काठमाडौं । अाउदाे फागुन १ गते भारतीय १रुपैयाँ बराबर नेपाली १ रुपैंयाँ ६० पैसा कायम गरिएको २५ औं बर्ष पुग्दैछ । २०४९ साल फागुन १ गतेदेखि भारतीय १ रुपैंयाँ बराबर नेपाली १ रुपैंयाँ ६० पैसा कायम गरिएको थियो । त्यसअघिसम्म भारतीय एक रुपैयाँ बराबर नेपाली एक रुपैंयाँ ६५ पैसा कायम थियो ।

२०४९ सालपछि नेपालले माओवादी द्धन्द्ध, राजाको प्रत्यक्ष शासन, लोकतान्त्रिक आन्दोलन, दुई वटा संबिधान सभा निर्वाचन, नयाँ संबिधान हुँदै संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागतको चरण पार गरिसकेको छ ।
यसबीचमा भारतमा समेत आधा दर्जन सरकार गठन भैसकेका छन् । सो अवधीमा भारतको अर्थतन्त्र औषतले ७ प्रतिशतका दरले बढेको छ । नेपालको अर्थतन्त्र पनि औषतमा ४ प्रतिशतका दरले बढेको छ । तर पनि २५ बर्ष अघि कायम गरिएको भारतीय मुद्रासँगको सटही दर भने अझै यथावत नै छ । ‘नेपाली र भारतीय मुद्राको सटही दर अब पुनरावलोकन गरिनुपर्छ, २५ बर्षसम्म स्थिर दर राख्नु मुलुकको अर्थतन्त्रका लागि हितकर हुन्न’, अर्थविद केशव आचार्यले भने ।
उता, अर्थशास्त्री डा. पोषराज पाण्डेले पनि भारतीय मुद्रासँगको सटही दरलाई पुनरावलोकन गर्ने समय आएको स्वीकार गरे । ‘नेपालको सबै भन्दा ठुलो वैदेशिक व्यापारको साँझेदार मुलुक भारत हो, भारतीय मुद्रासँगको सहटी दर पुनरावलोकन गरेर फाइदा लिन सक्नुपर्छ’, डा. पाण्डेले भने । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले भारतीय मुद्रासँगको सटही दर पुनरावलोकन रणनीतिक महत्वको भएको बताए । ‘नेपालका लागि मुद्रा सटही दर रणनीतिक महत्वको हुन्छ, रणनीतिक लक्ष्य हासिल गर्नका लागि मात्रै यो अस्त्र प्रयोग गर्नु पर्छ’, थापाले भने ।
उनले पुर्वाधार विकास र उत्पादकत्व अभिवृद्धि गर्न नसकिए मुद्रा सटही दर मात्रै चलाएर उपलब्धि नहुने बताए । उनले २०२३ साल तिर मुद्रा सहटी दरलाई पुनर्मूल्यांकन गरेर भारतीय नोटलाई नेपालबाट विस्थापित गरेर नेपाली मुद्रा सञ्चालनमा ल्याएको स्मरण समेत गराए । उनले मुलुकको भुत्तानी सन्तुलन (ब्यालेन्स अफ पेमेन्ट) नकारात्मक अवस्थामा पुग्यो भने मात्रै मुद्रा सटही दरलाई चलाउनुपर्ने धारणा पनि राखे ।
थापाले अर्थतन्त्र सुधारका प्याकेज नल्याएसम्म बहकिएर मुद्रा सटही दरलाई चलाउन नहुने स्पष्ट पनि पारे । भारतीय मुद्रासँग नेपाली मुद्रालाई अवमूल्यन गराउनुपर्ने एकथरी तर्क अघि सारिएको छ भने अर्काथरीले नेपाली मुद्राको मुल्यांकनलाई बढाउनुपर्ने तर्क अघि सार्न थालेका छन् ।