काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार (आज) राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले विगत ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागि अगामी ३५ वर्षको कार्ययोजना ल्याउन समेत निर्देशन दिए ।
लामिछानेले विगतमा अन्य नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भएपनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेको समेत स्पष्ट पारे ।
उनले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘अब हामीले दोष देखाउने कुनै कुरा छैन । अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो । ३५ वर्षको योजना ल्याउनुहोस् । अब वितेको ३५ वर्षको लागि उहाँहरु लाई कचकच गर्ने ठाउँमा हामी छैनौँ । जति सके गरे धन्यावाद । तर अबको ३५ वर्षमा कस्तो बनाउने हाम्रै हातमा छ नि ।’
उनले विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरूले गरेका सकारात्मक कामहरूप्रति धन्यवाद दिनुपर्ने पनि बताए ।