सिटिजन लाइफमा १० हजारमा जीवन बीमा, साधारण मृत्युमा डबल रकम, दुर्घटनामा तीन गुणा

  २०७६ कार्तिक २२ गते १८:३९     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन शुभारम्भ जीवन बीमा’ नामक नयाँ बीमा योजना ल्याएको छ । इन्स्योरेन्सले गरिबीको रेखामुनि रहेका नागरिकलाई समेत समेट्ने गरी न्यूनतम १० हजार रुपैयाँमै बीमा गर्न सकिने नयाँ योजना बजारमा ल्याएको हो ।

यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई डबल सुरक्षा प्रदान गर्ने छ । जस अन्तर्गत बीमितहरुले साधारण मृत्युमा बीमाङ्कको डबल रकम र दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा भुक्तानी पाउने छन् । जस्तै, ५ लाखको बीमा गर्दा साधारण मृत्युमा १० लाख र दुर्घटना भई मृत्यु भएमा १५ लाख रुपैयाँ बीमालेखमा इच्छाएको व्यक्तिलाई भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

साथै, स्थायी पूर्ण अशक्तता लाभ, बीमा शुल्क छुट लाभ, मासिक आयलाभ, काजक्रिया खर्च सुविधा तथा ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा पाइने छ ।

कम्पनीका अनुसार ५ देखि ६५ बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । बीमा अवधि ५ देखि ३५ बर्ष रहेको यस योजनामा बीमा लेख परिपक्व बखत अधिकतम उमेर ७० वर्ष तोकिएको छ । त्यस्तै, न्यूनतम बीमाङ्क रकम १० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमितको आयको आधार सहित कम्पनीको जोखिममाङ्कको नीतिअनुसार जति पनि गर्न सकिने इन्स्याेरेन्सले जानकारी दिएकाे छ ।

योजनाकाे शुभारम्भ गर्दै इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) पोषकराज पौडेलले न्युन आय तथा गरिबीको रेखामुनि रहेका २० प्रतिशत नागरिकलाई पनि बीमा क्षेत्रमा संलग्न गराउने उद्देश्यले यो योजना बजारमा ल्याएको बताएका छन् ।

साथै, इन्स्याेरेन्सले शुक्रबार(कात्तिक २२ गते) मात्रै नेपाल क्यिरिङ हाउस(एनसीएचएल)सँग सम्झौता गरेको सीईओ पौडेलले जानकारी गराएका छन् । दुरदराजका नागरिकले पनि एनसीएचएलका भुक्तानी प्रणाली मार्फत कम्पनीका विभिन्न बीमा योजना किन्न सकुन् भन्ने उद्देश्यले उक्त सम्झौता गरेको उनले बताए ।

कम्पनीले गत वर्षको भन्दा ६० प्रतिशतले व्यापार वृद्धि गरेको छ । त्यस्तै, अघिल्लो वर्ष पहिलो त्रैमासिकको नाफाको तुलनामा यस वर्षको सोही अवधिसम्म २०० प्रतिशतले नाफा बढाउन कम्पनी सफल भएको सीईओ पौडेलले जानकारी दिएका छन् ।

कम्पनीले शुक्रबार काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा एक विशेष कार्यक्रम गरेर उक्त बीमा योजना सार्वजनिक गरेको हो । कम्पनीका सीईओ पोषकराज पौडेल, सञ्चालक समितिका सदस्यहरू मनोज कार्की तथा दिप प्रकाश पाण्डे र ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयुक्त रूपमा यस योजनाको सार्वजनिक गरेका हुन् ।

कम्पनीले यस अघिपनि पेन्सनको सुविधा सहितको बीमितको आफ्नै जीवन कालमा बीमाङ्कको डबल प्लस बोनसको व्यवस्था सहितको सिटिजन जीवन सारथी बीमा योजना ल्याइसकेको छ ।

साथै, उपचार खर्च अब सिटिजन लाईफले गर्छ नारा सहितको सिटिजन क्रिटिकल केयर नामको २० वटा घातक रोग सुरक्षा बीमा योजना प्रचलनमा ल्याएको छ । जस अन्तर्गत सो रोगहरु लागेको सुनिश्चित हुना साथ ५० लाख रुपैयाँसम्म कम्पनीले भुक्तानी गर्ने र सोको बिल बिजक नचाहिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.