काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन् ।
पदबहालीपछि बोल्दै कार्कीले कोषको सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै यसअघि हुँदै आएका कामलाई अझ चुस्त र पारदर्शी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले कोषमा रहेको ठूलो रकम सरकारका प्राथमिकतामा रहेका परियोजना तथा उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउनुपर्ने बताए । त्यसका लागि कोषले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने उनको भनाइ छ ।
कार्कीले यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेकाले कोषका गतिविधि र कार्यप्रणालीबारे आफू जानकार रहेको बताए ।
आगामी दिनमा कोषलाई थप प्रभावकारी र सुदृढ बनाउँदै अघि बढाउन आफू प्रतिबद्ध रहेको उनले बताए ।
नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले कार्कीलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।