तेस्रो हिमालयन ट्राभल मार्ट सम्पन्न, चौथो संस्करण आगामी बर्षको जुन १२ मा

  २०७६ जेठ २७ गते ७:१७     विकासन्युज

काठमाडौँ। हिमालय क्षेत्रको विविध पर्यटन सम्भाब्यता उजार गर्दै ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण यही जेठ २३ देखि २६ सम्म विभिन्न ४३ देशका ७०० भन्दा बढी प्रतिनिधि तथा सरोकारवालाको सहभागितासहित काठमाडौँको सोल्टी क्राउन प्लाजामा भव्यताका साथ सम्पन्न भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरद्घारा आयोजित हिमालयन ट्राभल मार्ट नेपाली पर्यटन क्षेत्रकै बृहत एवम् प्रमुख ट्राभल एन्ड टुरिज्म सम्बन्धी मेलाको रुपमा स्थापित भएको छ ।

गत बिहिबार सम्ममाननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मार्टको समुद्घाटन गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा पर्यटकीय प्रोडक्ट तथा सेवाहरुको प्रचुर सम्भाब्यतारहेको बताउँदै देशको प्राकृतिक, भौगोलिक, सांस्कृतिक तथा जैविक विविधतासँगै विशिष्ठ आतिथ्य सत्कारले बहुआयामिक पर्यटकीय अनुभवहरु प्रदान गर्नसक्ने नेपाल अनुपम गन्तब्य रहेको बताए। उनले योग, आयुर्वेद, तीर्थयात्रा एवम् अध्यात्मिक पर्यटनका लागि हिमालय क्षेत्रनै एक उत्कृष्ट गन्तब्य भएको र सो अनुभूतिका लागि नेपाल प्रमुख एवम् उद्गम स्थल भएको बताए।

प्रधानमन्त्री ओलीले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न समेत हिमालयन ट्राभल मार्ट सहयोगी हुने विश्वास व्यक्त गरेका थिए।

जुन ७ मा आयोजित मार्टको कन्फ्रेन्समा साहसिक पर्यटनको समसामयिक तथा भावी प्रवृत्तिहरु, दिगो पर्यटन विकासका अवसर तथा चुनौतिहरुलगायत नेपालमा अध्यात्म पर्यटनको सम्भावना र पर्यटकीय अवसरबारेमा विशेष प्राथमिकताका साथ छलफल गरिएको थियो ।

मार्टको ‘साइड इभेन्ट’ का रुपमा आयोजना गरिने अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया कन्फ्रेन्समा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया/ब्लर्गसहरुसहित सयौँ राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीहरुमाझ ट्राभल मिडिया तथा ब्लर्गसले गन्तब्यको पर्यटन प्रवद्र्धन एवम विकासमा खेल्ने भूमिका र अवसरहरुको बारेमा छलफल गरिएको थियो । सो कार्यक्रमबीच भ्रमण वर्ष २०२० सम्बन्धित एक विशेष अन्तर्राष्ट्रिय ‘मिडिया ब्रिफिङ्गङ’ गरिएको थियो।

यस पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरु र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनीहरु तथा संस्थाले सहभागिता जनाएका थिए । पाटा नेपालले हिमालयन ट्राभल मार्टको चौथो संस्करण आगामी वर्ष २०२० जुन १२ देखि १५ सम्म आयोजना गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.