महासंघको वरिष्ठ उपाध्यक्षमा चार आकांक्षी, अध्यक्ष निर्वाचनको विषयमा अझै विवाद

  २०७६ कार्तिक २१ गते १६:३३     विकासन्युज

काठमाडौं । विधान संशोधनका लागि बोलाईएको विशेष साधारणसभा स्थगित निश्चित भएपछि नेपाल उद्योग वाणिज्य महासंघमा वहस आगामी निर्वाचनमा केन्द्रीत भएको छ । महासंघका नेताहरुबीच चैतमा हुने चुनाव, नेतृत्वका आकांक्षी र टिकटको विषयमा छलफल केन्द्रीत हुन थालेको छ ।

चुनावी साधारणसभाअघि विधान संशोधन नहुने भएपछि अबको निर्वाचन हालकै विधान अनुसार वरिष्ठ उपाध्यक्षमा केन्द्रीत हुने भएको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष घोषणा गरिने छन् ।

वरिष्ठ उपाध्यक्षमा अहिलेसम्म चार जनाले आकांक्षा व्यक्त गरेका छन् । उपाध्यक्षहरु किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल र पूर्व उपाध्यक्ष तथा तीन नम्बर प्रदेश प्रमुख दिनेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षको आकांक्षीको रुपमा अगाडि आएका छन् ।

चार मध्ये सबैभन्दा बलियो उम्मेदवारको रुपमा धेरैले चन्द्रप्रसाद ढकाललाई लिन्छन् । उनले अरु आकांक्षीलाई समेत विश्वासमा लिएर सर्वसहमतिको प्रयास गरेका जानकारीहरु बताउँछन् । यसअघि पनि ढकाल एसोशियन तर्फको उपाध्यक्ष पदमा सर्बसहमत भएकोले उनी सर्वसहमति हुन सक्ने अनुमान गरिएको छ ।

अहिले वरिष्ठ उपाध्यक्ष हुने व्यक्ति दुई वर्षपछि स्वतः अध्यक्ष बन्ने भएकोले यति धेरै महत्वपूर्ण पदमा सर्बसहमति जुट्ने सम्भावना कम रहेको बताइन्छ ।

महासंघको नेतृत्व विधान संशोधनका प्रस्तावहरु आगामी साधारणसभामा विशेष प्रस्तावको रुपमा लैजान तयार भएको छ । अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था कहिलेदेखि लागू हुने भन्नेमा विवाद अझै बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.