‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’, आजबाट ग्लाेबल आइएमई नेपालकाे सबैभन्दा ठूलाे बैंक

  २०७६ मंसिर २० गते ९:५९     विकासन्युज

काठमाडौं । ‘रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’ नाराको साथ सम्पन्न मर्जसँगै विभिन्न परिसूचकको आधारमा ग्लोबल आईएमई बैंक आजबाट नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्ज भई शुक्रबारदेखि एकीकृत कारोबार शुरु सँगै बैंकले नयाँ इतिहास र नयाँ उचाइ प्राप्त गरेकाे हाे । कमलादीस्थित ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालयमा अर्थमन्त्री डा. युवराज खतिवडाले एकीकृत कारोबारको शुभारम्भ गरेका छन् ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार बैंकको चुक्ता पुँजी १९ अर्ब, कूल प्राथमिक पुँजी २४ अर्ब पुगेको छ । निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । यी सबै परिसूचकमा नेपालका अरु बैंकहरु भन्दा ग्लोबल आईएमई अगाडि छ ।

‘केही वर्षअघि मात्र राष्ट्रिय वाणिज्य बैंकले १०० अर्ब निक्षेप पुर्याएको दिन मैले गभर्नरको हैसियतमा राष्ट्रिय वाणिज्य बैंक नेतृत्वलाई बधाई दिएको थिए । नेपालका बैंक पनि ठूलो भए भन्ने लागेको थियो’ अर्थमन्त्री युवराज खतिवडाले भने-‘अहिले ग्लोबल आइएमई बैंकको निक्षेप २१३ अर्ब भयो, कर्जा लगानी २०० अर्ब नजिक पुग्यो । प्राथमिक पुँजी २४ अर्ब पुग्यो भन्दा मलाई निकै खुशी लागेको छ ।’

मर्जसँगै शाखा तथा सेवा केन्द्रको आधारमा पनि यो बैंक नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । ३ सय भन्दा धेरै शाखा, २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल सञ्जाल ८ सय ३८ पुगेका छन् । ७७ वटै जिल्लामा सेवा दिन सक्ने ग्लोबल आइएमई बैंक नेपालको एक मात्र बैंक भएको मर्जपछि ग्लोबल आईएमई बैंकको सञ्चालक रहेका केशवबहादुर रायमाझिले बताए ।


कर्मचारीको संख्या, ग्राहक संख्या र सरकारलाई राजश्वमा बढी योगदान गर्ने बैंक पनि ग्लोबल आईएमई बैंक हुने अध्यक्ष ढकालले बताए । ‘बैंकमा ३ हजार २ सय ५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् । गत वर्ष दुई बैंकले सरकारलाई ३ अर्बभन्दा बढी राजश्व तिरेको छ । यी आधारमा हामी अग्रणी बैंक भएको छौं’ ढकालले भने ।

ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएर औपचारिक रुपमा कारोबार शुरु गरेको २०६३ साल पुस १८ गते देखि हो । यो १९ औं वाणिज्य बैंक हो । त्यस्तै जनता बैंकले भने २०६६ चैत २३ गतेदेखि आफ्नो कारोबार सुरु गरेको हो । यो २७ औं वाणिज्य बैंक हो । कुनै बेला ३२ वटा वाणिज्य बैंक रहेकोमा यो मर्जसँग वाणिज्य बैंकको संख्या २७ वटा भएको छ ।

३ वटा स्वस्थ्य अवस्थाका वाणिज्य बैंकसहित १८ वटा बैंक वित्तीय संस्था मर्जपछि बनेकाे याे संस्थाले मर्जकाे मामिलामा पनि इतिहास नै बनाएकाे छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले बैंक ठूलाे भएसँगै जिम्मेवारी पनि ठूलाे भएकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.