रसुवागढी र साञ्जेनको आईपीओ आजदेखि, कुन कम्पनीको कति-कति भर्ने शेयर ?

  २०७६ वैशाख ६ गते ९:०१     विकासन्युज

काठमाडौं । रसुवागढी र साञ्जेन हाइड्रोपावरका शेयर आजदेखि खुल्दैछन् । साञ्जेनको ५४ लाख ७५ हजार कित्तामध्ये म्युचुअल फण्ड र कर्मचारीलाई छुट्याएपछिको ४९ लाख ८२ हजार २५० कित्ता शेयर तथा रसुवागढीको १ करोड २ लाख ६३ हजार १५० कित्ता शेयरमध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता गरी कुल १ करोड ४३ लाख २१ हजार ७१७ कित्ता शेयरका लागि शुक्रबारदेखि आवेदन खुला हुन लागेको हो ।

साञ्जेनले रसुवा जिल्लामा रहेको १४.८ मेगावाटको साञ्जेन माथिल्लो र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ भने रसुवागढीले १११ मेगावाट क्षमताको रसुवागढी क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यी दुवै आयोजना जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समावेश गरेका जलविद्युत् आयोजनाहरु हुन् ।

१० कित्ता पनि आवेदन दिन मिल्ने

उक्त आयोजनाहरुको आह्वानपत्रमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिन पाउने उल्लेख गरिए पनि त्यसलगत्तै धितोपत्र बोर्डले सबै कम्पनीहरुको शेयरमा न्यूनतम १० कित्ता मात्रै पनि आवेदन दिन पाउने व्यवस्था गरेसँगै साञ्जेन र रसुवागढीले सूचना प्रकाशित गरी न्यूनतम १० कित्ता मात्रै पनि आवेदन दिन पाउने व्यवस्था गरेको छ । सम्पूर्ण नेपालीहरुलाई शेयरको पहुँच पुर्याउने उद्देश्यले बोर्डले गरेको निर्णयलाई साञ्जेन र रसुवागढीले स्वेच्छिक रुपमा न्यूनतम आवेदन कित्तालाई घटाएका हुन् ।

कुन कम्पनीमा कति गर्ने आवेदन ?

साञ्जेन र रसुवागढी दुवै आयोजनाको शेयर निष्कासनका लागि स्वीकृति पाएको, आह्वानपत्र प्रकाशन गरेको, आवेदन खुला भएको दिन एकै भएको तथा दुवै कम्पनी जनताको जलविद्युत् अन्तर्गत नै समावेश रहेको भए पनि यी दुई छुट्टाछुट्टै कम्पनी हुन् त्यसैले लगानीकर्ताले छुट्टाछुट्टै रुपमा दुवै कम्पनीका लागि आवेदन दिनुपर्ने हुन्छ ।

रसुवागढीको ९३ लाख ३९ हजार कित्ता शेयर १० कित्ताका दरले ९ लाख ३३ हजार ९०० जनालाई वितरण गर्न पुग्छ । त्यस्तै साञ्जेनको ४९ लाख ८२ हजार कित्ता शेयर ४ लाख ८२ हजार २०० जनालाई वितरण गर्न मिल्छ । आवेदकको संख्या कम भए धेरै शेयर र धेरै भए कम शेयर पर्ने भएकोले आवेदकको संख्याले कति शेयर पर्छ भन्ने निर्धारण गर्छ ।

राम्रा कम्पनीहरुको आईपीओमा उत्साहजनक सहभागिता देखिने यसअघिको अवस्था हेर्दा साञ्जेन र रसुवागढीमा करिब ३ लाख आवेदक पुग्न सक्ने देखिन्छ । यसो हुँदा साञ्जेनको १० वा २० कित्ता तथा रसुवागढीको ३० वा ४० कित्ता शेयर पर्ने सम्भावना देखिन्छ । तर यो अनुमान मात्रै हो, आवेदकको संख्याको यति नै हुन्छ भन्न सकिन्न । यस्तो अवस्थामा आफूसँग भएको लगानीअनुसार शेयर आवेदन कम वा बढी गर्न सकिन्छ ।

तर उक्त आयोजनाको शेयरमा प्रधानमन्त्री लगायत सबै मन्त्रीहरुले आवेदन दिने बताइसकेका छन् भने सभामुख कृष्णबहादुर महराले पनि शेयरमा आवेदन दिन केही दिनअघि मात्रै डिम्याट खाता खोलेका छन् । यस्तो उत्साहले गर्दा आवेदकको संख्या थप बढी हुनसक्ने अवस्थालाई नकार्न सकिँदैन । यस्तो अवस्थामा तुलनात्मक रुपमा कम शेयर बाँडफाँड हुनसक्छ ।

सस्तो लागत, तत्कालै सूचीकरण

यी कम्पनीहरुको शेयरकोे विशेषता भनेकै अन्य आयोजनाहरु भन्दा सस्तो र जनताको जलविद्युत् आयोजना अन्तर्गतकै अरु कम्पनीहरुको भन्दा छिटो सूचीकरण हुने हो ।

हालसालै जारी भएका जलविद्युत् आयोजनाहरुमध्ये सबैभन्दा सस्तो र राम्रो आयोजनामध्यकै सस्तो आयोजनाको रुपमा यी दुई कम्पनीहरुलाई लिइन्छ । द्रुत गतिमा काम भइरहेको र समयमै आयोजना निर्माण हुने अपेक्षा गरिएका कारण यी दुवै आयोजनाहरुको लागत प्रतिमेगावाट १५ करोड भन्दा कम नै पर्ने अपेक्षा गरिएको छ ।

जबकी ९८ प्रतिशत भौतिक प्रगति सकिएको माथिल्लो तामाकोशी आयोजनाको लागत प्रतिमेगावाट १५ करोड माथि पुग्ने निश्चित भइसकेको छ । निजी क्षेत्रका आयोजनाहरुको प्रतिमेगावाट लागत तुलनात्मक रुपमा यी आयोजना भन्दा बढी छ । आँखुखोला जलविद्युत् आयोजनाको लागत त २९ करोड रुपैंया माथि थियो ।

जनताको जलविद्युत् आयोजनामा समेटिएका अन्य कम्पनीहरुले कल इन एड्भान्स बापत १० प्रतिशत रकम संकलन गर्ने भए पनि ती आयोजनाहरुको शेयर प्राप्त गर्न बर्षौसम्म कुर्नुपर्ने अवस्था रहन्छ । ५० प्रतिशत भौतिक प्रगतिबिना आईपीओ जारी गर्न नपाउने कारणले शेयर पाउन ढिला हुने अवस्थामा जनताको जलविद्युत् अन्तर्गत नै समेटिएका यी दुई कम्पनीहरुको शेयर भने तत्कालै सूचीकरण हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.