काठमाडौं । नेपाली एथलेटिक्सका स्प्रिन्टर आयुष कुँवरले २०० मिटर दौडमा आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गर्दै नयाँ इतिहास रचेका छन् ।
शिवम् सिमेन्टमा अनुबन्धित आयुषले ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेपछि आफ्नै नाममा रहेको रेकर्डसमेत सुधार गरेका हुन् ।
साउन २४ गते लन्डनमा सम्पन्न २०० मिटर दौडमा आयुषले २१.६६ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । यसअघि उनको नाममा रहेको २१.८७ सेकेन्डको राष्ट्रिय कीर्तिमान उनले केही समयअघि मात्र कायम गरेका थिए ।
उनले २१.८७ सेकेन्डको समय निकाल्दै सन् १९९५ देखि कायम रहेको २१.९२ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेका थिए । यससँगै तीन दशकदेखि कायम रहेको कीर्तिमान आफ्नो नाममा ल्याएका आयुषले त्यसलाई समेत छोटो समयमै सुधार गरेका छन् ।
यसअघि आयुषले ६० मिटर दौडमा पनि राष्ट्रिय कीर्तिमान बनाइसकेका छन् । उनले सन् २००१ मा रामकृष्ण चौधरीले कायम गरेको ७.०९ सेकेन्डको कीर्तिमान सुधार गर्दै ७.०२ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । उक्त कीर्तिमान विश्व एथलेटिक्सको वेबसाइटमा समेत अभिलेखित छ ।
आयुषका पछिल्ला उपलब्धिहरूको विशेष पक्ष उनले विश्व एथलेटिक्सबाट स्वीकृत प्रतियोगितामा हासिल गरेका हुन् ।
विश्व एथलेटिक्स अन्तर्राष्ट्रिय एथलेटिक्स खेलको नियमनकारी संस्था हो, जसले प्रतियोगिताका मापदण्ड, नियम तथा आधिकारिक कीर्तिमानलाई मान्यता दिन्छ । त्यसैले यस्ता प्रतियोगितामा बनेका रेकर्डले अन्तर्राष्ट्रिय स्तरमा आधिकारिक मान्यता पाउँछन् ।
नेपालमा एथलेटिक्सका खेलाडीले पर्याप्त प्रतियोगिता र प्रशिक्षणको अवसर नपाउने अवस्था रहेकाले ३० वर्षसम्म २०० मिटरको राष्ट्रिय कीर्तिमान कायम रहनु पनि त्यसैको परिणाम भएको आयुषको बुझाइ छ ।
राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य उनले सन् २०२३ देखि नै बनाएका थिए । त्यसका लागि उनले आफै अवसर खोज्दै विश्व एथलेटिक्सबाट स्वीकृत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।
आयुषको एथलेटिक्स यात्रामा शिवम् सिमेन्टले सन् २०२३ देखि निरन्तर साथ दिँदै आएको छ । नेपाली खेलकुदको प्रवर्द्धन तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले शिवम् सिमेन्टले उनलाई अनुबन्धित गरेको हो ।
आवश्यकताअनुसार हवाई टिकट, खेल पोशाक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।
आयुषको सफलता भने सहज यात्राको परिणाम होइन । सन् २०२५ मा दक्षिण कोरियाको गुमीमा भएको एसियाली एथलेटिक्स प्रतियोगिताका क्रममा ह्यामस्ट्रिङको चोटका कारण उनी प्रतिस्पर्धाबाट बाहिरिन बाध्य भएका थिए ।
चोटपछि पुनरागमन गर्दै उनले एक वर्षभित्रै राष्ट्रिय कीर्तिमान भंग गर्न सफल भएका हुन् ।
हाल अमेरिकामा प्रशिक्षणरत आयुषले आफ्नो प्रशिक्षण, प्रतियोगितामा सहभागिता र खेल जीवनका अधिकांश पक्ष आफै व्यवस्थापन गर्दै आएका छन् ।
सीमित स्रोतसाधन, चोटपटक र संस्थागत चुनौतीका बीच निरन्तर प्रशिक्षण र मेहनत गर्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।
कीर्तिमान सुधारपछि आयुषले तीन दशक पुरानो रेकर्ड तोड्न सफल हुँदा गर्व लागेको बताए । तर, यति लामो समयसम्म कीर्तिमान कायम रहनु नेपाली स्प्रिन्टरले पर्याप्त अवसर नपाउनुको परिणाम भएको उनको भनाइ छ ।
उनले भने, ‘कीर्तिमान भनेको तोड्नकै लागि हो । अब एउटा नयाँ मापदण्ड सेट भएको छ र आउने दिनका एथलिटहरूले चाँडै यसलाई ब्रेक गर्नेछन् भन्ने आशा छ ।’
आयुषले नेपाली स्प्रिन्ट खेलको विकासका लागि ‘स्प्रिन्ट प्रोजेक्ट’ नामक निजी परियोजना अघि बढाउने तयारीसमेत भइरहेको बताए । त्यसमा शिवम् सिमेन्टको साथको अपेक्षा रहेको उनको भनाइ छ ।
शिवम् सिमेन्टले आयुषको ऐतिहासिक उपलब्धिप्रति बधाई दिँदै नेपाली खेलकुदको विकास र खेलाडीको प्रोत्साहनमा आगामी दिनमा पनि सहयोग जारी राख्ने जनाएको छ ।
कम्पनीले सन् २०२७ मा अमेरिकामा हुने वल्र्ड मास्टर्स इन्डोर च्याम्पियनसिपको तयारीका लागि आयुषका प्रशिक्षण साझेदार शिवराज पर्कीलाई समेत सहयोग गर्ने लक्ष्य राखेको जनाएको छ ।
आयुषको पछिल्लो प्रदर्शनले पर्याप्त अवसर, निरन्तर प्रशिक्षण र दृढ इच्छाशक्ति पाए नेपाली एथलेटिक्सका खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्ने सम्भावना देखाएको छ ।