काठमाडौं । एमएडब्लू वृद्धि नेपालले चिनियाँ अटोमोबाइल निर्माता चांगानको प्रिमियम सब-ब्रान्ड नेभोको नयाँ विद्युतीय गाडी दीपल नेभो क्यू०५ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आइतबार आयोजित एक कार्यक्रमकाबीच दीपल नेभो क्यू०५ गाडी सार्वजनिक गरेको हो ।
यस एसयूभीले नेपालमा प्रविधि, आराम र विलासिताको नयाँ मापदण्ड खडा गर्ने कम्पनीले विश्वास लिएको छ ।
बिक्रीसँगै बिक्रीपछिको सेवालाई प्राथमिकता दिँदै एमएडब्लू नेपालले ग्राहकको सुरक्षाका लागि ७ करोडभन्दा बढीको स्पेयर पार्टस र २४ घण्टा चल्ने हेल्पलाइनको व्यवस्था गरेको छ भने चांगान इन्टरनेशनलले यो गाडी आफ्ना सेगमेन्टभन्दा माथि उठ्नका लागि बनाइएको बताएको छ ।
नेपालमा म्याक्स र अल्ट्रा गरी दुई भेरियन्टमा भित्र्याइएको यस ईभीको सुरुवाती मूल्य नाडा अटो शो अवधिसम्मका लागि क्रमशः ४६ लाख ९९ हजार र ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । अटो शोपछि म्याक्सको ४८ लाख ९९ हजार र अल्ट्राको ५१ लाख ९९ हजार रुपैयाँ पुग्नेछ ।
प्राविधिक रूपमा १२० किलोवाटको मोटर र ५२ किलोवाट आवरको गोल्डेन शिल्ड २.० ब्याट्री जडान गरिएको यस गाडीले एक पटकको फुल चार्जमा ४६२ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।
इटालीको ‘ए-डिजाइन अवार्ड’ मा गोल्ड मेडल जित्न सफल क्लाउड्स एण्ड सोफिया कन्सेप्टमा आधारित यो एसयूभी ४.५४ मिटर लम्बाइ र २.७३ मिटर ह्विलबेससहित निकै फराकिलो छ ।
क्याबिनको ८० प्रतिशत भाग सफ्ट-टच सामग्री, ९ तहको कुशन सिट र ६७ स्थानमा साउन्ड इन्सुलेशन प्रविधि प्रयोग गरिएकाले यात्रा शान्त र विलासी हुने कम्पनीले जनाएको छ ।
सुरक्षाका लागि १८ वटा स्मार्ट ड्राइभिङ सिस्टम, ट्रान्सप्यारेन्ट च्यासिस, स्वचालित इमर्जेन्सी ब्रेक र स्टेयरिङ कन्ट्रोलका साथै मोबाइल एपबाटै चार्जिङ, लोकेसन र तापक्रम नियन्त्रण गर्न सकिने सुविधा उपलब्ध छ ।
ग्राहकको विश्वास जित्न कम्पनीले ५ वर्षको सवारी साधन वारेन्टीका साथै ब्याट्री र ड्राइभ ट्रेनमा नेपालकै सबैभन्दा लामो ११ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ ।