकी नै छ’ विकासन्युजसँग उनले भने ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले भारतमा निर्यात गर्न नपाउँदा पाम तेल प्रशोधन गर्ने उद्योग संकटमा पर्ने बताए । कुटनीतिक पहलबाट छिट्टै नै भारतमा पाम तेल निकासी खुला हुने उनको विश्वास छ ।

नेपालले कात्तिकसम्ममा कुल निर्यात ३६ अर्ब २७ करोड रुपैयाँ बराबरकाे निर्यात गरेकाेमा पाम तेल मात्रै ८ अर्ब ३६ करोड रुपैयाँको निर्यात भएको छ । यहि अनुपातमा वर्षभरी निर्यात हुने हुँदा करिब २८ अर्ब रूपैयाँ बराबरकाे निर्यात हुने थियाे ।

मलेसियासँगकाे विवादकाे असर

कास्मिर विवादको विषयमा मलेसिया सरकारले भारत सरकारको आलोचना गरेपछि भारतले मलेसियासँग प्रतिशोध लिँदै मलेसियाबाट आयात हुने पाम तेलको आयातमा रोक लगाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । मलेसियाका प्रधानमन्त्री महाथिर महमदले भारत सरकारले कस्मिर क्षेत्रमा मुस्लिममाथि दमन गरेको बताउँदै त्यसको विरोधमा संयुक्त राष्ट्र संघका महासचिवलाई समेत पत्र लेखेको थिए ।

नेपालले मुलतः मलेशियाबाट कच्चा पाम तेल आयात गरि प्रशोधन गरेर भारतमा निर्यात गर्दै आएको छ । भारत सरकारले अरु देशमा उत्पादित पाम तेलको तुलनामा नेपालमा उत्पादित पाम तेलमा कम भन्सार दर लगाएकोले नेपालीहरुले फाइदा लिन पाएका थिए ।

भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेका अनुसार पाम तेल भारतमा अन्य मुलुकहरूले निर्यात गरे करिब ४० प्रतिशत भन्सार महसुल लाग्छ । नेपालबाट निर्यात गर्दा महसुल लाग्दैन । त्यसैले व्यवसायीहरूले नेपाल ट्रान्जिट बनाई  तेल प्रशोधन गरेर यो तेल निर्यात गरिरहेका हुन् ।

हालै भारतले नेपालकाे परराष्ट्र मन्त्रालयमार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नेपालले पाम तेल प्रशाेधन गर्दा कति प्रतिशत भ्यालु एड गर्छ भनि प्रश्न गरेकाे थियाे । जवाफमा नेपालले करिव ३० प्रतिशत भ्यालु एड हुने गरेकाे बताएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.