बालबालिकासँग खुसी साट्दै स्वास्थ्य संस्था सञ्चालक संघ

काठमाडौं । स्वास्थ्य संस्था सञ्चालक संघ नेपालले आफ्नो स्थापना दिवस बालबालिकासँग खुसी साट्दै मनाएको छ । संघले कागेश्वरी मनोहरा–स्थित सिर्जनशील बाल सेवा परिवारमा रहेका बालबालिकालाई भोजन गराएर आफ्नो वार्षिकोत्सव तथा स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल मेडिकल व्यवसायी संघका निवर्तमान अध्यक्ष सीताराम रेग्मीले स्वास्थ्य संस्था सञ्चालक संघ नेपाल नयाँ संस्था भए पनि छोटो समयमै व्यवसायीका समस्या र सरोकारलाई राज्यका सम्बन्धित निकायसम्म पुर्याउन सफल भएको बताए । उनले संस्थाले व्यवसायीको हितमा सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गरे  ।

नेपाल मेडिकल व्यवसायी संघका तत्कालीन महासचिव नवराज पौडेलले स्वास्थ्य क्षेत्रका व्यवसायीलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । विभिन्न संस्थाहरूले आफ्ना विधान र उद्देश्यभन्दा बाहिर गएर गतिविधि गर्दा व्यवसायी अन्योलमा पर्ने अवस्था सिर्जना भएको भन्दै उनले व्यवसायीको साझा हितका लागि संस्थागत एकता आवश्यक रहेको बताए ।

कार्यक्रम संघका अध्यक्ष मदनकुमार पूर्वेको अध्यक्षतामा सम्पन्न भएको थियो । रघुनाथ पनेरु (कालिका)ले सञ्चालन गरेको कार्यक्रममा सोमराज लिम्बुले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा सिर्जनशील बाल सेवा परिवारकी अध्यक्ष उमा देवी कार्की बस्नेतले बालबालिकालाई लक्षित गरी सामाजिक सेवा गरेकोमा संघप्रति आभार व्यक्त गरिन् । उनले आगामी दिनमा पनि संस्थासँग सहकार्य गर्दै यस्ता सेवा गर्ने अवसर प्राप्त हुने अपेक्षा व्यक्त गर्दै स्वास्थ्य संस्था सञ्चालक संघका पदाधिकारी तथा सदस्यहरूको व्यावसायिक सफलताको शुभकामना दिइन् ।

संघले स्थापना दिवसलाई औपचारिक समारोहमा सीमित नगरी सामाजिक उत्तरदायित्वसँग जोडेर मनाएको जनाएको छ ।

Share News