एनएमबि र ओम २ महिनाभित्र मर्ज भइसक्ने, डीडीएअघि ओमका शेयरधनीलाई १२ प्रतिशत बोनस

<p>काठमाडौं । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जरका लागि एमओयू सम्झौता भएको छ । दुई बैंकहरुले बिहीबार उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा एनएमबि बैंकका तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार कुसारीले हस्ताक्षर गरेका थिए । यसअघि प्राइम बैंकसँग मर्जर सम्झौता तोडेको ओम डेभलपमेन्ट बैंकलाई राष्ट्र [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जरका लागि एमओयू सम्झौता भएको छ । दुई बैंकहरुले बिहीबार उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा एनएमबि बैंकका तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार कुसारीले हस्ताक्षर गरेका थिए ।

यसअघि प्राइम बैंकसँग मर्जर सम्झौता तोडेको ओम डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान निर्देशन दिएको थियो । सोलगत्तै कुरा अघि बढाएको बैंकले छोटो समयमै मर्जरका लागि एमओयू गर्न सफल भएको हो ।

कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको मर्जरसम्बन्धि नीतिलाई सहयोग गर्न र क्षेत्रीय रुपमा बैंकलाई मजबुत बनाउन ओमसँग मर्जरमा जान चाहेको जानकारी दिए । ‘प्रदेश नं ४ मा हामीलाई बजार विस्तार गर्नु थियो, त्यसका लागि शाखा विस्तार वा सो क्षेत्रका कुनै बैंकसँग मर्ज गर्ने विकल्पमध्ये हामीले प्रदेश ४ मा उत्कृष्ठ रहेको ओम डेभलपमेन्ट बैंकसँग मर्जरमा गएका हौं ।’ उनले भने ।

प्रमुख कार्यकारी अधिकृत केसीले ४/५ वर्षअघि एनएमबि बैंकले ४/५ ओटै वित्तीय संस्थाहरुसँग मर्जर गरेको र यो मर्जर ऐतिहासिक र राम्रो मर्जर भएको भन्दै ओमसँगको मर्जर पनि एकदमै सौहार्दपूर्ण तरिकाले २ महिनाभित्रै टुङ्गिने बताए ।

उक्त मर्जरपछिको बैंकका १६३ शाखा र १५०० जना कर्मचारी कायम हुनेछन्, भने नयाँ बैंकको नाम एनएमबि बैंक नै रहने केसीले बताए । उनले १ र २ जोडेर ३ बनाउने आफूहरुको लक्ष्य नभई १२ बनाउने लक्ष्य रहेको भन्दै बैंक अब मूल्यमा आधारित बैंकिङ प्रणालीमा जाने बताए ।

ओम डेभलमेन्ट बैंकका सञ्चालक एवं मर्जर कमिटिमा संयोजक योगेन्द्रलाल प्रधानले दुई बैंकको मर्जरले सुनौला सपनाहरु बुनेको भन्दै एक वर्षपछिको रिपोर्टले त्यसलाई देखाउने बताए ।

त्यस्तै, एनएमबि बैंकका सञ्चालक तथा मर्जर कमिटीमा संयोजक प्रदीपराज पाण्डेले ओमसँग आफूहरुको कार्यप्रणाली र सोचाई मिल्ने भएकोले एकआपसमा जोडिन लागेको भन्दै भावनात्मक रुपमा एकीकृत भइसकेको बैंक कार्यगत रुपमा केही समयभित्रै एक हुने बताए ।

ओम डेभलपमेन्ट बैंकका अध्यक्ष सुशीलकुमार कुसारीले यो दुई मर्जर भगवानको देन भएको भन्दै भगवानले लेखेकोले नै यो मर्जर सम्पन्न भएको दाबी गरे । उनले मर्जरपछि ओमका कर्मचारीहरुको सीप र वृत्तिविकासमा एनएमबि बैंकले ध्यान दिने विश्वास व्यक्त गरे ।

एनएमबि बैंकका अध्यक्ष गोल्यानले प्रदेश १, प्रदेश ५ लगायतमा मर्जरबाटै एनएमबि बैंकले सशक्त हुन सफल भएको भन्दै मर्जरपछि प्रदेश ४ मा पनि एनएमबि सबल हुने बताए । उनले प्रदेश ६ र ७ मा पनि त्यस्ता पार्टनरहरु खोजीरहेको समेत उनले बताए । अध्यक्ष गोल्यानले प्रदेश ४ कृषि क्षेत्रका लागि सम्भावनायुक्त ठाउँ भएको भन्दै यो प्रदेशमा स्याउ लगायतका कृषिजन्य उत्पादनमा लगानी गर्ने योजना रहेको समेत बताए ।

दुई बैंकहरुबीच भएको एमओयूमा ओम डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको १२.७० प्रतिशत बोनस ओमका शेयरधनीहरुलाई दिने र त्यसपछि डीडीए रिपोर्टका आधरमा स्वाप रेसियो निर्धारण हुनेगरी सहमति भएकाे बताइएकाे छ ।

Share News