महासंघको विशेष साधारणसभा रोक्न फोहोरी खेल, चण्डिराज ढकालले भने-‘आफ्नै उद्योग चलाउँछु अब’

  २०७६ कार्तिक १९ गते १६:५६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले कात्तिक २९ गते बोलाइएको महासंघको विशेष साधारणसभा नहुने बताएका छन् ।

विधान संशोधनका विषयमा र प्रक्रियाको विषयमा विवाद उत्पन्न भएकोले विशेष साधारणसभा नगर्ने तयारीसहित छलफल भइरहेको बताएका छन् । शुक्रबार विधान संशोधन समितिको बैठक बसेपछि संशोधनका सबै प्रक्रिया रोकिन सक्ने उनले बताए । उनी विधान संशोधन समितिको संयोजक हुन् ।

विधान संशोधन समितिको बैंठकले गरेको निर्णयका आधारमा आइतबार वा सोमबार बस्ने स्थायी समिति समितिको बैठकले साधारणसभाको स्थगनको निर्णय गर्ने उनले बताए ।

ठूलो डिलको आशंका

महासंघको विधान संशोधन गर्ने विषयमा भएको विवादको समाधान गर्ने क्रममा ठूलै बिजनेश डिल भएको चर्चा महासंघभित्र चलेको छ । जसलाई महासंघको अगुवाहरुले फोहोरी खेल भनेका छन् ।

‘व्यवसायबाट आर्जित नाफाको ठूलो हिस्सा परोपकारी कार्यमा खर्च गर्दै आएका थियौं । मेरो चाहाना पनि त्यहि हो’ महासंघका एक प्रभावशाली नेताले भने- ‘तर कहिले काँही मनले नचाहेको ठाउँमा पनि खर्च हुँदोरहेछ ।’

महासंघभित्र खराब अभ्यास भएको र आफूले नचाहँदा नचाहँदै पनि खराब कार्यको साक्षी बस्नु परेको अर्का व्यवसायीले सुनाए । ‘मेरो नाम नलेख्नुहोला । महासंघभित्र फोहोरी खेल भए’ एक जना पदाधिकारीले भने- ‘त्यही फोहोरी खेलको नतिजा हो विशेष साधारणसभा नहुने अवस्था आउनु ।’

चण्डिराज ढकाल ऋण तिर्ने तयारीमा

स्याल कराउनु र कुखुरो हराउनु एकै पटक भएको छ । महासंघको साधारणसभा रोक्ने क्रममा ठूलो डिल भएको चर्चा शुरु नहुँदै चण्डिराज ढकालले कर्जा तिर्न बैंकसँग नेगाेसिएशनमा बसेका छन् । सोमबार उनी राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठसँग लामो बैठकमा बसेका थिए ।

सोमबारको हिसाबमा २६ वर्षअघि लिएको ऋणको सावा ब्याजसहित ४ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ तिर्नु पर्ने देखिएको छ । कर्जाको सावा, ब्याज, पेनाल ब्याज र पुँजीकरण ब्याजसहित ढकालले आरबीबीलाई भुक्तान गर्नुपर्ने रकम त्यति पुगेको हो ।

 

कति छ ऋण ?

  1. कुल कर्जाः ३१ करोड ५६ लाख
  2. नियमित ब्याजः ८६ करोड ४० लाख
  3. पेलान ब्याजः ९ करोड २७ लाख
  4. पुँजीकरण ब्याजः ३ अर्ब ५ करोड १८ लाख
  5. कुल ब्याजः ४ अर्ब ८६ लाख

ढकालले २०५० सालमा मोमेन्टो एपरल्सको नाममा यस बैंकबाट ३१ करोड ५६ लाख रुपैयाँ कर्जा लिएका थिए । असोज मसान्तसम्म कर्जाको ब्याजमात्रै ४ अर्ब ८६ लाख पुगेको आरबीबीले जानकारी  दिएको छ ।

मोमेन्टो एपिरियन्स र कृष्ण गार्मेट रेडियन्ट फन वेयर फेसन परियोजनाको नाममा ढकालले ९ करोड ३२ लाखको जग्गा र मेशिनरी उपकरण सहित धितो राखेर आरबीबीबाट कर्जा लिएका थिए । कर्जा लिनका लागि त्यति बेला धितोमा राखिएको मेशिनरी उपकरणको मूल्य घटेको छ भने जग्गाको मूल्य बढेको छ ।

२०७३ कात्तिकमा धितोमा राखिएको जग्गाको पुर्नमूल्यांकन गर्दा २० करोड १६ लाख रुपैयाँ धितोबाट असुली गर्न सक्ने देखिएको छ । ढकालले कर्जा धितोमा काठमाडौं सिनामंगलको २ रोपनी र झापाको भद्रपुरमा रहेको २ विगा १६ कट्ठा ८ धूर राखेका थिए । कर्जा लिएको १७ वर्षसम्म पनि साँवा व्याज नतिरेपछि कम्पनीलाई २०६७ मंसिर १७ गते कालोसूचीमा राखेको थियो ।

बैंक स्रोतका अनुसार ढकालले कर्जाको ब्याज, पेनाल ब्याज, पुँजीकरण गरिएको ब्याज छुट माग गरेका छन् । उद्योग रुग्ण भएको, देशभरका गार्मेन्ट उद्योग बन्द भएको, सशस्त्र द्वन्द्व र अमेरिकाले कोटा सिस्टम हटाउँदा उद्योग संकटमा परेको तर्कसहित उनले सबै ब्याज, पेनाल ब्याज, जरिवाना छुटको माग गरेका छन् ।

ब्याज, जरिवाना छुट दिएमा तत्काल आफूले १० करोड रुपैयाँ कर्जा तिर्ने उनले बैंकलाई आश्वासन दिएका छन् । ढकालले कर्जा तिर्न लागेकाे १० कराेड रूपैयाँकाे स्राेत भने खुलेकाे छैन ।

‘अहिले १० करोड तिर्छु, कर्जालाई पुर्नसंरचना गरेर नियमित बनाऔं । उद्योग चलाउछु र कर्जा क्रमशः तिर्छु भन्नु भएको छ’ बैंक उच्च व्यवस्थापन स्रोतले भन्यो- ‘उहाँले भनेजस्तो सबै छुट दिन नसकिएला । तर डुबेकाे १० करोड रुपैयाँ बैंकले पाउँछ र बन्द रहेको उद्योग चल्छ भने हामी सक्दो सहयोग गर्छौ ।

चण्डिराज ढकाल पनि झापाको भएको, अर्थमन्त्री युवराज खतिवडा पनि झापाको भएको, प्रधानमन्त्री पनि झापाको भएको, राष्ट्रिय बाणिज्य बैंक पनि पूर्ण सरकारी स्वामित्वको बैंक भएकोले शक्ति केन्द्रहरु मिलेर ढकाललाई ऋणमा भारी छुट दिन सक्ने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

‘ढकालजी कर्जाको पुनः संरचना गर्न भनेर आइरहनु भएको छ,’ बैंक स्रोतले भन्यो ‘डकुमेन्ट पुरा हुने वित्तीकै बोर्ड बैठक बसेर टुंगो लगाउने छ ।’ डकुमेन्ट ल्याउने क्रम जारी छ । कर्जा पुनः संरचनाको लागि २०७६ साल जेठ १६ गते बोर्ड बैठकमा प्रस्ताव पेश गरिएको थियो ।

‘बैंकको कर्जा तिर्ने प्रक्रियामा छु । केही दिन भित्र यो काम सकिएला । त्यसपछि उद्योग सञ्चालन गर्छु’ ढकालले भने । आफूले नियतवस बैंकको कर्जा तिर्न अटेर नगरेको तर परिस्थिति खराब भएकोले व्यवसाय डुबेको उनले बताए । ‘कुनै बेला मोमेन्ट एपरल्स नेपालको टप वान उद्योग थियो । नेपालका लागि सबैभन्दा धेरै डलर कमाउने उद्योग थियो । ९ वर्षसम्म यो सबैभन्दा बढी निर्यात गर्ने उद्योगको रुपमा सरकारले सम्मान गरेको थियो’ ढकालले भने ‘म हारेकाे छैन । फेरी उद्याेग पुर्नस्थापित गर्छु ।’

महासंघको विशेष साधारणसभा अनिश्चित बन्दै, पदाधिकारी नै परे दुविधामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.