काठमाडौं । नेपाली इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी यात्री र साझेदार सिप्रदीले आफ्नो नयाँ उत्पादन यात्री पी २ इलेक्ट्रिक स्कुटर औपचारिक रूपमा सार्वजनिक गरेका छन् ।
सोमबार आयोजित समारोहका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त स्कुटरको अनावरण गरे ।
नेपालमै पूर्ण रूपमा डिजाइन, इन्जिनियरिङ र निर्माण गरिएको यो स्कुटर यात्री अटोमोबाइल्सको दोस्रो ठूलो उत्पादन हो । यसअघि कम्पनीले यात्री पी १ मोटरसाइकल बजारमा ल्याइसकेको छ ।
कार्यक्रममा यात्रीका संस्थापक असीम पाण्डे, सिप्रदी ट्रेडिङका उच्च अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।
स्कुटरको अनावरण गर्दै अर्थमन्त्री डा. वाग्लेले नेपालमा केही हुँदैन भन्ने नकारात्मक सोचेलाई यात्री पी २ ले कडा जवाफ दिएको बताए ।
उनले भने, ‘हामीले एप्पलको फोनमा डिजाइन्ड इन क्यालिफोर्निया लेखेको देखेका छौं, अब यात्रीको माध्यमबाट डिजाइन इन बुढानीलकण्ठ भन्न पाउँदा निकै गर्व लागेको छ । यसले नेपालीहरूको राष्ट्रिय आत्मविश्वास बढाएको छ ।’
‘नेपालमा सबै कुरा खतम छ भन्ने भाष्यबाट अब हामी बबालतिर गएका छौं । यो स्कुटरले नेपालको इलेक्ट्रिक मोबिलिटीमा एउटा नयाँ मानक सेट गर्नेछ,’ उनले थपे ।
नेपाली भूगोल सुहाउँदो इन्जिनियरिङ यात्री पी २ लाई विशेष गरी नेपालको उकालो-ओरालो र कच्ची बाटोलाई ध्यानमा राखेर इन्जिनियरिङ गरिएको कम्पनीले जनाएको छ ।
यसलाई शिवपुरी-नागार्जुन क्षेत्रको करिब ६०० मिटर उचाइको टेरेनमा परीक्षण गरिएको छ ।
यो स्कुटर बुढानीलकण्ठस्थित स्टुडियोमा डिजाइन गरिएको हो भने धादिङको गजुरीमा यसको उत्पादन प्लान्ट रहेको छ ।
सिप्रदीको साथ र व्यावसायिक भविष्य नेपालको प्रतिष्ठित कम्पनी सिप्रदी ट्रेडिङले यात्रीसँग सहकार्य गरेको छ ।
नेपालकै ठूलो करदातामध्येको एक सिप्रदीले यात्री जस्तो युवा इन्जिनियरहरूको स्टार्टअपलाई साथ दिनुले यसको व्यावसायिक भविष्य थप सुनिश्चित भएको डा. वाग्लेले उल्लेख गरे ।
कार्यक्रममा यात्री अटोमोबाइल्स संस्थापक असीम पाण्डेले स्कुटरको प्राविधिक पक्ष र इन्जिनियरिङबारे जानकारी गराएका थिए । यात्री पी २ ले सहरी यात्रालाई सहज, किफायती र वातावरणमैत्री बनाउने विश्वास कम्पनीको छ ।
यसको मूल्य नाडा अटो शोमा सार्वजनिक हुनेछ ।